माल्कोट सल्लारूखलाई लालसलाम ! – प्रकाण्ड, प्रवक्ता, नेकपा

prakandaनेपालको क्रान्ति र परिवर्तनको महान् प्रक्रियाका विरुद्ध दलाल पुँजीपति वर्गको प्रतिक्रियावादी संसदीय व्यवस्थालाई कथित “लोकतान्त्रिक गणतन्त्र” को जामा पहि¥याएर नेपाली जनतालाई बेबकुफ बनाउने मूर्खता गर्दै स्थानीय तहसम्म खडा गर्ने रणनीतिको नौमहिने ठेकदार नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको प्रचण्ड सरकारले वैशाख ३१ गते स्थानीय नामको चुनाव घोषणा ग¥यो । त्यो बेला हाम्रो पार्टी गत फागुन १ गते हजारौँ जनता र कार्यकर्ताको उपस्थितिमा आठौँ महाधिवेशनको ऐतिहासिक एवं भव्य उद्घाटन गरेर रोल्पा थवाङमा वन्द सत्र सञ्चालन गरी राखेको थियो । कथित स्थानीय चुनावको घोषणा हाम्रो पार्टीको महाधिवेशनले विचार, राजनीति, सङ्गठन, जनसहभागिता, व्यवस्थापकीय पक्षलगायत दृष्टिले दिएको क्रान्तिकारी सन्देश र त्यसले नेपाली समाजमा पारेको जबरजस्त प्रभावका विरुद्ध प्रचण्ड सरकारको प्रतिक्रान्तिकारी रणनीति र आतङ्कित मानसिकताको उपज थियो । उक्त रणनीतिका विरुद्ध पार्टीले आफ्नो पङ्क्ति, देशको क्रान्तिकारी, वामपन्थी एवम् राष्ट्रवादी तप्का र आमनेपाली जनतालाई भ्रम मुक्त गर्न “कथित स्थानीय चुनावको खारेजी र नेपाली जनताको जनसत्ता निर्माण तथा सञ्चालनमा सहभागिता” का निम्ति प्रेस वक्तव्यमार्फत अपिल ग¥यो । महाधिवेशनपछि बसेको पार्टी केन्द्रीय समितिको ऐतिहासिक दोस्रो बैठकले स्थानीय चुनाव खारेजीको नीति र कार्यक्रम तय ग¥यो । उक्त नीति र कार्यक्रमलाई व्यावहारिक स्वरूप प्रदान गर्न पार्टीले आन्तरिक पङ्क्ति र जनपङ्क्तिमा कामकारबाहीलाई घनीभूत गर्दै लग्यो ।
वैशाख ३१ गतेको स्थानीय चुनावविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको चुनाव खारेजीको नीति र कार्यक्रमलाई अनुमोदन गर्दै कालीकोट जिल्ला माल्कोट सल्लारूखका जनताले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन टोलीले आफ्नो राजनीतिक स्वतन्त्रता एवम् अधिकारमाथि गरेको हस्तक्षेपका विरुद्ध विद्रोह, मतदान केन्द्रमाथि कारबाही, मतपेटिका कब्जा एवम् नष्ट, मतदान टोली र सुरक्षा शक्ति माथि गरेको जनकारबाहीको घटना राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चाको केन्द्रमा रह्यो । चर्चाको शिखरमा रहेको माल्कोट सल्लारूखका
जनताको वीरता, अभूतपूर्व जनपहलकदमी, विद्रोह र जनकारबाहीबारे यस आलेखमा विशेष चर्चा गरिएको छ ।
१) इतिहास र प्रवृत्ति
राणाकालमा माल्कोट सल्लारूखका जनता राणाविरोधी थिए । राणा शासनको स्थानीय प्रतिनिधि बिटालु परिवारको उत्पीडनका विरुद्ध यो बस्तीले निरन्तर सङ्घर्ष गर्दै आएको थियो । बिटालु शासनको विरुद्ध सङ्घर्ष गर्ने क्रममा जनतालाई गोलबन्द गर्ने र जनताको १ वर्षसम्म आइपर्ने समस्याको जिम्मा लिने गरेर हर्कबहादुर विश्वकर्माले सङ्घर्षको नेतृत्व गर्नुभएको थियो । बदलिँदो परि स्थिति, जनताको चेतनामा विकास र राणा शासनको अन्त्य भएपछि आफ्नो शासन कायम रहन र राख्न असम्भव देखी बिटालु परिवार ०२५÷२६ सालतिर भारतको पिथौरागढ पलायन भयो । राणा कालमा पनि यहाँको बस्ती, जनता र समाजका अगुवाहरू जुझारु, विद्रोही र सङ्घर्षशील थिए ।
२) पञ्चायत काल र सङ्घर्ष
निरङ्कुश राजतन्त्रको पञ्चायती शासन कालमा स्पष्ट राजनीतिक सुझबुझको कमी हुँदाहुँदै पनि पञ्चायती व्यवस्थाका स्थानीय सामन्तविरुद्ध सल्लारूख बस्तीले निरन्तर सङ्घर्ष गर्दै आयो । स्थानीय सामन्तको हली डोली प्रथा, बेठबेगारी, ज्यालाविहीन श्रमदान, जनताको डाडदोखदेखि जग्गा र सम्पत्ति लुटखसोट, सांस्कृतिक विभेद र उत्पीडन, छोरीबुहारीमाथिको यौनशोषण, देवताको नामको ठगी र सामन्तहरूको स्वेच्छाचारिताका विरुद्ध यो बस्ती र माल्कोटका जनताले निरन्तर सङ्घर्ष गर्दै आए । यहाँका जनताको सङ्घर्षको इतिहासमा २०३२ सालदेखि ०४६ सालसम्मको १४÷१५ वर्षको सङ्घर्षको प्रत्यक्षदर्शी यो पङ्क्तिकार पनि हो । यो सङ्घर्षको मूल नेतृत्व सल्लारूखका ढोक्कले विश्वकर्माले गरेका थिए । यसलाई साथ दिनेमा सल्लारूखका कटुवाले दानबहादुर विश्वकर्मा, राइटा गाउँका दलबहादुर विश्वकर्मा र बिथलडाँडाका जितबहादुर विश्वकर्मा हुनुहुन्थ्यो । यो सङ्घर्षले सामन्ती उत्पीडनलाई कमजोर बनायो । 

Kalikot Malkot

जनताको श्रमको मूल्यमा सुधार ग¥यो । जनताको शक्तिलाई स्थापित ग¥यो । पञ्चायती कालमा हुने चुनावमा माल्कोट सल्लारूखका जनता जहिले पनि स्थानीय सामन्तको विरुद्धमा खडा भए । स्थानीय सामन्त ठकुरीले आफूले भनेको मान्छेलाई भोट हाल्न भनेर रगतमा औँला चोप्न लगाउँदा पनि उनीहरूले भनेको मान्छेलाई यो बस्तीका जनताले भोट हालेनन् । बरु त्यसको विरुद्धमा उदार र आफ्नो विचारप्रति सकारात्मक दृष्टिकोण राख्ने उम्मेदवारलाई भोट दिए र सम्बन्ध कायम गरे । जनताले आफ्नो मताधिकारको स्वतन्त्रता खोजेबापत पाइलापाइलामा स्थानीय सामन्तको षड्यन्त्रको सिकार हुनुप¥यो । सल्लारूखका जनता त्यो बेलाको सापेक्षतामा चेतनाको दृष्टिले मात्र अगाडि थिएनन्, भौतिक दृष्टिले पनि माल्कोट गाउँमै शक्तिशाली थिए । यसैकारण स्थानीय सामन्तले यो बस्तीका जनतालाई भौतिक रूपले हमला गर्ने आँट कहिल्यै गरेनन् ।
३) राजतन्त्रात्मक संसदीय काल
०४६ सालपछिको बहुदलीय राजनीतिक वातावरणमा यो पङ्क्तिकारको नेतृत्वमा सल्लारूखका जनताको अगुवाइमा सिङ्गो माल्कोटका उत्पीडित जनताको मोर्चा बनाएर स्थानीय सामन्ती शासनका विरुद्ध सङ्घर्ष अगाडि बढ्यो । सङ्घर्षको मुख्य लक्ष्य सामन्ती उत्पीडनको अन्त्य र जनताको राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण अधिकारको प्राप्ति थियो । सङ्घर्षले सामन्ती हैकमलाई कमजोर बनायो । बेठबेगारी प्रथाको अन्त्य ग¥यो । हलीडोली प्रथा हटायो । धर्म र दसैँका नाममा ठगी र मनपरी भ्यावणो (दसैँमा सामन्तले राँगा, बोका काटेबापत उनले तोकेमुताबिक जनताले तिर्नुपर्ने धान) प्रथा अन्त्य भयो । जनताले आफैँ दसैँको आयोजना गर्न थाल्यो । धार्मिक उत्पीडन र ठगी हट्यो । सामन्तहरूका स्वास्नी र छोरीबुहारीले असारमा आफ्नो पनि धान रोप्न हँुदैन भन्ने चलन तोड्यो र रोप्न बाध्य गरायो । जनताले आफ्नो रोप्न र काम गर्न आएपछि मात्र उनीहरूको काम गर्न जाने मान्यता स्थापित ग¥यो । सातु दिएर रोप्न लगाउने चलन तोड्यो । यो आन्दोलनको प्रभाव जिल्लाव्यापी प¥यो । जिल्लाभरिका सामन्तहरू जनताको माल्कोटको आन्दोलनका विरुद्ध केन्द्रित भए किनभने यो सङ्घर्षले कालीकोट जिल्लाका उत्पीडित जनतामा एउटा हलचल, जागरण र आकर्षण पैदा गरेको थियो । त्यो बेलाका शासक र प्रशासकहरूका दर्जनौँ झूट्टा मुद्दाको सामना सङ्घर्षका नेता र सल्लारूखका जनताले गर्नुप¥यो ।

माल्कोट सल्लारूखका जनताले गरेको अग्रगामी, दूरदर्शी र महान् कार्यको सुरुआत के थियो भने सामन्ती आक्रमण र गुन्डागर्दीका विरुद्ध जुध्न ०४७ सालमा नै ५० जना छानिएका युवाहरूको घँगारुका काँडा भएका लट्ठी समातेको टिम गठन गरेको थियो । जनताको प्रारम्भिक सेना निर्माणको विचार त्यो बेलाको भौतिक परिवेश, सामन्तसँगको जनताको सङ्घर्ष र नेतृत्वको सोचाइको उपज थियो । लाठी बोकेको ५० जना युवाको टिम फर्मेसनमा हिँड्दा र सङ्घर्षमा सहभागी हुँदा सामन्तहरूको त सातोपुत्लो उड्थ्यो । जग्गा नापीको बेलाको सङ्घर्षको मोर्चामा त सामन्तहरू सपरिवार गाउँ छोडेर जङ्गलतिर भागेका थिए । स्मरण होस्, यो सङ्घर्षको सुरुआत पार्टीको निर्देशन, योजना र पहलमा भएको थिएन । सामन्तसँगको जनताको चरम अन्तरविरोध, ०४६ सालपछिको नयाँ राजनीतिक वातावरण र सचेत युवाहरूको विद्रोही प्रवृत्ति एवम् पहलकदमीमा भएको थियो । एक तह उठिसकेको ग्रामीण वर्गसङ्घर्षलाई ०४८ सालपछि पार्टीसँग जोड्न पहल गरियो । ०५०/५१ सालमा पार्टीले सञ्चालन गरेको ग्रामीण वर्गसङ्घर्षमा यो सङ्घर्षलाई एकाकार गरेर लड्ने काम भयो । माल्कोट सल्लारूखले पार्टीको ग्रामीण वर्गसङ्घर्षको कार्यक्रममा कालीकोट जिल्लाकै सन्दर्भमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।
४) जनयुद्धको थालनी र निरन्तरतामा भूमिका
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ०५२ साल फागुन १ गते जनयुद्धको थालनी गर्ने निर्णय ग¥यो । थालनीका क्रममा कालीकोट जिल्लामा पार्टी जिल्ला सेक्रेटरी भूमिगत जाने, अरू जिल्ला सदस्यहरू खुला रूपमा रहने पार्टीनीति बन्यो । जिल्ला सेक्रेटरीले स्थायी शिक्षकको जागिरबाट राजीनामा दिएर भूमिगत जाने तयारी गर्नुभयो । फागुन १ गते जनयुद्धको उद्घोष गर्दा सम्पन्न गरिने कार्यक्रममा माल्कोट सल्लारूखले उत्साहपूर्वक भाग लियो । तोकेको कारबाही सम्पन्न ग¥यो । फागुन २ गतेबाट त्यस बेलाको गिरिजा सरकारले देशव्यापी दमन सुरु ग¥यो । कालीकोटमा पनि दमन गर्न थाल्यो । त्यो बेलाका जिल्ला कमिटीका १५ जना जिल्ला सदस्यहरूमा १२ जना आत्मसमर्पण गरी एमालेमा प्रवेश गरे । आफू मात्र एमालेमा प्रवेश गरेनन् कि कार्यकर्ता र जनतालाई समेत आत्मसमर्पण गर्न लगाई एमाले बनाउने अभियानमा लागे । १ जना जिल्ला सदस्य क. प्रभातलाई पनि भ्रममा पारे । पछि वास्तविकता बुझेपछि उहाँ पार्टीमा अडिग रहनुभयो । जिल्ला सेक्रेटरी र १ जना जिल्ल सदस्य मात्र बाँकी रहे । बाँकी रहेका १ जना जिल्ला सदस्य एकराज पनि पछि ०५६ सालमा दुस्मनसँग आत्मसमर्पण गरेर जनहत्या र दमनमा उत्रियो । जिल्लाभरि पार्टी र जनसमर्थनमा प्रतिक्रान्ति भयो । विचारणीय पक्ष के छ भने जिल्लाभरि अवसरवादीको कायरतापूर्ण आत्मसमर्पण, एमाले बनाउने दुस्साहस र दुस्मनको दमनको अत्यन्त प्रतिकूल अवस्थामा माल्कोटको सल्लारूख बस्ती कालीकोट जिल्लाको जनयुद्धको पिलर र जनआधार गाउँका रूपमा अभेद्य किल्लाझैँ खडा भयो ।
५) जनयुद्धका १० वर्षमा मुख्य भूमिका
सल्लारूख गाउँ, पार्टी कार्यकर्ता र जनताका निम्ति उदाहरणीय जनआधार बन्यो जसले जिल्ला पार्टीलाई जनआधार निर्माणको दिशानिर्देश ग¥यो भने आमजनतालाई सङ्गठित जनआधारमा बदलिन प्रेरणा प्रदान ग¥यो । यसको विकसित रूप कालीकोट जिल्ला सिङ्गो कर्णाली र सेती–महाकाली प्रदेशको आधारइलाकाको मुख्य र घनीभूत जनआधार जिल्ला बन्न पुग्यो । कालीकोट जिल्लाले सयौँ नेता, कार्यकर्ता र जनसेना तयार गरी सेती–महाकालीलगायत देशव्यापी जनयुद्धको मोर्चामा पठायो ।

जनयुद्धको भीषण प्रक्रियामा ०५४ साल चैत २६ गते माल्कोट बिथलडाँडा गाउँमा पार्टी नेतृत्व र जनतामाथि आक्रमण गर्न आएको ११ जनाको सशस्त्र प्रहरी जत्थाको गोलीबाट ४ जना महिला र १ जना पुरुष गरी ५ जना घाइते बनाइएको आक्रोश र जनप्रतिरोधमा लाठी, ढुङ्गा, हँसिया, खुकुरी, खर, आगोलगायतको बलमा १ जना प्रहरीको मृत्यु र अन्यलाई घाइते बनाएर निःशस्त्र जनताले सशस्त्र प्रहरी जत्थाको राइफल खोसेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई बुझाई जनयुद्धलाई जीवन्त जनताको जनयुद्धमा बदलेर पार्टी र जनयुद्धलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै नयाँ स्तरमा उठायो । जनताको यो प्रतिरोध र जनकारबाही सिङ्गो पार्टीपङ्क्ति र जनयुद्धका निम्ति गौरव, प्रेरणा र अनुकरणीय जनप्रतिरोध बन्न पुग्यो । पार्टी केन्द्रीय समितिले दस्ताबेजीकरण गरेर स्थापित पनि ग¥यो ।

चैत २६ गतेको दमन र जनप्रतिरोध घटनाको लगत्तै ०५५ जेठमा तत्कालीन गिरिजा सरकारले माओवादी जनयुद्धका विरुद्ध सञ्चालन गरेको “किलो सेरा टु अप्रेसन” लाई मुख्यतः माल्कोट र त्यस क्षेत्रमा केन्द्रित ग¥यो । त्यसमा पनि माल्कोटलाई मुख्य निशाना बनायो । असार ६ गतेबाट कालीकोटमा सुरु गरेको अप्रेसनमा जनतालाई घरबाट लखेटीलेखेटी हत्या सुरु ग¥यो । असार ८ गते माल्कोट उच्छवका नाग्मल विक, ९ गते बिथलडाँडाका जितबहादुर विक र तलीघरका कालीबहादुर विक, १० गते तलीगाउँका गोरीकला विक, नौलासिंह विक, जयाबहादुर विक र जुनथलाका मन्दिर बटाला, ११ गते ५ नं. वडा कयरहाल्नाका रत्नबहादुर विक गरी माल्कोटमा मात्र ८ जना सर्वसाधारण जनताको पाशविक हत्या ग¥यो । यो जनहत्या चैत २८ गते माल्कोटका जनताले गरेको जनकारबाहीको बदलामा थियो भन्ने कुरा प्रस्टै हुन्छ ।

त्यो बेलाको अप्रेसनमा लालु गाविसमा क. बलभद्र (कटकबहादुर कुँवर), मीनबहादुर बिष्ट, गोपालकुमार बिष्ट र रत्नमान बिष्ट गरी १ जना कार्यकर्ता र ३ जना विद्यार्थीसमेत ४ जनाको हत्या ग¥यो । कोटवाडा गा.वि.स. की छात्रा अतिरूपा बिष्ट, किसान दिलबहादुर विक र जनकबहादुर बिष्ट गरी ३ जनाको हत्या ग¥यो । त्यो अप्रेसनका क्रममा कालीकोट जिल्लामा हत्या गरिएका १५ जनामा ८ जना किसानको माल्कोटमा मात्र हत्या ग¥यो । किलोसेरा टु अप्रेसनमा १ महिनासम्म माल्कोटका जनतालाई गाउँबाट जङ्गल लखेट्यो । सल्लारूखलगायत माल्कोटका जनताले १५ दिनसम्म घरको चुलो बाल्न पाएनन् । गिरफ्तारी, यातना, बलात्कार, लुटपाट, घर तोडफोड, अन्नपात नष्टको त कुरा गरी साध्य छैन । माल्कोटका जनताले विशेषगरी माल्कोटमा केन्द्रित गरेर कालीकोटमा चलाइएको उक्त अप्रेसनको रत्ति पनि नडग्मगाई सामना ग¥यो । कालीकोटमा पार्टी र जनयुद्धलाई नयाँ उचाइ प्रदान गर्न सल्लारूख गाउँ र माल्कोट गाविसले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।
६) सङ्कटकाल र शाही सेनासँगको युद्धमोर्चामा भूमिका
जनयुद्धको बेला सामन्ती प्रतिक्रियावादी राज्यसत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, माओवादी पार्टी, जनमुक्ति सेना र नेपाली जनतासँगको युद्धमोर्चामा पराजित भएपछि जनयुद्धलाई नयाँ उचाइ प्रदान गर्न पार्टीले ०५८ मङ्सिर ८ गते शाहीसेनाको दाङ जिल्लाको ब्यारेकमाथि पहिलो हमला ग¥यो । जनयुद्धको जीवनमा शाहीसेनामाथि युद्धलाई परिलक्षित गर्ने सवालमा यो पहिलो मोर्चा थियो । शाहीसेनाविरुद्ध युद्धमोर्चा खोल्ने रणनीति केन्द्रीय सत्ता कब्जा गर्ने जनयुद्धको राजनीतिक उद्देश्यमा फौजी विकासको गुणात्मक फड्को थियो । जब जनमुक्ति सेनाले शाहीसेनाको दाङ ब्यारेक र एभुनेसन कब्जा ग¥यो । यो मोर्चाले पार्टीपङ्क्ति, जनमुक्ति सेना र आम श्रमजीवी नेपाली जनतामा उत्साह, विश्वास र जनयुद्धप्रतिको थप जिम्मेवारी बोध गरायो । सामन्ती प्रतिक्रियावादी राज्यसत्ता, त्यसका सञ्चालक, राज्यको सुरक्षा शक्ति (सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी), सत्ताधारीहरूका साम्राज्यवादी मालिक र देशीविदेशी प्रतिक्रियावादीहरू आतङ्कित, निराश र नेपालमा पराजयको घन्टी बजेको महसुस गर्न थाले ।

शाहीसेनामाथिको दाङ सफल फौँजी कारबाहीले जब राजनीतिक एवम् फौजी दुवै दृष्टिले माओवादी पार्टी र नेपाली जनयुद्धको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जबर्जस्त प्रभाव छोड्यो तब देशीविदेशी प्रतिक्रियावादीहरू यसलाई कमजोर पार्न र न्यूनीकरण गर्न “गोयबल्स शैली” मा अफवाहको बाढी लगाउन थाले । उनीहरू एउटै स्वरमा भन्न थाले– “शाही सेनाले युद्धको घोषणा गरेकै थिएन, झुक्याएर आक्रमण गरियो, युद्धको नियमविपरीत, अब शाहीसेना घोषित युद्धमा प्रवेश ग¥यो । माओवादी पार्टी, जनसेना र जनयुद्धको पत्तासाफ गर्छ” लगायत तथानाम ओकल्न थाले । लगत्तै मङ्सिर ११ गतेबाट देशमा सङ्कटकाल घोषणा गरी शाहीसेना परिचालन गरियो । सामन्ती प्रतिक्रियावादी राज्यसत्ताको अन्तिम सैन्य शक्ति शाहीसेना प्रतिक्रियावादी युद्धमोर्चा खोलेर जनयुद्धका विरुद्ध आउनु र भ्रामक प्रचारको बाढी लगाउनुले माओवादी पार्टी, जनमुक्ति सेना, जनयुद्ध र नेपाली जनताले यसको दृढता, दक्षता र कुशलतापूर्वक सामना गरेर विजय हासिल गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न सकारात्मक र नकारात्मक कोणबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उब्जिएका थिए । यो माओवादी पार्टी, जनमुक्ति सेना र नेपाली जनताका निम्ति कठिन परीक्षणको घडी पनि थियो ।

शाहीसेना सङ्कटकालको घोषणा गरी जनयुद्धका विरुद्ध प्रतिक्रियावादी युद्धमोर्चा खोलेर आइसकेपछि माओवादी पार्टी, जनमुक्ति सेना र नेपाली जनताले प्रतिक्रियावादीहरूको अफवाह र शाहीसेनाको हाउगुजीको नशा उतार्न एउटा युद्धमोर्चामा धुलोपिठो पार्नु जनयुद्धको वस्तुगत एवम् मनोवैज्ञानिक आवश्यकता बन्न गएको थियो । यही आवश्यकताको परिपूर्ति गर्न पार्टी केन्द्रीय समितिले व्यापक छलफलपछि फौजी कारबाहीको नीति तय ग¥यो । ठोस योजना तय गर्दा देशव्यापी सम्भावनाबारे आकलन गरियो । त्यो बेलाको पश्चिम ब्युरोले गर्नुपर्ने निर्णय भयो । स्मरण होस्, ‘त्यो युद्धमोर्चा हार्नै नमिल्ने युद्धमोर्चा थियो किनभने युद्धमोर्चाका कतिपय विशिष्ट र वस्तुगत पक्ष यस्ता हुन्छन जुन युद्ध सञ्चालन गरिराखेको शक्तिको इच्छाविपरीत हुन्छन ।’ आगामी लडिने युद्धमोर्चामा पूर्ण जितको आधारभूत विशेषताका निम्ति पश्चिम ब्युरोलाई जिम्मा दिइयो । पश्चिम ब्युरोअन्तर्गतको राप्ती उपब्युरोमा २÷३ महिनाअगाडि दाङ कारबाही सम्पन्न भैसकेको थियो । त्यसैले भेरी–कर्णाली उपब्युरोमा कारबाही सम्पन्न गर्नुपर्ने आवश्यकता भयो । चुनौती, सम्भावना र आवश्यकताका बारेमा व्यापक छलफलपछि भेक उपब्युरोमा गर्ने निष्कर्षमा उपब्युरो पुग्यो । लामो तयारी गरेको पहिलो मोर्चाको एउटा भागमा रहेको जबर्जस्त प्रतिकूलताले पूर्वतयारी मोर्चा बदल्नुप¥यो र अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन मोर्चा छान्नुप¥यो ।

गिरिजा सरकारले सङ्कटकाल घोषणा गरी जनयुद्धको जीवनमा पहिलोपटक शाहीसेना परिचालन गरेको वस्तुगत अवस्थामा मङ्गलसेन मोर्चाको तयारी र त्यसको पूर्ण विजय आफैँमा असामान्य कुरा थियो । त्यो मोर्चाको तयारी माल्कोटको सल्लारूखलगायत सिङ्गो गाउँमा सुरु भयो । त्यत्रो मोर्चाको तयारी, भीषण युद्धकाल र त्यसको गोपनीयताको रक्षा आफैँमा चुनौतीपूर्ण थियो । युद्धमोर्चामा सहभागी हुने १९ सय शक्तिको तयारीको १५ दिनसम्मको व्यवस्थापन माल्कोट गाउँले दक्षतापूर्वक ग¥यो । बिनाप्रतिकूलता तयारीका निम्ति पूर्ण अनुकूल वातावरण र सुरक्षा सुनिश्चित ग¥यो । बडो रोचक कुरा त के थियो भने पार्टी र जनमुक्ति सेनाको माल्कोटमा कार्यक्रम छ भन्ने खबर आसपास गाविसका जनताले पाएपछि खुसीको लहर छाएको थियो । कार्यक्रम हेर्न भनेर छिमेकी गाविस का सत्तरी–असी वर्षका बूढाबूढीदेखि सातआठ वर्षका बालबच्चाले समेत आफूले सक्ने व्यवस्थापनका निम्ति आपूर्तिका सामना बोकी दुईतीन घन्टाको बाटो हिँडेर माल्कोट आई तयारीको कार्यक्रम हेरेर जानुभयो ।

०५८ फागुन ४ गते राति मङ्गलसेन सदरमुकाममाथि आक्रमण भयो । उक्त कारबाही फागुन १ गते जनयुद्ध दिवस पारेर गर्ने योजना थियो । मङ्गलसेनमा रहेको शाहीसेनाको ब्यारेक त डेढ घन्टामै कब्जा भयो । जिल्ला प्रहरी र सशस्त्र प्रहरी क्याम्पसँगको युद्धमोर्चा रातभर जारी रह्यो । बिहान उज्यालो भएपछि नियन्त्रणमा आयो । शाहीसेनाको ब्यारेक, सशस्त्र र नेपाली प्रहरीको जिल्ला क्याम्प कब्जा भएपछि गिरिजा सरकार, देशीविदेशी प्रतिक्रियावादीहरू र शाहीसेनाको सङ्कटकाल, सेना परिचालन एवम् अफवाहले हावा खाएर माटोमा मिल्यो । नेपाली जनयुद्धले अर्को उचाइ हासिल ग¥यो । जनयुद्धको वस्तुगत आवश्यकतालाई यो कारबाहीले सशक्त रूपमा पूरा ग¥यो ।

अछाम मङ्गलसेन विजयी फौजी मोर्चाको बदलामा शाहीसेनाले फागुन ८ गतेबाट कालीकोट जिल्लामा अप्रेसन र दमन सुरु ग¥यो । अप्रेसनको मुख्य निशाना माल्कोट गाउँ र सल्लारूख बस्तीलाई बनायो । शाहीसेनाको काउन्टर अप्रेसनमा बेलगाम आगजनी, लुटपाट, जनतालाई गाउँबाट लखेट्ने, जनताको घर, अन्नपात तोडफोड एवम् नष्ट गर्ने ग¥यो । उक्त अप्रेसनमा सल्लारूखमा यो पङ्क्तिकारका दुईवटा घरमा सबैभन्दा पहिले आगो लगायो । घरको सबै सम्पत्ति खरानी बनायो । घरमा आगो लगाउने बेला त्यसको दायाँबायाँतिरका मात्र ११ वटा घरमा आगो लगायो । त्यो अप्रेसनमा माल्कोट, कोटवाडा, लालु, कुमालगाउँ र रूपसा गाविसमा जनताका घर र गोठ गरी ८५ वटामा आगो लगाएर ध्वस्त पा¥यो । जिल्लाभरि दमन ग¥यो । माल्कोटलगायत जिल्लाभरिका जनताले यसको डटेर सामना गरे । अछाम मङ्गलसेन सदरमुकाम कारबाहीका पक्षमा जनताले आफूलाई दृढतापूर्वक खडा ग¥यो ।

शाहीसेनाको आगजनीबाट घरबासविहीन भएका जनताको बासको व्यवस्था गर्न पार्टी र जनसत्ताले इन्जिनियरद्वारा नयाँ घरको डिजाइनिङ, स्थानीय साधनस्रोत परिचालन र कर्णाली–भेरी स्तरको दक्ष श्रमशक्ति केन्द्रित गरी आवास पुनर्निर्माण अभियान सञ्चालन ग¥यो । यो अभियानले गाउँका जनतामा प्रेरणादायी सन्देश प्रवाह ग¥यो । त्यो बेला जनताको आपसमा भनाइ थियो, “शाहीसेनाले हाम्रो घरमा किन आगो नलगाएको होला ? आगो लगाएको भए अहिले माओवादी पार्टी र जनसत्ताले नयाँ र आधुनिक घर निर्माण गरिदिने थियो ।” त्यो बेला नेतृत्वको घरबाहेक सबै घर निर्माण भए । निर्माणकार्य अन्तिम अवस्थामा पुगेको बेला वा छाना हाल्ने बेला शाहीसेनाले फेरि बम बर्सायो । शाहीसेना र सत्ताधारीहरूको यो कार्य पार्टी र जनसत्ताले निर्माण गरेका नयाँ नमुना घरबाट जनतामा परेको सकारात्मक प्रभावबाट आतङ्कित हुन पुगेको मानसिकताको उपज थियो । यो निर्माणकार्य फेरि सुरु गरेर पूरा भयो । निर्माणकार्यको सम्पन्नता ध्वंसलाई निर्माण र नकारात्मक घटनालाई सकारात्मक परिघटनामा बदल्ने मालेमावादी द्वन्द्ववादको प्रयोग र पार्टी नेतृत्वको सचेतन पहलकदमीको परिणाम थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :