विवादास्पद प्रलेस विघटित

सल्लाहकारबाट विरही, पुन र रेग्मीको राजीनामा


काठमाडौँ : ‘प्रगतिशील लेखक सङ्घ नेपाल’ अर्थात् प्रलेस विघटित बनेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य एवम् स्रष्टा अनिल शर्मा ‘विरही’, पूर्वकेन्द्रीय सदस्य एवम् अधिकारकर्मी सरला रेग्मी र केन्द्रीय सदस्य चिरन पुनले केन्द्रीय सल्लाहकार समितिबाट सामूहिक राजीनामा दिएपछि प्रलेस विवादित र विघटित बनेको हो ।

नेपालको पुरानोमध्येको एक साहित्यिक संस्था ‘प्रगतिशील लेखक संघ’ फेरि एकपटक गम्भीर विवादमा मुछिएर विघटन भएको हो । ‘सामन्तवाद, विस्तारवाद र साम्राज्यवादविरोधी लेखकहरूको संयुक्त मोर्चा’ का रूपमा विगत करिब सात दशकदेखि क्रियाशील प्रलेस तेस्रोपटक गम्भीर विवादमा मुछिएर विघटनको सिकार बनेको हो । तीसको दशकको अन्त्यतिर प्रगतिशील लेखक कलाकार सङ्घ (प्रलेकस) निर्माण भएपछि यो संस्था पहिलोपटक विवाद र विघटनको सिकार बनेको थियो भने पचासको दशकमा संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माले तस्करहरूबाट सञ्चालित पुरस्कार थापेका कारण माओवाद र माओ विचारधारा पक्षधर लेखकहरूले सम्मेलन बहिष्कार गरेपछि दोस्रोपटक विवादित बन्दै विघटित बनेको थियो । त्यसपछि यो संस्था तत्कालीन एमालेको भ्रातृ संस्थाजस्तै एकलौटी सञ्चालनमा आएको थियो । यसपटक प्रलेस दलाल पुँजीवादी सत्तासीन पार्टी डबल नेकपाको भ्रातृ सङ्गठन बनेको भन्दै माक्र्सवाद लेनिनवाद माओवाद स्वीकार्ने विप्लव नेतृत्व नेकपा, वैद्य निकटको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुति समूहभित्रका इमानदार स्रष्टाहरूले विद्रोह गरेका हुन् । कयौँ माक्र्सवादी स्रष्टाहरूले प्रलेस सामाजिक दलाल सत्तानिकट भ्रातृ सङ्गठनजस्तो बनेको भन्दै यथास्थितिवादी प्रलेसको विरोध र नयाँ माक्र्सवादी लेनिनवादी माओवादी लेखक सङ्घ निर्माणका पक्षमा मत व्यक्त गरिरहेकै समयमा नेकपा पक्षधर सल्लाहकारहरूको राजीनामा आएको हो । नेकपा उच्च स्रोतले आफ्नो पक्षका तीन सल्लाहकारले प्रलेस छोडेको पुष्टि गरेको छ । प्रलेस सत्ताको दाबेदारी गर्ने दलाल पुँजीवादपरस्त सङ्गठनमा परिणत भएको भन्दै विरही, रेग्मी र पुनले केन्द्रीय सल्लाहकार समितिबाट राजीनामा दिएका हुन् ।

कथित प्रलेस ११ औँ राष्ट्रिय सम्मेलनको तयारीमा छ । दलाल पुँजीवादी सत्ता निकट भ्रातृ सङ्गठन बन्दै गएको प्रलेसले यसै साता सम्मेलन गर्ने जनाएको थियो । प्रगतिशील लेखक सङ्घ सामन्तवाद, विस्तारवाद र साम्राज्यवादविरोधी स्रष्टाहरूको साझा मोर्चा भए पनि अहिले सत्तारूढ दल र अवसरछोपुवा लेखकहरूको भीडका रूपमा अघि बढाएको र यसले सङ्गठनात्मक क्षेत्रमा विचार–प्रतिबद्ध र सङ्गठन–सम्बद्ध लेखक–प्रतिभाहरूको साझा मञ्चका रूपमा आफूलाई विकास गर्न नसकेको राजीनामा दिएका सल्लाहकारहरूको भनाइ छ । हाल प्रलेसमा जनयुद्धविरोधी, जनयुद्धलाई सामाजिक फासिवाद र फासिवादी आतङ्क भन्ने र वर्तमानमा सरकारले नेकपालाई प्रतिबन्ध लगाएको घटनालाई स्वीकार÷समर्थन गर्ने लेखक र गैरलेखकहरूको मूल नेतृत्व छ ।

सङ्घबाट राजीनामा दिने सल्लाहकारमध्येका एक विरहीले भनेका छन्, ‘सामन्तवाद, विस्तारवाद, साम्राज्यवादविरोधी सङ्घर्ष नेपालमा जारी छ तर प्रलेसले त्यो भूमिका निर्वाह गर्न सकेन ।’ प्रलेसलाई तत्काल बदल्ने सम्भावनासमेत नरहेको प्रस्ट पार्दै विरहीले दलाल पुँजीवादका विरुद्ध आन्दोलन उठानका लागि आफूहरूले प्रलेस केन्द्रीय सल्लाहकार समितिबाट राजीनामा दिएको बताएका छन् ।

यसअघि केन्द्रीय समितिका केही लेखकले प्रलेसले पूर्णतः आजको सरकार, सरकारी पार्टी र त्यसको वैचारिक प्रतिनिधिका रूपमा आफूलाई अपघटित गरेको पुष्टि भइसकेको र राजनीतिक रूपमा सङ्कुचित प्रलेस आजको संसद्वादी, संशोधनवादी÷नवसंशोधनवादी तथा अवसरवादी धाराको सत्ताको भ्रातृ सङ्गठनमा फेरिइसकेको भन्दै विरोध गरेका थिए । स्मरणीय छ, प्रलेस गठन प्रक्रिया, नीति–कार्यक्रम, यसको नेतृत्व र गतिविधिका विरुद्ध नेकपामा आबद्ध कयौँ स्रष्टाहरूले यसअघिदेखि नै विरोध गर्दै आएका थिए ।

२०७५ चैत १९ गते मङ्गरबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :