पार्टी, सेना जनपरिषद् र जनताले प्रतिबन्धको डटेर सामाना गर्नेछन् : सुदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउनुको अर्थ जनतामा पार्टीको प्रभाव बढ्दै गएको प्रमाणित भएको विश्लेषण गर्दै उक्त प्रतिबन्धबाट आतङ्कित नहुन नेता, कार्यकर्ता र जनतालाई आग्रह गरेका छन् । साथै उनले आफ्नो पार्टीका सम्पूर्ण तहलाई धैर्यपूर्वक प्रतिबन्धको सामना गर्दै अघि बढ्न आह्वान पनि गरेका छन् ।

आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध नकरात्मकताभित्रको सकारात्मक भएको प्रट पार्दै नेता सुदर्शनले उक्त प्रतिबन्धलाई आफ्नो पार्टीले चुनौतीका रूपमा लिएको बताएका छन् । साथै उनले अब देशका क्रान्तिकारी, देशभक्त शक्ति र सच्चा लोकतन्त्रवादीहरूका विचमा संयुक्त मोर्चा खडा हुने आधार तयार भएको बताएका छन् ।

नेता सुदर्शनले आफ्नो पार्टीमाथि लगाइएको भनिएको प्रतिबन्धका विरुद्ध आवाज उठाउने सबै क्रान्तिकारी पार्टीहरू, देशभक्तहरू र सच्चा लोकतन्त्रवादीहरूलाई हार्दिक धन्यवादसमेत दिएका छन् । उनले भनेका छन्, ‘सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउनुको अर्थ हाम्रो पार्टी बलियो र सरकार कमजोर हुनुको परिणाम हो । हाम्रो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सम्पूर्ण पार्टीपङ्क्ति, जनमुक्ति सेना, नेपाल क्रान्तिकारी जनपरिषद् सबैखाले प्रतिबन्धको सामना गर्ने तयार रहेका छन् ।’

शनिबार नेकपाको मध्य केन्द्रीय कमान्डको अभियानको समीक्षा कार्यक्रममा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै कमान्ड इन्चार्ज सुदर्शनले यस्तो बताएका हुन् ।

नेकपाको पूर्वी ताम्सालिङं ब्युरो इन्चार्ज विजयको सञ्चालन र केन्द्रीय सदस्य उत्तमले स्वागत भाषण गरेको समीक्षा कार्यक्रममा मध्य केन्द्रीय कमान्डमा परिचालित अभियान टोलीलाई बिदाइ गरिएको थियो ।

दुईमहिने अभियान सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को उक्त समीक्षा कार्यक्रममा ५ आधारलाई ४ इलाकासँग जोड्ने पार्टीको नीति जनतामा लगेर प्रचारप्रसार गर्न सफल भएको निष्कर्षसहित कम्तीमा २० हजार जनतासँग प्रत्यक्ष साक्षात्कार र अन्तरक्रिया गरिएको जानकारी अभियान टोलीका एक नेताले दिएका छन् । साथै अभियानको अवधिमा जुझारु सङ्घर्षको हिसाबले पार्टी धेरै अघि बढिसकेको र पार्टीको प्रभाव धेरै माथि उठेको निष्कर्ष निकालिएको थियो ।

समीक्षा कार्यक्रममा अभियान टोलीका प्रमुखहरू आस्था, रवि, राप्ती, शरद, धु्रव, ज्वालालगायतले अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । कपाको मध्य केन्द्रीय कमान्डमा देशैभरिबाट केन्द्रित भएका अभियानकर्मीहरूलाई कमान्ड इन्चार्ज सुदर्शनले टोकन अफ द रेभुलुसन दिएर बिदाइ गरेको प्राप्त समाचारमा जनाइएको छ ।

२०७५ चैत ४ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :