फागुन ३० गते बिहीबार नेकपाको नेपाल बन्द, फासिवादी दमनको विरोध गर्न विप्लवको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले यही फागुन ३० गते नेपाल बन्दसहित आमहडताल घोषणा गरेको छ । नेपाल सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले विभिन्न कार्यक्रम साथै आमहडतालसहित नेपाल बन्द घोषणा गरेको उक्त पार्टीका महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति जारी गरी जनाएका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘केपी—प्रचण्ड सरकारले केही समयदेखि देशभर फासिस्ट दमन अभियान तीव्र बनाएको छ । दमनका क्रममा २३ गते बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ को अञ्चलपुरका युवा दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुनः सुन्दरीडाँडा जङ्गलमा लगेर गोली हानी घाइते तुल्याएको छ भने देशभरिबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँजना नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । गाउँगाउँमा सङ्कटकालकै जसरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ साथै घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टामुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’

वर्तमान सरकारले देशव्यापी रूपमा चलाएको दमनका विरुद्ध आयोजना गरिएको आमहडतालमा सहयोग गर्न आह्वान गर्दै विप्लवले भनेका छन्, ‘सबैलाई थाहा छ– हाम्रो पार्टीले दलाल पुँजीवादी सत्ताका राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन् र जनताकै हितका लागि पार्टीले प्रतिरोध सङ्घर्षको बाटो पकडिरहेको छ । विडम्बना ! कथित वामपन्थी, कम्युनिस्टको सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले ती राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरूको रक्षार्थ हाम्रो पार्टीविरुद्ध दमन गरिरहेको छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र सङ्घषविरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिरोध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौँ । हाल चलिरहेको फासिस्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिँदैन । जसरी शिवगढीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ । यसैका लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरी भइरहेको सेना–प्रहरी परिचालन र दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द आयोजना गरेको छ । यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखानालगायत सम्पूर्ण क्षेत्रहरू बन्द गरेर सहयोग पु¥याइदिन हुन विशेष आग्रह गर्दछौँ ।’

अहिले सरकारले देशव्यापी रूपमा चलाएको दमन, गोलीकाण्ड र अप्रेसन नियोजित र योजनाबद्ध भएको भन्दै नेकपाका महासचिव विप्लवले भनेका छन्, ‘केही दिनअगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरी गोली चलाउने, सेना–प्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरूको फासिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौँ– उनीहरूले जस्तोसुकै दमन गरे पनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधीनताका लागि गरिने सङ्घर्षमा केही फरक पर्नेवाला छैन, न त उनीहरूको दमन नै सफल हुनेछ बरु क्रान्तिकारीहरूलाई अरु दृढ र समर्पित हुन प्रेरित गर्नेछ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन, नेपाली श्रमिक जनता नै विजयी हुनेछन् । आउनुहोस् सामाजिक दलाल पुँजीवादी सरकारको फासिवादी दमनको चौतर्फी सशक्त प्रतिरोध गरौँ ! फागुन ३० गते नेपाल वन्द गरौँ ।’ विज्ञप्तिमा नेपाल बन्द सफल पार्न फागुन २५—२६ प्रचारप्रसार, फागुन २७ कोणसभा, फगुन २८ ¥याली, फागुन २९ मशालजुलुस र फागुन ३० नेपाल बन्द जस्ताकार्यक्रमतय गरिएको छ ।

स्मरण रहोस् पछिल्लो दिनमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले नेकपाको गतिविधि राजनीतिक नभएको भन्दै दमन गर्ने धम्की दिइराखेका छन् । उनीहरूले प्रयोग गर्ने गरेको भाषा र सरकारी तहबाट नेकपामाथि गरिएको धरपकड, गिरफ्तारी, गोलीकाण्ड र अप्रेशनले जनयुद्ध शुरु गर्नु अघि रोल्पा, रुकुममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले चलाएको नरसंहारकारी रोमियो अप्रेसनलाई सम्झाएको सर्वधारणले भन्ने गरेका छन् ।

२०७५ फागुन २९ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :