मूल्यवृद्धि फिर्ता नलिए जनकारबाही गर्ने चेतावनी

सिन्धुली : जनपरिषद् नेपाल, सिन्धुलीका गोपाल तामाङले सरकारले सबै क्षेत्रमा मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

तामाङले विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामधारी सरकार गठन भएपछि देश र जनताको हित होला, दैनिक जीवनयापनको समस्यामा राहत होला भन्ने आमनागरिकको अपेक्षामा कुठाराघात भएको बताएका छन् । उनले जनजीवन झन्झन् कष्टकर बनिरहेको अवस्थामा आगामी चैत १ गतेदेखि लागू हुने गरी सिन्धुली जिल्ला अस्पतालमा बिरामी उपचार सेवा शुल्कमा एक सय ५० प्रतिशतले शुल्क वृद्धि गर्ने तर सरकारी दरबन्दी ४८ प्रतिशतभन्दा कम भइरहने भन्ने समचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य नागरिकको मौलिक अधिकार भन्ने कुरा संविधान, देशको मूल कानुनमा उल्लेख भएकै छ । संसदीय व्यवस्थामा कानुन, संविधान, विधिको शासन, समृद्धि, प्रतिबद्धता भन्ने हात्तीको देखाउने दाँत र चपाउने दाँत अर्कै हुन्छ भन्ने कुरा पुष्टि भएको छ । राज्यले सम्पूर्ण व्यवस्था गर्नुपर्ने स्वास्थ्य क्षेत्रमा जनशक्ति आधा पनि उपलब्ध नहुनु तथा १५० प्रतिशतसम्म शुल्क वृद्धिको निर्णयमा सर्वदलीय सहमति भएको खबर हामीलाई खेदजनक र अस्वीकार्य छ । हामी त्यसप्रकारको निर्णयको भत्र्सना गर्दछौँ ।’
तामाङको विज्ञप्तिको अन्तिममा भनिएको छ, ‘लज्जाजनक निर्णय फिर्ता लिन माग गर्दछौँ । अन्यथा जनविरोधी तत्वहरू जनताको निशानामा पर्ने चेतावनीसमेत दिन चाहन्छौँ ।’

२०७५ फागुन २५ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :