गिरफ्तार नेतालाई उपस्थित गराउन उच्च अदालतको आदेश

दाङ : गैरकानुनी गिरफ्तारीका विरुद्ध तुलसीपुर उच्च अदालतमा परेको रिट निवेदनमाथि अदालतले आइतबारसम्म पक्राउ गर्नुको आधार र कारण देखाउ लिखित जबाफसहित बन्दी लिएर उपस्थित गराउन आदेश जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्यहरू प्रदीप ओली, ईश्वरी पाण्डे र रुद्र ओलीलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको भन्दै तुलसीपुर उच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदा उक्त आदेश भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलास, वरिष्ठ अधिवक्ताहरू वामदेव शर्मा, विष्णुमणि धिताल, रामशरण चौधरी र पुष्कर भण्डारीको बहसपछि यही २६ गते १० बजेभित्र बन्दीहरूलाई उपस्थित गराउन आदेश दिइएको छ ।

पार्टीका जिल्ला सचिवालय सदस्य प्रदीप ओलीकी श्रीमती रमिता ओलीले तीनैजनालाई सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग सम्मन तथा अभिनन्दन कार्यक्रमबाटै गैरकानुनी रूपमा गिरफ्तार गरिएको उल्लेख गर्दै थुनामुक्त गरिपाऊँ भनी उच्च अदालत तुलसीपुरमा रिट दायर गरेकी थिइन् ।

२०७५ फागुन २३ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :