नेकपाको राप्ती बन्द सफल, सल्यानमा वैज्ञानिक गिरफ्तार

सल्यान : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले आज बिहीबारका लागि आह्वान गरेको राप्ती बन्द सफल भएको उक्त पार्टीले जनाएको छ । राप्तीका पाँचवटै जिल्ला ठप्प भएको जनाइएको छ ।

प्रहरीले गिरफ्तार गरेका नेकपा दाङ जिल्ला सचिवालय सदस्य प्रदीप ओली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र ओली, रोल्पा जिल्लाबाट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई बिनासर्त रिहाइको माग गर्दै नेकपाले राप्तीका ५ जिल्ला बन्द गरेको हो । बन्द पूर्ण रूपमा सफल भएको नेकपाले जनाएको छ ।

यसैबीच बन्दको दिन सल्यानका जिल्ला सदस्य मदन केसी ‘वैज्ञानीक’ पक्राउ परेका छन् । नेकपाले बिहीबार आह्वान गरेको राप्ती बन्दका क्रममा उनी गिरफ्तार परेको नेकपा सल्यानले जनाएको छ ।

अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टङ्कप्रकाश केसीले सडकमा यात्रा गरिरहेको अवस्थामा वैज्ञानिकलाई पक्राउ गरिएको जनाएका छन् । उनले जिल्लाका पूर्व विद्यार्थी नेतासमेत रहेका वैज्ञानिकलाई यथाशीघ्र रिहाइको माग गरेका छन् ।

बन्द अवज्ञा गर्ने सल्यानमा ट्रक र जिप तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा ट्रक र बोलेरो जिप तोडफोड गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले बिहीबार आह्वान गरेको बन्दका क्रममा सवारी चलाएको भन्दै सल्यखोलामा गाडी तोडफोड गरिएको समाचारमा जनाइएको छ । श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३६८ ट्रक र लु २ ख २७२५ नम्बरको बलेरो जिपमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बन्दका कारण सल्यानमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन बन्द भए । बन्दमा सवारीसाधन, शैक्षिक संस्था, पसल र कलकारखाना ठप्प भएका छन् ।

२०७५ फागुन २३ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :