सरकार सामाजिक फासिवादको बाटोमा : सुदर्शन, गिरफ्तार नेता–कार्यकर्ताको रिहाइका लागि आवाज उठाउन आह्वान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वर्तमान सरकार सामाजिक फासिवादको अभ्यासमा लागेको बताएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान केपी–पीके सरकार बहुराष्ट्रिय निगमको दलालीमा अझ राम्रोसँग लागेको र नेकपाका नेता–कार्यकर्तामाथि रेबिज सल्केझैँ बेहिसाब झम्टन थालेको बताएका छन् ।

स्थायी समिति सदस्य सुदर्शनले अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष राजु कार्की र पूर्वविद्यार्थी नेता केदार खतिवडालगायत देशैभरबाट गिरफ्तार गरिएका पार्टीका नेता तथा कार्यकर्ताको शीघ्र रिहाइको माग गर्दै यसका लागि जोडदार आवाज उठाउन नागरिक समाज, मानवअधिकारवादी सङ्घसंस्था, क्रान्तिकारी राजनीतिक पार्टीहरू र मुख्य गरी न्यायप्रेमी जनसमुदायसँग अपिल गरेका छन् ।

सुदर्शनको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ 

‘यतिबेला सामाजिक फासिवादको अभ्यासमा व्यस्त हुन थालेको केपी–पीके सरकार बहुराष्ट्रिय निगमको दलालीमा अझ राम्रोसँग लागेको छ । रेबिज सल्केझैँ बेहिसाब झम्टन थालेको छ । उसको बेहोस झम्टाइमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता र जनता पर्न थालेका छन् । पीके दाहाल र रामबहादुर थापाले हिजो जनयुद्धको प्रक्रियामा यी नेता, कार्यकर्ता र जनताले तत्कालीन सरकारको रेबिजग्रस्त झम्टाइबाट बचाएको भुसुक्कै बिर्सेका छन् । यो रेबिजग्रस्त झम्टाइमा यही फागुन २१ गते अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष राजु कार्की र फागुन २२ गते पूर्वविद्यार्थी नेता केदार खतिवडा पर्नुभएको छ । उहाँहरू दुवैजनालगायत देशैभर गिरफ्तार पर्नुभएका नेता तथा कार्यकर्ताको शीघ्र रिहाइका लागि जोडदार आवाज उठाउँदै नागरिक समाज, मानवअधिकारवादी सङ्घसंस्था, क्रान्तिकारी राजनीतिक पार्टीहरू र मुख्यतः आदरणीय न्यायप्रेमी जनताको ध्यानाकर्षण गर्न चाहन्छौँ ।’
२२ फागुन, २०७५
सुदर्शन
इन्चार्ज
मध्य केन्द्रीय कमान्ड
नेपाल कम्युनिस्ट पार्टी

२०७५ फागुन २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :