२३ गते राप्ती बन्द हुने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको बिनासर्त रिहाई गर्न माग गर्दै भोली २३ गते राप्ती बन्दको आह्वान गरेको छ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो इन्चार्ज सुवासले बुधबार प्रेस विज्ञप्ति जारी गरि गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको बिनासर्त रिहाइ गर्न, राज्य सरकारको फासिवादी रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मुल्यमान्यता स्थापित गर्न यही फागुन २३ गते १ दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।

देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेताकार्यकर्ताहरुको घर खानतलासी, गालीगलौज, आतकिंत पार्ने र रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएको र फागुन २० गते ने.क.पा. रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेन र फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइ गर्न मागसहित आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, “बन्द कार्यक्रमलाई सहयोग गरि सफल पार्न आदरणीय जनसमुदाय, किसान, मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगी, बुद्धिजीवि, व्यवसायीहरुलाई विशेष अनुरोध गर्दछौं र नेताकार्यकर्ताहरुको विनासर्त रिहाइ नगरि दलाल फासिवादी रवैया अपनाइरहेमा कडा भन्दा कडा प्रतिरोध संघर्षका कार्यक्रमहरु अघि बढाइने कागजी सरकारलाई चेतावनी र प्रतिरोध संघर्षहरुमा सहभागिताका लागि तयारी अवस्थामा रहन न्यायप्रेमी जनसमुदायहरुलाई यसै विज्ञप्तीमार्फत अपिल गर्दछौँ”

२०७५ फागुन २२ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :