रोमीयो र दार्बोट अप्रेशन सम्झदै रोल्पालीहरु


काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी रोल्पाले आफ्नो पार्टी जिल्ला सदस्य जितेन्द्र सेन टिकाराम परियारलाई बिनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको छ । आफ्नो नीजि काममा व्यस्त भइरहेको बेला प्रहरीले सेन र परियारलाई विनाकारण अपहरण शैलीमा गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

सो पार्टीका रोल्पा सेक्रेटरी प्रयासले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले आफनो पार्टीका नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तारी गर्ने, नेताकार्यकर्ताको घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई आतंकीत पार्ने र शान्तिपूर्ण कार्यक्रममा दमन गरिरहेको बताएका छन् । साथै सेक्रेटरी प्रयासले केही दिन अघि मात्र सो पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा खानतलासी गरेको, परिवारका सदस्यलाई आतङ्क सिर्जना गर्ने र रोमियो अप्रेसन र दार्बोट अप्रेसनको झझल्को दिने हर्कत भएको कुरा विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तै नेकपाका जागृति, विश्लेषण, बिजुली, दिनेश चन्द लगायतको घरमा खानतलासी गरेर परिवारका सदस्यहरुलाई मानसिक यातना दिनुको साथै कैयौं ठाउँमा जनतालाई कुटपिट गर्ने र होलेरीमा विद्यार्थीको सम्मेलनलाई भाड्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनयुद्धको पूर्वसन्ध्यामा रोल्पामा खुमबहादुर खड्काले जुन खालको रवैया अपनाएका थिए त्यसको पुनरावृति स्वरुप अहिले वर्षमान पुनहरुले झन् ठूलो दमन गरिरहेको भन्दै गिरफ्तार गरिएकाहरुलाई रिहा नगरिए पार्टीले श्रृङ्खलाबद्ध संघर्षको कडा बाटो समात्न बाध्य हुने चेतावनी विज्ञप्तिमा मार्फत दिइएको छ ।

यसैबीच जनयुद्धका प्रथम घाइते मनखना बाठा मगरको घरमा गए राती प्रहरीले खानतलासी गर्नुका साथै छिमेकी देविराज बाठामगरलाई कुटपिट गरेको छ । रोल्पाको भावाङमा स्थित ८० वर्षीया मनखनालाई घरमा एक्लै सुतिरहेको बेला राति साढे १० बजेतिर प्रहरी गएर खानतलासी गर्नुको साथै नेकपाले अभिनन्दन गरेको ब्यानर समेत खोसेर लगेको सोही ठाउँमा छिमेकीको घरमा पनि गएर खानतलासी गर्नुका साथै घरमा सुतिरहेका देविराज बाठामगरलाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।

२०७५ फागुन २२ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :