सहिद सप्ताहको अवसरमा युवा सङ्गठनद्वारा भलिबल प्रतियोगिता

काठमाडौँ : सहिद सप्ताहको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल महाकाली ब्युरोले बैतडीको पुर्चाैलीहात नगरपालिका कमल विशाल सहिद पार्कमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । फागुन १४ गते सहिद सप्ताहको पहिलो दिनबाट सुरु भई १७ गते सम्म सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगितामा १७ वटा टिमले भाग लिएका थिए । प्रतियोगीतामा आयोजक टिम युवा सङ्गठन नेपाल महाकाली ब्युरो प्रथम भएको छ भने दोस्रो स्थानमा युवा सङ्गठन नेपाल बैतडी जिल्ला समिति, तेस्रोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पुर्चाैली नगरपालिका युवा सङ्घ र पाँचौ स्थानमा गडाब पुस्तक पसल टिम रहेको थियो । प्रतियोगिताको अन्तिम दिन शुक्रबार समापन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रथम हुने टिमलाई नगद १० हजार, सिल्ड, प्रमाणपत्र, दोसल्ला, मेडल प्रदान गरिएको छ । त्यस्तै दोस्रो हुनेलाई साढे ६ हजार नगद, सिल्ड, प्रमाणपत्र, मेडल, तेस्रोलाई नगद साढे ४ हजार, प्रमाणपत्र, मेडल र चौथो हुनेलाई १ हजार नगद, प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी देवेन्द्र अवस्थी, अनुशासित खेलाडी गोविन्द विक र प्रतिभावान तथा उदियमान खेलाडी दिपेश बोहरालाई घोषित गरिएको छ । कार्यक्रममा महाकालीबाट खेलकुद जगतमा महत्वपूर्ण योगदान पु¥याएकोमा भलिबलको राष्ट्रिय कोर्टर जगदीश भट्ट, सोही प्रतियोगिताका मुख्य रेफ्री सिपी जोशी, दानबहादुर साउद लगायत ४ जनालाई सम्मान गरिएको छ ।

युवा सङ्गठन, नेपालका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज श्याम भट्टको अध्यक्षतामा शुक्रबार भएको समापन कार्यक्रममा प्रमुख अतिथि युवा सङ्गठन, नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश विक थिए भने विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी महाकाली ब्युरो सदस्य पुकार, पार्टीका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशी, सेक्रेटरी दानसिङ कुँवर, मुख्य रेफ्री सिपी जोशी, युवा संगठन, नेपालका केन्द्रीय सदस्य भुवन कुवर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको दलाल संसदीय व्यवस्थाले खेलप्रेमी युवाहरूलाई राम्रो व्यवस्थापन र रेखदेख गर्न नसकेको बताएका छन् । अरु क्षेत्र जस्तै खेलकुदमा पनि भ्रष्टाचार भइरहेको भन्दै भ्रष्टाचारको विरुद्ध सबै युवा खेलाडी लाग्नुपर्ने खाँचो औल्याएका छन् । खेलाडी युवाहरूको उचित व्यवस्थापन र खेल जगत विकासको लागि अब वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको भन्दै त्यसको प्राप्तिका लागि एकीकृत जनक्रान्ति सम्पन्न गर्न लाग्नुपर्ने बताए ।

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :