नेकपा निकट पत्रकार सङ्गठन अब जनपत्रकार सङ्गठन, नेपाल


काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार सङ्गठनको नाम परिवर्तन गरेर जनपत्रकार सङ्गठन, नेपाल बनाइएको छ । यसअघि यो सङ्गठनको नाम क्रान्तिकारी पत्रकार सङ्गठन थियो । सङ्गठनले मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सङ्गठनको नाम परिवर्तन भएको जानकारी दिएको हो । गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णयअनुसार सङ्गठनको नाम परिवर्तन गरिएको जानकारी सङ्गठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले दिए । कानुनी र प्राविधिक कारणले नाम फेर्नुपरेको डुम्रेको भनाइ थियो । सङ्गठनले यसअघि क्रान्तिकारी पत्रकार सङ्गठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार सङ्गठनको नामबाट हुने जानकारी महासचिव हिम बिष्टले दिए । सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार सङ्गठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको बिष्टले बताए ।

पछिल्लो समय सरकार पक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका शृङ्खला बढ्दै गएका बेला सङ्गठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस चलाएको थियो । सङ्गठनका अध्यक्ष डुम्रेले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तीव्र पार्ने जानकारी दिनुभयो । पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतीपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई अभियानमा साथ दिनसमेत आग्रह गरे ।सरकारले प्रेस नियन्त्रित कानुन तत्काल नसच्चाए आन्दोलन गर्ने चेतावनीसमेत उनले दिए ।

२०७५ फागुन १४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :