ब्रेकिङ विथ ओल्ड आइडियाज् र नेपालको शिक्षा

विषय प्रवेश
‘ब्रेकिङ विथ ओल्ड आइडियाज’ १९७५ मा बनेको चिनियाँ चलचित्र हो । चुनआओ झोङ्जीको लेखनमा लि वेन्हुसले निर्देशन गरेको यो फिल्मको मूल विषयवस्तु शिक्षा रहेको छ । चीनमा कमरेड माओको नेतृत्वमा ल्यु साओ चि, लिन प्याओलगायत संशोधनवादीहरूले सत्ता कब्जा गरी चिनियाँ समाजवादी सत्तामा प्रतक्रियावादी घुसपैठ गर्न थालेपछि ‘बुर्जुवाहरूको मुख्यालयमा बम बार्ड गर’ भन्ने नारा दिएसँगै सुरु भएको सर्वहारा सांस्कृतिक क्रान्तिको उद्घोष भएको थियो । सर्वहारा सांस्कृतिक क्रान्ति संस्कृतिमा मात्र सीमित नभएर विश्व दृष्टिकोणमा नै नयाँ आयाम थियो । त्यसले आर्थिक, सामाजिक, सांस्कृतिकका साथै शिक्षामा ठूलो परिवर्तन ल्याएको थियो । सांस्कृतिक क्रान्तिका अभियन्ताहरू मूल रूपमा स्कुल, कलेजका युवा विद्यार्थी थिए । चिनियाँ जनवादी र पछिल्लो क्रममा समाजवादी क्रान्तिमा शिक्षामा कसरी आमूल परिवर्तन ल्याइएको थियो भन्ने विषयलाई यस चलचित्रमा समावेश गरिएको छ ।

चलचित्रको कथावस्तु

सामान्य लेखपढ गर्न जान्ने लिङ तुङतेङ गाउँका कम्युन निर्देशक हुन्छन् । उनलाई कलेजको अध्यक्ष नियुक्त गरिन्छ । कलेजमा नयाँ भर्ना चलिराखेको हुन्छ । कलेजका डिन सुन विद्यार्थीको शैक्षिक प्रमाणपत्र जाँच गरिराखेका हुन्छन् । राम्रो अङ्क ल्याएर डिप्लोमा गरेका विद्यार्थीले मात्र त्यस कलेजमा भर्ना हुन पाउने पुरानो प्रावधान छ । योग्यता नपुगेकाहरूलाई डिन सुन ‘यो कलेज हो; कुनै साक्षरता कक्षा होइन । यहाँ भर्ना हुनका लागि कम्तीमा पनि डिप्लोमा उत्तीर्ण हुनुपर्छ’ भनिराखेका हुन्छन् । यही विषयलाई लिएर विद्यार्थी र डिनका बीचमा भनाभन हुन्छ । रिसाउँदै डिन सुन विद्यार्थीलाई ‘पाखे’ भनेर गाली गर्छन् । निर्देशक लिङ कलेज पुग्छन् । भर्ना हुनका लागि बाहिर बसेका विद्यार्थीलाई उनी भित्र बोलाउँछन् । उनले विद्यार्थी छनोटका लागि एकजना वृद्ध किसानलाई साथमा ल्याएका हुन्छन् । कुनै एक जमिनदारको घरमा काम गर्न बसेकी ली चेन फेङ नामकी एकजना महिला पनि कलेजमा भर्ना हुन आएकी हुन्छिन् । १९४९ को क्रान्तिसँगै मुक्त भएपछि उनले महिला सङ्गठनको उत्पादन ब्रिगेडमा लागेर धान खेतीबारे राम्रो अनुभव हासिल गरेकी हुन्छिन् । वृद्ध किसानले ती केटीको धान उत्पादनसम्बन्धी ज्ञानको प्रशंसा गर्छन् । अनि निर्देशक लिङले ली चेनलाई केही लेख्न लगाउँछन् । ली चेनले लेखेर देखाउँछिन् । सामान्य लेखपढ गर्न जान्ने र धानखेतीसम्बन्धी विशेष रुचि र अनुभवसमेत भएकाले ली चेनलाई कलेजमा भर्ना दिइन्छ । गरिब परिवारका नियङ ल–नियन एउटा आरनमा फलाम घन ठोक्ने काम गरिरहेका हुन्छन् । उनको हत्केलाभरि ठेला उठेका हुन्छन् । निर्देशक लिङले नियनका हात उठाउँदै, ‘देश मुक्त भएको ९ वर्षपछि पनिश्रम गर्ने देशका गरिब किसान र मजदुरले शिक्षा पाएका छैनन् । त्यसैले नियनजस्ता हातभरि ठेला उठाउनेहरूका लागि यिनै ठेला हुन् कलेजमा भर्ना हुनका लागि आवश्यक योग्यता’ भन्दै उनलाई पनि कलेजमा भर्ना गर्छन् । तर अहिले नेपालमा प्राविधिक शिक्षा असाध्यै महँगो त छँदैछ । साथै यो सर्वसाधारण जनताको पहुँचभन्दा बाहिर छ । नेपालको शिक्षामा विकास त भएको छ तर शिक्षालाई उत्पादनसँग नजोडेका कारण शैक्षिक बेरोजगारको सङ्ख्या ह्वात्तै बढेको छ । शैक्षिक जनशक्ति विदेश पलायन भएको छ । हुनेखानेले प्राविधिक शिक्षा पढ्ने र नहुनेले मानविकी, शिक्षाजस्ता बौद्धिक विलासिताका विषयहरूमा अल्मलिनुपर्ने उल्टो परम्परा नै बसेको छ । दक्ष जनशक्ति नेपाल बस्ने, त्यसमा पनि ग्रामीण क्षेत्रमा जाने प्रविधि शिक्षामा जोडिएको छैन । त्यो चलचित्रमा कलेज कस्तो स्थानमा बनाउने भन्ने बहस पनि चलाइएको छ । त्यस कलेजका सहप्राचार्य ताओ सहरको नजिकै, नदीको किनारमा, स्वच्छ हावा बहने सुविधासम्पन्न स्थानमा कलेज बनाउन प्रस्ताव राख्छन् तर निर्देशक भने गरिब किसान–मजदुरको विकट बस्तीमा कलेज बनाउने तर्क गर्छन् । तर ताओहरू ‘पहाडमा पैसा, शिक्षक र विद्यार्थी भर्नाको समस्या छ । राम्रो पढेका मान्छे नै छैनन् । त्यसैले सहरनजिक बनाउनुपर्छ, बरु विद्यालय शिक्षा राम्रोसँग उत्तीर्ण गरेका पहाडका विद्यार्थीलाई सहरमै बोलाए भइहाल्यो नि !’ भन्ने तर्क गर्छन् । तर निर्देशक लिङ ‘त्यस्तो होइन, हामी कसलाई पढाउँदैछौँ भन्ने कुरा महत्वपूर्ण हो । हामी गरिब किसान र मजदुरका छोराछोरीलाई पढाउँदैछौँ । त्यसैले बढीभन्दा बढी गरिब किसान र मजदुरलाई पायक पर्ने गाउँनजिकै कलेज हुनु जरुरी छ’, भन्छन् । नेपालका गाउँ र सहरबीचमा शिक्षा, स्वास्थ्यजस्ता विकासका पूर्वाधारमा ठूलो खाडल उत्पन्न भएको छ । सहरहरू नै स्वास्थ्य र शिक्षाका केन्द्र बनेका छन् । प्राविधिक र सीपमूलक शिक्षामा ग्रामीण जनताको पहुँच बढाउन, सहर–गाउँमा जनसङ्ख्याको सन्तुलन कायम राख्न, स्थानीय साधनस्रोतको सदुपयोग गर्न र समग्र विकासका लागि प्राविधिक र अनुसन्धानमूलक कलेजहरू ग्रामीण क्षेत्रमा स्थापना गर्नु आवश्यक छ ।

उक्त चलचित्रमा डिन सुन एक महिनादेखि घोडाका बारेमा पढाइराखेका हुन्छन् । त्यही बेला अघि विद्यार्थी छान्न बोलाइएका वृद्ध किसानले आफ्ना भैँसी बिरामी भएर उपचार गराउन कलेजमा ल्याएका हुन्छन् । कक्षामा पढाइराखेका डिन सुन भैँसी कराएको सुनेर बाहिर आउँछन् । डिनले किसानलाई कलेजमा भँैसी ल्याएको देखेर हप्काउँदै ‘यो कलेज हो, यहाँबाट भैँसी लगिहाल’ भनेर किसानलाई आदेश दिएपछि फेरि कक्षामा पढाउन थाल्छन् । भैँसी फर्काएर वृद्ध किसान त्यही कक्षामा आएर बस्छन् । एकछिनपछि उठेर ती वृद्ध किसानले पढाउँदै गरेका डिनलाई भन्छन्, ‘तपाईं दक्ष हुनुहुन्छ रे । मेरो भैँसीलाई हिजोदेखि ज्वरो आइरहेको छ । त्यसैले देखाउन आएको थिएँ । हिउँदमा ब्याउने हो ।’ विद्यार्थीले पनि डिनलाई एकपटक भैँसी हेरिदिन भन्दछन् तर डिन मान्दैनन्, बरु वृद्ध किसानलाई कक्षाकोठाबाट बाहिर जान भन्छन् । डिन फेरि पढाउन थाल्छन् । यसपटक एकजना विद्यार्थी डिनसँग प्रश्न सोध्न हात उठाउँछन् । डिन ती विद्यार्थीको नजिकै पुग्छन् र कमिजका टाँक राम्ररी लगाउन भन्छन् । विद्यार्थी प्रश्न गर्छन्, ‘तपाईंले केही महिनादेखि लगातार घोडाका बारेमा पढाइराख्नुभएको छ । हामीलाई मङ्गोलियामा घोडा चराउन लैजाने हो कि क्या हो !’ उनको कुरा सुनेर सबै विद्यार्थी गलल्ल हाँस्छन् । उनी फेरि भन्छन्, ‘हाम्रो यहाँ घोडा नै पाइँदैन । यहाँ त भैँसी र सुँगुर पाइन्छ । तिनै भैँसी र सुँगुरका बारेमा पढाए हुँदैन ? यो पो महत्वपूर्ण हो ।’ त्यसपछि त्यहाँको पाठ्यक्रम नै परिवर्तन गरिएको थियो ।

२०२८ सालदेखि अहिलेसम्म जति पनि शिक्षा आयोगहरू बने ती आयोगहरूमा हामीकहाँ पढ्ने विद्यार्थी र पढाउने शिक्षक बस्न पाएका छैनन् । त्यसैले देशलाई चाहिने जनशक्ति र नेपालको आफ्नै विशेषताका आधारमा पाठ्क्रम बनाइनुपर्छ भन्ने यहाँ छैन । प्राकृतिक साधनस्रोत, भौगोलिक बनावट, हावापानी, वातावरण र यहाँ चाहिने जनशक्तिलाई हेक्का राखेर पाठ्यक्रममा कुनकुन विषय समावेश गर्ने भन्ने किटान गरिएको छैन । यसले सिङ्गो देशको विकास र आर्थिक असमानतालाई न्यूनीकरण गर्न मद्दत गर्नुपर्छ ।

उक्त चलचित्रमा कलेजमा परीक्षा सञ्चालन भइराख्दा विद्यार्थीेले लगाएको धानको बोटमा कीरा लागेको हुन्छ । ली चेन फेङ कलेजमा गएर विद्यार्थी र प्राध्यापकलाई धानमा लागेको कीराको उपचार गर्न आग्रह गर्छन् । १५ जना विद्यार्थी परीक्षा छाडेर उनीसँगै धानमा औषधि छर्किन जान्छन् । धान राम्रो फल्छ तर ती पन्ध्रजना विद्यार्थीलाई परीक्षा छाडेको निहुँ बनाएर कलेजबाट निष्कासन गरिन्छ । निर्देशक लिङले उनीहरूलाई तत्काल पुनर्बहाल गरिदिन्छन् । उनीहरूको परीक्षा पुनः लिइन्छ र उनीहरू नै उत्कृष्ठ विद्यार्थी ठहरिन्छन् । चलचित्रको अन्त्यमा ली साओ चीले समाजवादी सत्तामा लागू गरेको संशोधनवादको भण्डाफोर गर्दै समाजवादीकरणलाई निरन्तरता दिइएको देखाइएको छ ।

चलचित्रले दिएको सन्देश

यो चलचित्रले शिक्षामा पहुँच, शिक्षाको उत्पादन, पाठ्यक्रमभित्रको मुख्य पक्ष; शिक्षणविधि र मूल्याङ्कन विधिका बारेमा फरक दृष्टिकोण दिन्छ । यसमा एउटा नारा दिइएको हुन्छ– ‘आंशिक समय काम, आंशिक समय अध्ययन !’ यसले श्रमलाई शिक्षासँग जोड्ने, काम गर्दागर्दै सिक्ने र सिक्दासिक्दै काम गर्ने कुरालाई महत्व दिएको छ । आजको चीनको आर्थिक विकासको आधार यसै समयमा लागू गरिएको शिक्षाप्रणालीले बनाइदिएको हो । अमेरिकाका चर्चित समाजशास्त्री विलियम हिल्टनले चीनको शिक्षामा भएको क्रान्तिका बारेमा एउटा किताब लेखेका छन्– ‘हन्ड्रेड डे वार ।’ यस पुस्तकमा शिक्षामा सबैको पहुँच, तीव्र विकास, उत्पादनसँगको सम्बन्धका बारेमा राम्रो व्याख्या छ । त्यसताका चीनमा लागू गरिएको शिक्षाप्रणाली र त्यसको प्रयोग, जनतामा भएका पहुँच, उत्पादन र समग्र विकासको अध्ययन गरी डोङ पिङ हानले ‘अन नोन कल्चरल रेभोलुसन’ (unknown cultural revolution) नामको खोजपूर्ण किताब नै तयार पारेका छन् । यो चलचित्रले प्रस्तुत गरेको शिक्षासम्बन्धी अवधारणा र प्रयोगलाई यी दुईवटा पुस्तकले पनि पुष्टि गरेका छन् ।

अहिले नेपालमा कम्युनिस्ट पार्टीको नामको सरकार छ । यही सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा उच्चस्तरीय शिक्षा आयोग बनेर त्यसले प्रतिवेदन बुझाएको छ । तर त्यो प्रतिवेदनमा शिक्षासम्बन्धी पुरानै अवधारणा राखिएको छ । शिक्षामा साम्यवादी अवधारणाको कुरा त कता हो कता कुनै नयाँपन पनि दिन सकिएको छैन । २५ बर्से योजनासहित आएको उक्त प्रतिवेदनले नेपालको शिक्षालाई झनै पछाडि पार्नेछ । शिक्षामा रहेको विभेदलाई झनै बढाएर लैजानेछ । तसर्थ यसबाट कुनै आशा राख्न सकिँदैन । त्यसका लागि शिक्षामा नयाँ क्रान्तिको आवश्यकता छ ।

२०७५ फागुन १४ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :