राजनीतिक सत्ताको प्रश्न

माक्र्स–एङ्गेल्सले वैज्ञानिक समाजवादी सत्ताको अनुसन्धान गरिसकेपछि पत्ता लाग्यो– हरेक राजनीतिक विचारको केन्द्रमा राज्यसत्ता हुन्छ । सत्ताबिना राजनीतिको अस्तित्व नै पाउन सकिँदैन । वैज्ञानिक समाजवादी सत्ताबाहेक आजसम्म चलेका सबै सत्ता मानवजातिमाथि केवल शोषण, उत्पीडन र दमन गर्नका लागि खडा गरिएका साधन मात्र हुन् । पुँजीवादी राज्यसत्ता मानवजातिमाथि लादिएको उत्पीडनको साधन र दुनियाँको अन्तिम व्यवस्था हो । पुँजीवादी सत्तालाई पल्टाउनु र वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापना गर्नु र सत्ताद्वारा सर्वहारावर्गको अधिनायकत्व प्रयोगसहित राज्यसत्ताको विलोपीकरण गर्दै साम्यवादतर्फ अगाडि बढ्नु कम्युनिस्टको आधारभूत राजनीतिक सिद्धान्त र दृष्टिकोण हो । माक्र्सवादी–लेनिनवादी–माओवादी सत्तासम्बन्धी यो विचारलाई विश्वभरिका कम्युनिस्टहरूले निर्विवाद रूपले अनुसरण र कार्यान्वयन गर्दै आएका छन् ।

परन्तु नाममा कम्युनिस्ट तर व्यवहारमा सुधारवादी–संसद्वादी बन्न पुगेका संशोधनवादीले मात्र यो विचारलाई संशोधन गर्दै वैज्ञानिक समाजवाद–साम्यवादलाई संसद्वादी–पुँजीवादी व्यवस्थाको पुच्छरवादमा वा उसको सहयोगी राजनीतिमा झार्ने कार्य गरिरहेका छन् । यो समस्या पछिल्लो समयमा प्रचण्ड–बाबुरामको दृष्टिकोणमा अक्षम्य रूपले देखापरेको छ ।

समाज निर्माणको मुख्य साँचो राज्यसत्तामा अन्तर्निहित हुन्छ । यसबारे स्पष्ट गर्दै माक्र्सले भन्नुभयो, ‘खासगरी कम्युनले के साबित गरिसकेको छ भने मजदुरवर्गले राज्यसत्ताको बनिबनाउ यन्त्रलाई कब्जा गरेर आफ्नो निजी उद्देश्यपूर्तिका लागि जस्ताको तस्तै त्यसको उपयोग गर्न सक्दैन ।’
(माक्र्स–एङ्गेल्स, पेरिस कम्युन, २४ जुन १८७२, सन् १८७२ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रको जर्मन संस्करणको भूमिकाबाट, पृ. ३४४) ।

त्यसैलाई थप पुष्टि गर्दै लेनिनले भन्नुभयो, ‘क्रान्तिको प्रमुख काम राज्यसत्ताको समाधान गर्नु हो ।’ उहाँले राज्यको चरित्रबारे थप स्पष्ट गर्दै भन्नुभयो, ‘राज्य एक वर्गद्वारा अर्को वर्गलाई उत्पीडन गर्ने यन्त्र हो । अन्य मातहत वर्गहरूलाई एक वर्गको आज्ञाकारी बनाइराख्ने यन्त्र हो ।’
(लेनिन सङ्कलित रचना, हिन्दी संस्करण, खण्ड ९, राज्यको बारेमा, पृ. ८५) ।

‘सारा इतिहास उत्पीडनको जुवा उतारेर फ्याँक्नका लागि उत्पीडितवर्गहरूको अविरल प्रयत्नहरूद्वारा भरिएको छ । दासताको इतिहास दासताबाट मुक्तिका लागि कैयौँ दशकहरूसम्म चल्नेवाला युद्धहरू साक्षी छ ।’
(लेनिन सङ्कलित रचना, हिन्दी संस्करण, खण्ड ९, राज्यको बारेमा, पृ. ८६) ।
त्यसैगरी माओले भन्नुभयो, ‘शस्त्रबलद्वारा सत्ता छिन्नु, युद्धद्वारा समस्याको समाधान गर्नु, क्रान्तिको केन्द्रीय कार्य साथै सर्वोच्च रूप हो ।’
(युद्ध र रणनीतिक समस्याहरू, सङ्कलित रचना २, पृ. २२४) ।

उहाँहरूले संश्लेषण गर्नुभएका यी विचारले प्रस्ट गर्छ– कम्युनिस्टहरूले सत्ताको विषयलाई मुख्य बनाएर मात्र आजको पुँजीवादी दुनियाँलाई समाधान गर्न सकिन्छ । माक्र्स–एङ्गेल्सको निधनपछि बर्नस्टिनले माक्र्सको सत्ता प्रधान दृष्टिकोणलाई संशोधन गर्ने प्रयत्न गरे र उनले ‘सत्ता मुख्य होइन, आर्थिक सुधार मुख्य हो’ भन्ने दृष्टिकोण अगाडि सारे । यसले मजदुरवर्ग र क्रान्तिकारी आन्दोलनमा भ्रम पैदा गर्न खोज्यो । यही विचारबाट मजदुर आन्दोलनमा केही नेता पनि पैदा भए । उनीहरूले सत्ताको लक्ष्यलाई त्यागेर पुँजीपतिवर्गसँग मिलेर सरकार चलाउने र सुविधा लिनेमा पुगे । यसखालको प्रवृत्तिलाई तीखो प्रहार गर्दै लेनिनले भन्नुभयो, ‘राजनीतिको क्षेत्रमा संशोधनवादले माक्र्सवादको आधार, यो वर्गसङ्घर्षको शिक्षामा संशोधन गर्ने सचमुच प्रयत्न ग¥यो । हामीसँग भने कि राजनीतिक स्वतन्त्रता, जनवाद र सार्विक मताधिकार वर्गसङ्घर्षको आधारलाई निस्तेज (कमजोर) गरिदिन्छ, साथै ‘कम्युनिस्ट घोषणपत्र’ को यस पुरानो प्रस्तावनालाई गलत बनाइदिन्छ कि मजदुरहरूको कार्य पितृदेश हुँदैन । जब कि जनवादमा ‘बहुसङ्ख्याको इच्छा’ प्रभुत्वशाली हुन्छ । यसकारणले राज्यलाई वर्गीय प्रभुत्वको उपकरणका रूपमा हेर्नु हुँदैन । साथै प्रतिगामीहरूको विरुद्ध प्रगतिशील, सामाजिक–सुधारवादी बुर्जुवावर्गको साथ गठजोडबाट इन्कार गर्नु हँुदैन ।’
(लेनिन सङ्कलित रचना, हिन्दी संस्करण, भाग ३, माक्र्सवाद र संशोधनवाद, पृ. ३८०) ।

उहाँले यसरी सोच्ने सुधारवादी पुँजीवादका विरुद्धमा वैज्ञानिक समाजवादी सत्ताको कार्यक्रमलाई अगाडि सार्नुभयो र क्रान्ति सङ्गठित गर्नुभयो । लेनिनको नेतृत्वमा महान् अक्टोबर क्रान्ति सफल भएर वैज्ञानिक समाजवादी सत्ता स्थापना भएपछि श्रमिक वर्गीय आन्दोलनमा संशोधनवादी धारा परास्त हुन पुग्यो र वैज्ञानिक समाजवादी सत्ताको धारा सशक्त प्रकारले हाबी हुन पुग्यो ।

लेनिन–स्टालिनको निधनपछि वैज्ञानिक समाजवादी सत्तासम्बन्धी दृष्टिकोणमा पुनः संशोधनवाद उठ्न पुग्यो । रुसको खु्रस्चोभले तीन ‘स’ को घोर संशोधनवादी धारणा अगाडि सार्दै वैज्ञानिक समाजवादी सत्ताको मूल गुणलाई समाप्त पार्न खोज्यो । यो संशोधनवाद बर्नस्टिनको संशोधनवादभन्दा पनि खतरनाक र हानिकारक थियो । बर्नस्टिनवाद आन्दोलनमा थियो भने खु्रस्चोभ सत्तालाई कब्जा गर्न सफल भएको थियो । खु्रस्चोभले सत्ताको दुरुपयोग गर्दै संशोधनवादलाई जन्म दिन पुगेकोले विश्व कम्युनिस्ट आन्दोलनमा यसले निकै ठूलो क्षति पु¥यायो तर कमरेड माओले ख्रुस्चोभी संशोधनवाद र त्यसले पैदा गरेको भ्रमविरुद्ध जोडदार सङ्घर्ष गर्नुभयो । उहाँले खुस्चोभी संशोधनवादलाई ‘खु्रस्चोभको संशोधनवादले एक दिन सोभियत सङ्घलाई ठूलो क्षति पु¥याउनेछ’ भन्दै नाङ्गेझार पार्नुभयो । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले भन्यो, ‘सोभियत संशोधनवादी खु्रस्चोभ गुटले सोभियत जनताका समाजवादी उपलब्धिहरूलाई हानि पु¥याइरहेको छ तथा साम्यवादतिर अभियान सञ्चालन गर्ने उनीहरूको अधिकारको अपहरण गरिरहेको छ । ती परिस्थितिहरूमा सोभियत जनताका अगाडिको प्रश्न साम्यवादको निर्माण कसरी गर्ने हो भन्ने प्रश्न होइन, पुँजीवादको पुनस्र्थापनाका लागि खु्रस्चोभद्वारा गरिएका प्रयत्नहरूको प्रतिरोध र विरोध कसरी गर्ने हो भन्ने प्रश्न हो ।’
(महान् बहस, खु्रस्चोभको नक्कली साम्यवाद, पृ. २८८) ।
महान् समाजवादी देश सोभियत सङ्घको समृद्धि र शक्तिको जगमा उभिन पुगेको गद्दार खु्रस्चोभको संशोधनवादलाई लेनिनले बर्नस्टिनलाई पराजित गरेको स्तरमा असफल पार्न नसके पनि संशोधनवादले कम्युनिस्ट आन्दोलनलाई पूर्ण रूपले नियन्त्रण गर्न खोजेको चाललाई कमरेड माओले असफल पारिदिनुभयो र विश्वमा माक्र्सवादी–लेनिनवादी विचारलाई रक्षा र विकास गर्न सफल हुनुभयो । उहाँको नेतृत्वमा विश्वभरि क्रान्तिकारी कम्युनिस्टहरूले क्रान्तिको महान् यात्रालाई अगाडि बढाउनुभयो ।

नेपालमा राज्यसत्तासम्बन्धी बहस कम्युनिस्ट आन्दोलनमा निरन्तर चल्यो । संस्थापक नेता पुष्पलालले सर्वहारावर्ग, किसान–मजदुर वर्गीय सत्ताको पक्षमा वैचारिक, राजनीतिक सङ्घर्ष गर्नुभयो । पुष्पलालपछि सत्ता सम्बन्धमा पुरानो पिँढीका मोहनविक्रम, कृष्णदास, किरण, रोहितजस्ता नेताहरूले माक्र्सवादी–लेनिनवादी धारणालाई प्रस्तुत गर्ने कार्य गरे तर केही नेताहरूमा भने बर्नस्टिनवादी–खुस्चोभवादी विचलन देखापरे । त्यसमा सबैभन्दा भद्दा विचलन केशरजङ्ग रायमाझी, तुलसीलाल र एमालेमा देखियो । त्यसमा पनि झापा विद्रोहको समयमा अरू सबै कम्युनिस्ट नेता र पार्टी (कमरेड पुष्पलाल) लाई दक्षिणपन्थी, संशोधनवादी, अवसरवादी भन्न पुगेको पूर्वमाले पछि एमालेभित्र अतुलनीय विचलन देखाप¥यो । २०४६ पछि त यो बहुदलीय जनवादी कार्यक्रम पारित गरेर पुँजीवादमा विलीन हुन पुग्यो । क्रान्ति र सत्ताको सन्दर्भमा यसैखालको विचलन रूपलाल विश्वकर्माको आन्दोलन पनि देखाप¥यो । उनले पनि प्रायः कम्युनिस्ट पार्टीहरूलाई अवसरवादी र संशोधनवादी भन्दै जुगेडी, जुटपानी किसान सङ्घर्ष सञ्चालन गरेका थिए तर पछि कति विचलित भए भने कम्युनिस्ट आन्दोलनबाटै पतन भएर नेपाली काङ्ग्रेसमा प्रवेश गर्न पुगे । आज आएर इतिहासका यी सबै विचलन र पतनलाई माथ गर्दै प्रचण्ड–बाबुराममा अक्षम्य विचलन र विघटन देखापरेको छ ।
क्रमशः

२०७५ फागुन १३ गते सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :