ओली–प्रचण्ड सरकारका दिनगन्ती सुरु

सर्वसाधारण नेपाली जनताको छोरो राजनीतिमा लागेर प्रधानमन्त्रीजस्तो गरिमामय पदमा पुग्नु खुसीको कुरा हो तर असल र कुशल नदेखिनु दुर्भाग्य बन्न जान्छ । प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेपाल सरकारको एकबर्से कार्यकालको मूल्याकंन गर्ने हो भने राजनीति इच्छाशक्ति र दृढता देश, काल, परिस्थिति, नेपाली हावा, पानी र माटो सुहाउँदो हुन सकेन । कुकुरले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले कुकुर हल्लाउने प्रकृति नै देखियो । विदेशी दलाल, उपभोक्तामारा पुँजीपति र भ्रष्टाचारी नेता एवम् कर्मचारीको कब्जामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था पर्न पुग्यो । वर्तमान व्यवस्था र सरकारको गतिविधिलाई नजिकबाट नियाल्ने हो भने राजनीतिक अराजकता, अस्थिरता, भ्रष्टाचार र ढिलासुस्तीशिवाय सकारात्मक उपलब्धि दिन नसक्ने देखियो । नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानको रक्षा हुन सकेन । छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूले नेपालमाथि आफ्नो स्वार्थ र चलखेल लाद्ने अवसर पाएर पनि ओली सरकार र नेकपाप्रति विश्वस्त छैनन् । संसद्मा दुईतिहाइ बहुमतको ओली सरकार आफूलाई जति शक्तिशाली ठान्छ तर उसको भित्री स्वरूप र बनोट अत्यन्त कमजोर छ । यसको कारण ओली सरकारले यथार्थको धरातललाई भुल्दै गइरहेको छ । तानाशाही व्यवस्था लाद्ने बाटो रोज्दैछ । यो नै ओली एन्ड दहाल कम्पनी सरकार र उनीहरूले अध्यक्षता गरेको सरकारी नेपाल कम्युनिस्ट पार्टीको छिटो पतनको अवस्था हो ।

जनताको आशा र भरोसा नभएको ओली सरकार खडा भएको छ । खाद्यान्न विदेशबाट आयात गरेर आपूर्ति व्यवस्था मिलाउने, युवाशक्ति बिदेसिएकोमा रोक्न नसक्ने तर जताततै सीसीटीभी क्यामेरा जडान गराएर आधुनिकताको परिचय दिन खोज्ने ओली सरकारको आयु अब चाहेर पनि धेरै दिनको हुन सक्दैन । किसान, मजदुर, युवा, विद्यार्थी, महिला, कर्मचारी, उपभोक्ता, साना व्यापारी, कलाकार, मध्यमवर्गीय जनता आआफ्ना माग लिएर सडक सङ्घर्षमा धमाधम उत्रिरहेका छन् । उनीहरूमाथि प्रहरी दमन गर्नुबाहेक सरकारसँग अर्को उपाय छैन । भनिन्छ जहाँ दुस्मन, त्यहाँ जनविस्फोट । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्पूर्ण जनताको असन्तुष्टि र आक्रोशको नेतृत्व लिएर नयाँ परिस्थिति खडा गरेर नयाँ जनमुखी व्यवस्था विकल्पका रूपमा दिन सक्षम हुँदै गएको छ । देशभर जारी एकीकृत जनक्रान्तिलाई नेपाली जनताको बढ्दो सहयोग र समर्थन देखिएको छ । पानीजहाज र रेलको विकासभन्दा आम भोका, नाङ्गा, बिहानबेलुकीको छाक टार्न धौधौ भएका लाखौँलाख जनता, महँगीको मारमा परेका उपभोक्ता, बिदेसिएका युवाहरूको रोजगारी समस्याका बारेमा ध्यान केन्द्रित गर्ने बेला हो अहिले । विदेशी स्वार्थमा आधारित ऋण र अनुदानबाट गरिएको भौतिक विकास अनि व्यापक भ्रष्टाचारले कालान्तरमा हस्तक्षेपकारी समस्या निम्त्याउँछ । ‘ऋणम् कृत्वा घृतम् पिवेत्’ (ऋण गरेर भए पनि घिउ खाऊ) र घाँटी हेरी हाड ननिल्ने नीति, आर्थिक मितव्ययिता नअपनाउने नीति ओली सरकारको देखियो । यो राष्ट्रका लागि अति प्रत्युत्पादक साबित हुनेछ । विकास खर्च कटौती गरेर साधारण खर्च गर्नुपर्ने बाध्यताले आर्थिक उन्नति होइन, आर्थिक टाटपल्टाइको अवस्था अवश्य निम्त्याउँछ । जसरी पनि शासन व्यवस्था टिकाउने भन्ने ओली सरकारको बुझाइ अत्यन्तै खतरनाक छ । यो नै ओली सरकार, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक भ्रष्ट, दलाल पुँजीपति संसदीय व्यवस्थाको पतनको दिशा हो । वैज्ञानिक सिद्धान्त, नीति, विचार, कार्यक्रम र योजना नभएको हचुवा र लहडको भरमा देश र जनता हाँक्ने ओली सरकारको अठोट एउटा दुस्साहस मात्र हो ।

मानवीय समस्या र राष्ट्रिय संवेदनशीलताप्रति खेलबाड गरिरहेको ओली सरकारले जनतालाई सास्ती, अशान्ति, असन्तुष्टिशिवाय केही दिन सक्दैन । परिवर्तनको परिणाम हात लाग्यो शून्य भएकाले अब शून्यबाट नै राजनीति सुरुआत हुन जरुरी छ । केपी सरकार पक्षधर एकातिर र विद्रोही जनताहरू अर्कोतिर रहेर नयाँ विकल्पका लागि सङ्घर्ष गर्नु अनिवार्य छ । होइन भने केही पचिराखेको नेपाल र नेपालीको शाख र अस्तित्व पनि समाप्त हुनेछ । सरकारको आकृतिविहीन परराष्ट्रनीतिले ओली सरकार घेराबन्दीमा परेको छ । दुईतिहाइ बहुमतको नामधारी कम्युनिस्टहरूको सरकार नेपाली जनताको भरोसाको केन्द्र बन्न नसक्नुको एउटै कारण दलाल पुँजीवादको संरक्षण र सेना नै हो । ओलीले वास्तविक सूचकाङ्क र तत्याङ्कलाई मिथ्याङ्कमा परिणत गराउँदै आएका छन् । भनिन्छ बहुमतको संसदीय व्यवस्थामा अपार शक्ति हुन्छ अरे । उसले चाह्यो भने लोग्ने मानिसलाई महिला पनि बनाउन सक्छ अरे । संसदीय व्यवस्थालाई ‘बोकाको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने धलो हो’ भन्नेहरू आज शासनसत्तामा पसेर शक्तिको दुरुपयोग गरेर जनतालाई सास्ती, आफूलाई मस्ती गरिरहेका छन् । समाजवादप्रति प्रतिबद्धता रहेको भनिएको संविधानद्वारा निर्देशित ओली सरकारको पालामा धनी र गरिबबीचको खाडल अति ठूलो बन्दै गएको छ । महँगी बेरोजगारी, श्रमिक जनताको शोषणले दैनिक जीवन कष्ट साध्य बनेको छ । एकैसाथ आमजनताको आयस्तर वृद्धि हुने जनमुखी व्यवस्थाको ठाउँमा निर्देशन र आदेशमुखी व्यवस्था चल्दैन । व्यापक शोषण र बर्बर दमन गर्ने ओलीमुखी शासन व्यवस्थाले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा कसरी सार्थक बनाउन सक्छ । जनताको विरोध र आलोचनालाई सहन नसक्ने र आवश्यक सुधार पनि नगर्ने ओली सरकारको चरित्र नेपाली जनताको आँसुमा राक्षसी हाँसो गर्ने जस्तो छ । पुलिस र सेनाको शरणमा बढाउने तर अपराध र असुरक्षा पनि पढ्दै जाने वर्तमान उदेकलाग्दो अवस्थाले सिङ्गो नेपाली समाजलाई नै जर्जर बनाएको छ । सम्पूर्ण देशभक्त नेपाली राष्ट्रका सिपाही हुन् । चेतनशील नागरिक, देशभक्त नागरिकहरूबाट मात्र देश र समाजको रक्षा हुन्छ । भ्रष्टाचारको पहाड जताततै देखिन्छ । नियन्त्रण र कारबाही भएको कतै देखिँदैन । नीतिगत भ्रष्टाचार, संस्थागत भ्रष्टाचारले देशलाई कमजोर र असफल बनाइसकेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचारको पर्याय बनिसकेको छ । भ्रष्टाचारमा पूरै राजनीति र कर्मचारीतन्त्र मुछिएको छ । यो हुनुमा प्रमुख दोषी ओली सरकार नै छ । त्यसकारण ओली सरकारले आलोचनासहित व्यङ्ग्यात्मक शैलीमा कलाकार पशुपति शर्माले गाएको ‘लुट्न सके लूट कान्छा, लुट्न सके लूट’ वर्तमान यथार्थमा आधारित गीतलाई प्रतिबन्ध गरेर ठूलो बहादुरी देखाएको छ । भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण गर्ने जनकलाकार, जनसञ्चारकर्मीलाई ‘बाँदरलाई लखेटेझैँ लखेट्ने’ ओली सरकारको प्रवृत्ति निन्दित र घृणित देखियो । इमानदारीले जितेमा कसैले हराउन सक्दैन । बेइमानहरूले सधैँ हारेका हुन्छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मर्ज र फ्युजन भएर बनेको सरकारी नेकपा र दुईतिहाइ बहुमतको सरकारको आडम्बर, ढोङ र पथभ्रष्ट देखेर नेपाली शोषित, उत्पीडित, गरिब, बेरोजगार जनताहरू वाक्कदिक्क भइसकेका छन् । ओली सरकार र प्रशासनमा रहेका व्यक्तिहरूको नैतिकता, चरित्र, कार्यशैली, व्यवहार, जिम्मेवारीका बारेमा बोल्न, लेख्न, आलोचना गर्न चेतनशील, चिन्तनशील, इमानदार, बुद्धिजीवी, राष्ट्रवादी नेपाली जनता, मिडियाले कुनै कसुर बाँकी राखेका छै्रनन् तर पनि सरकार सुध्रिने कुनै लक्षण र सङ्केत छैन । भ्रष्टाचार र बेइमानीको आहालमा डुबिसकेका, बिग्रिएका कम्युनिस्ट नेता, कार्यकर्ता अब र ‘गधालाई नुहाएर गाई’ बनाउन सक्ने अवस्थामा छैनन् । देश बदल्छु भनेर सङ्घर्षको नेतृत्व गर्दै आएका प्रचण्ड, ओलीलगायत नेताहरू यसरी बिग्रिएलान् भनेर सोचिएको थिएन तर विडम्बना बन्न पुग्यो । कम्युनिस्ट नेताहरूले जनताको आँखामा नराम्रोसँग छारो हानेर दलाल पुँजीवादको रक्षक बन्न पुगे । यो नै उनीहरूले रोजेको महापतनको बाटो हो । यतिखेर विकृत पुँजीवाद व्यवहार र गैरसर्वहारावादी संस्कारमा रमाएर नाचिरहेका त्यस्ता चरित्रका नेता–कार्यकर्ताले भोलिका दिन प्रायश्चित गर्छु भन्दा पनि पाउँदैनन् । उनीहरूले पश्चातापको बाध्यात्मक जीवन बिताउनुपर्ने हुन्छ । देश र जनता बर्बाद हुँदै गइरहेकोमा, आफूले धोका दिएकोमा कुनै चिन्ता छैन बरु अहम्वादी, व्यक्तिवादी मात्र होइन, हैकमवादी बनिरहेका छन् ।

वर्तमान देशको अवस्था गरिखाने, हुँदा खानेको अवनति र हुनेखाने, ठगी खानेहरूको उन्नति हुँदै गइरहेको छ । देशको शासन व्यवस्था घडीको उल्टो सुई घुमाइमा छ । कथित कम्युनिस्ट नेता, कार्यकर्ताको दृष्टिदोष भए पनि पीडित नेपालीहरूले सरकारको कुकृत्य औँल्याइरहेका छन् । सामाजिक फासिवादी ओली र उसको सरकार अनि पार्टी सङ्कटमा परिसकेको छ ।

२०७५ फागुन १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :