रुकुममा गाउँका गाउँ नेकपामा प्रवेश

सल्यान : नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान रुकुममा तीव्र रुपमा अघि बढेको जानकारी प्राप्त भएको छ । अभियानअन्तर्गत पश्चिम रुकुमको सानोभेरी गाउँपालिकाको केन्द्रमा पर्ने पेदीबजारमा शुक्रबार जनसभा सम्पन्न भएको छ । जनसभालाई नेकपाका केन्द्रीय सदस्य मिलन र जनमुक्ति सेनाका पूर्वबिग्रेड कमान्डर शिशिरले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा नेता मिलनले अहिलेको सरकारले जनतालाई जबरजस्ती युद्वमा धकेल्न खोजेको बताए । आफूहरुले त्यसको डटेर सामना गर्ने उनले बताए । उनले भने, “अहिलेको सरकारले भ्रष्टाचारी, दलाल, राष्ट्रघाती र अपराधीहरुलाई संरक्षण गरिरहेको छ । हामीले त्यसको विरोध गर्दा सरकारले दमन गरेर युद्धतिर धकेल्न खोजिरहेको छ ।’

उनले वर्तमान सरकार काण्डैकाण्डमा संलग्न भएको बताए । उनले भने, “सरकारसुनकाण्ड, घूसकाण्ड, निर्मलाकाण्ड, ठेकापट्टाकाण्ड, एनसेललगायत थुप्रै काण्डमा सामेल छ ।”
नेकपाका सानोभेरी सेक्रेटरी विष्णु ओलीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज मोतीराम खड्काले गरेका थिए । कार्यक्रममा सिस्ने जनसांस्कृतिक परिवारले जनवादी गीतसङ्गीत प्रस्तुत गरेको थियो ।

यसैबीच नेकपाले आठबीसकोट नगरपालिका ३ जलिघाडमा विजय शाहीको अध्यक्षतामा युवा सङ्गठनको ९ सदस्यीय एकाइ समिति गठन गरेको छ । उक्त स्थानमा मानबहादुर बस्नेत अध्यक्ष रहेको ९ सदस्यीय किसान सङ्गठन, सङ्गीता बस्नेत अध्यक्ष रहेको ११ सदस्यीय महिला सङ्गठनको एकाइ समिति पनि गठन भएको जानकारी अभियानकर्मीले दिएका छन् । यस्तै वडा नम्बर ६ होलीमा चित्र शर्मा संयोजक रहेको ५ सदस्यीय युवा सङ्गठनको एकाइ समिति पनि गठन गरिएको नेकपा पश्चिम रुकुमले जनाएको छ । यहाँ अमृत खत्री संयोजक रहेको ५ सदस्यीय किसान सङ्गठन, शिला बिष्ट संयोजक रहेको ५ सदस्यीय महिला सङ्गठनको पनि समिति गठन भएको छ । ६ नम्बर वडाको दमाचौरमा नन्दकुमारी विकको अध्यक्षतामा ९ सदस्यीय महिला एकाइ समिति पनि बनाइएको छ ।

यसैगरी चैरजहारी नगरपालिका ६ घर्तीडाँडामा सुन्दर सेक्रेटरी रहेको ९ सदस्यीय पार्टी सेल समिति बनाइएको छ । यहाँ सीता महतरा संयोजक रहेको ७ सदस्यीय महिला सङ्गठनको एकाइ समिति, छवि बोहराको संयोजकत्वमा १३ सदस्यीय युवा सङ्गठन, उमा विकको अध्यक्षतामा ९ सदस्यीय महिला सङ्गठन, गणेश विकको अध्यक्षतामा ७ सदस्यीय युवा सङ्गठन बनाइएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिका ४ कालीमाटीमा सुरेन्द्र खड्का अध्यक्ष रहेको ७ सदस्यीय युवा सङ्गठनको एकाइ समिति पनि बनाइएको छ । यहाँ दलबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय युवा सङ्गठनको खुम्तेरी एकाइ समिति र महेश विकको अध्यक्षतामा युवा सङ्गठनको ११ सदस्यीय एकाइ समिति पनि बनाइएको छ ।

२०७५ फागुन ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :