प्रचण्डको पतनः कांग्रेस–माके गठबन्धन – विप्लव, महासचिव, नेकपा

biplav

२०७४ जेठ २३ गते बीआईसीसी भवनको राजनैतिक मंचमा एउटा यस्तो भद्दा र कुरुप नाटक मंचन भयो जसले त्यसका छदमभेषी, धुर्त पात्रहरुलाई पर्दाफास गर्यो । नेपाली राजनीतिक क्रान्तिका खलनायकहरुको हुलबाट उठे जसरी नौटकीको शैलीमा प्रचण्ड उठेर अर्को खलनायक जानेमानेका वदनामी पात्र शेरबहादुरलाई राज्यको नेतृत्व हस्तान्तरण गरे । आपसमा ठूलै युद्ध जिते जस्तो काँध मिलाउँदै तुच्छ खालको ढोङ् प्रदर्शन गरे । नेपालमा संसदीय व्यवस्था (लोकतन्त्र)ले जित्नु पर्छ, हामीले हारेर केही हुँदैन भन्दै सत्ता मिलिभगत्को डकार निकाले । श्रमिकहरुको नजरमा उनीहरुले नेपाली जनताका सपना र आकाँक्षामाथि तरबार हान्ने घोर प्रतिक्रियावादी गठजोड गरे ।

बुर्जुवा पुँजीवादीहरु, दलाल कठपुतलीहरु, आत्मसमर्पणवादी, अवसरवादी, धोकेवाजहरुको एउटा आम चरित्र हुन्छ, आफू सत्तामा नहुँदा सवै कुरा विग्रेको देख्ने; जनताले दुःख पाएको र देशले संकट खेपेको देख्ने; मित्रहरुलाई पनि दुश्मन भन्दै अनेकौं लाञ्छाना थोपर्ने; मौकापरे ज्यानलिनसमेत पछि नपर्ने तर जव सत्ताको स्वाद चाट्न पाइन्छ; सत्ताको मजामा भागवन्डा मिल्छ र भोगविलास चल्छ तव सबै कुरा मिलेको, जनताले अधिकार पाउने जति पाइसकेको; देश उन्नतितिर वढ्न थालेको ; आफूहरुले नै सुसस्कृतिको थालनी गरेको देख्ने । जव उनीहरुको स्वार्थ मिल्छ तव साँझसम्म दुशमन मानेकोलाई पनि रात पर्न नपाउँदै घनिष्ट मित्रको पगरी गुथाएर, राजनेता र अनुभवि साथीको रङ्ग भर्दै काँधमा हालेर ताण्डव नृत्य गर्ने । यस्तै कुरुप र निकृष्ट हर्कत प्रचण्ड र शेरवहादुरहरुले जेठ २३ गते प्रदर्शन गरे । यस्तो चरित्रलाई लेनिनले “ लफ्फाजी,झुट, उदारतावादी तथा आमूलवादी खेमाका राजनीतिज्ञको आत्मप्रवंचना, धूर्ततापूर्ण तिकडमबाजी”(लेनिन,हिन्दी भाग ६ दूर देशबाट पत्र, पेज २६३) वताउनु भएको थियो ।

केही पहिले, धेरै पनि होइन त्यस्तै ८ वर्ष पहिलेसम्म प्रचण्डको विश्लेषण र निस्कर्षमा शेरबहादुर घनघोर प्रतिक्रियावादी, संसदीय व्यवस्था र सत्ताको मालिक, अमेरिकी साम्राज्यवाद र भारतीय ‘विस्तारवाद’( साम्रज्यवाद)को दलाल, ज्ञानेन्द्रको ‘नोकर’,हत्यारा र प्रमुख दुश्मन थिए(सायद राजनैतिक प्रतिवेदनमा अहिले पनि यो निस्कर्ष फेरी सकेको छैन ) । कांग्रेस प्रमुख दुश्मन थियो भने उनीहरुका नेताहरु क्रान्तिका निशानामा थिए । जनयुद्ध र नेपाली क्रान्तिको प्रमुख उद्देश्य नै संसदीय सत्ता र शेरबहादुरहरुको अधिनायकत्वलाई समाप्त गर्नु थियो । ठिक त्यसैगरी शेरबहादुरको विश्लेषण र निस्कर्षमा प्रचण्ड एक उग्रवादी, हिंसावादी, हत्यारा, आतंककारी थिए । उनको मुख्य दायित्व नै देशलाई माओवादी आतंककारीहरुलाई दमन गरेर समाप्त गर्नु थियो । त्यसैको लागि उनले माओवादीहरु (प्रचण्ड सहित)को टाउकाको मूल्य तोक्ने, संसदबाट आतंककारी कानुन निर्माण गर्ने, संकटकाल लागु गरेर देशलाई नै युद्ध भूमिमा वदल्ने, विदेशबाट अरबौंको अध्याधुनिक हतियार खरिद गर्ने कार्य गरेका थिए । प्रचण्डले कांग्रेसलाई छोडौं एमालेलाईसमेत प्रतिक्रियावादी घोषणा गरेका थिए भने मसाललाई प्रतिक्रियावादी उन्मुख भएको । देशको राज्य सत्तामा खास परिवर्तन आएको छैन् तर आज ती सव विश्लेषण, निस्कर्ष प्रचण्ड र उनको मण्डलीका लागि प्रतिक्रियावादी संसदीय व्यवस्थाको गद्दि चढने (जुन गद्दि ९ हजार क्रान्तिकारी योद्धाहरुको रगतले मुछिएको छ र लाखाँै नेपाली जनताको विचल्लीको क्रन्दनले छोपिएको छ), सत्ताको तर् मार्ने, मोजमस्ति उडाउने भन्दा एक रत्ति माथि भएनन् । विडंवना भनौं प्रचण्डले नै जनयुद्ध र नेपाली क्रान्तिका मूल्यहरुलाई रछ्यानमा मिल्काउदै प्रतिक्रियावादी संसदीय व्यवस्थाको प्रधानमन्त्रीमा शेरबहादुरलाई प्रस्ताव गरेको सुन्नु र हेर्नु पर्यो । वडो नैतिकवान र सहमतिको सच्चा पालक भएको प्रशंसा सुन्नु पर्यो । उनको भनाईमा यो त्यसै भएको छैन् र केही समयको लागि मात्र भएको छैन् । उनको योे कुरा माओवादी नेता, कार्यकर्ता, जनयुद्ध लडेका जनता र मुक्ति खोज्ने जनताको लागि त कुरै नगरौं सामान्य शुभचिन्तक र समर्थकलाई पनि पचाउन मुश्किल पर्यो ।SHER WITH PRACHANDA

कांग्रेस–माके गठबन्धन देखेपछि एकथरी मान्छेहरु खुव रमाएको पाइयो । उनीहरुले आ—आफ्ना ‘माइक’बाट यो गठबन्धन निकास र शान्तिका लागि सही भएको प्रचार गरे । प्रचार मात्र गरेनन् कि निकै रङ् पोतेर प्रशंसा गरे । यो प्रशंसाको साँध लगाउनेमा केही राजनैतिक विश्लेषक, पुँजीपति, प्रशासक, कुटनीतिज्ञ रहेका छन् । एकजान कांग्रेस पत्रकारले त प्रचण्डले जीवनमा गरेको सवै भन्दा राम्रो काम नै यत्ति हो भनेर टिप्पणी गरे । यसरी रमाउने र पशंसा वर्षाउनेमा दलाल, सुदखोर, भ्रष्ट, तस्कर, कामचोरहरु बढिछन् । यी तत्वहरुलाई देश र जनताको हितअहितको कुनै सरोकार छैन् । वस केवल कांग्रेस–माकेहरुको सत्ता गठबन्धनबाट सत्ता र सरकारको ढुकुटी आफ्नो अनुकूल कुम्ल्याउन साथै कुर्चीको मोजमस्ती उडाउन पाइन्छ कि भन्ने चासो मात्र छ । यो तत्व कांग्रेसमा पहिलेदेखि नै हावि थियो । यसले माकेलाई पनि टुप्पीसम्म दलालीकरण र भ्रष्टीकरणमा डुवाउन पाएकोमा मस्त छ । यसले सायद यो गठबन्धन सफल हुनुमा आफ्नो कानफुकाई, काननिमोठाई, रसपान र मन्त्रणा सफल भएको घमण्ड गरिरहेको होला ! जो वास्तवमै दुःखान्त छ । हाम्रो विश्लेषणमा यो गठबन्धन नेपाली राजनीतिको सवै भन्दा भद्दा, निकृष्ट, अनैतिक गठबन्धन हो । यो नेपाली राजनीतिमा प्रदर्शित जनविरोधी एवं आत्मसमर्पणवादी गठवन्धन हो । दलाल पुँजीवादी सत्ता टिकाउने भ्रष्ट, नैतिकहराम, ढोगीहरुको गठजोड हो । यसमा खासगरी प्रचण्डको विचारको लिलामी, जनता र देशप्रतिको गद्धारी, शहीद, वेपत्ता, घाइतेप्रतिको घात, क्रान्तिको व्यापार पोखिएको छ । प्रचण्डबाट माक्र्सवाद, लेनिनवाद, माओवाद, वैज्ञानिक समाजवाद, अन्तर्राष्ट्रिय सर्वहारावाद, नेपाली क्रान्तिका सवै मूल्यहरुलाई सम्पूर्णरुपले लत्याइएको छ । २३ गतेको वोलाइमा हारेको जुवाडेले जसरी प्रचण्डले गरेको रोदन हेर्नेलाई पनि लाज लाग्ने खालको थियो ।

प्रचण्डले त संसदीय व्यवस्था, कांग्रेस, शेरबहादुरको प्रसंशा गर्दै एमालेले आफूलाई नसंझेको र धन्यवाद नदिएकोमा विलाप गरे । सर्कसमा एउटा चटकेले ताली बजाऔं भन्दै ताली मागे जस्तै मुखै फोरेर एमालेसँग मलाई धन्यवाद दिनुस् भनेर धन्यवाद मागे । प्रचण्डको तर्क थियो “ मैले हतियार बुझाएँ, सेना समायोजन( विसर्जन) गरें, जनसत्ता विघटन गरें, भारतमा १२ वुँदे गरें, विस्तृत शान्ति संझौता गरें, क्रान्ति विसर्जन गरें, म नभएको भए यो संभव थियो ? यति गरेपछि पनि धन्यवाद नदिने, धन्यवाद पो दिनु पथ्र्यो झन गाली गर्ने ! उनको भनाईमा यस्तो भाव थियो । मैले क्रान्तिनै विसिर्जन गरेर संसदीय व्यवस्थालाई बचाउन आउँदा पनि संरक्षण नगर्ने र मायाँ नदेखाउने ! त्यसो हो भने पख अर्को क्रान्ति आउने छ र ठिक पार्ने छ । तिम्रो लागि म लडिदिने छैन् ! संयोगले यहाँ चार्लि च्याप्लिन भएनन् भएको भए कस्तो प्रहसन गर्थे होला ! कांग्रेस–माके गठबन्धन खराब गठबन्धन हो तर यो त्यसै र सामान्य तरिकाले भने आएको छैन । यो गठबन्धन प्रतिक्रान्ति र प्रतिगमनपछि दलाल संसदीय व्यवस्था स्थापना हुँदा पनि संकट हल नहुनुका कारणले आएको गठबन्धन हो । यसो भनौं दलाल पुँजीवादी व्यवस्थाको संकट बढ्न थालेकोले संकट संग लड्नका लागि यो गठबन्धन आएको छ ।

यसलाई सबै क्रान्तिकारी, कम्युनिस्टहरु, लोकतन्त्रवादी र देशभक्तहरुले गम्भीरतापूर्वका लिनुपर्छ । जब विदेशी शक्ति केन्द्र विशेषतः भारतीय साम्राज्यवादको सहयोगमा कांग्रेसले संसदीय व्यवस्था स्थापना गर्ने संविधान निर्माणको नेतृत्व गर्यो र एक हदसम्म सफल पनि भयो साथै प्रचण्डहरु क्रान्तिलाई लत्याउँदै प्रतिक्रियावादी दलालहरुसँग घाँटी जोड्न पुगे तव उनीहरु सबैको अनुमान थियो कि अब क्रान्ति सदाको लागि समाप्त भयो । दलालहरुको गठजोड्मा आरामविराम, मोजमस्ति जे गरे पनि हुन्छ तर त्यो उनीहरुको दिवा सपना जस्तो भयो । उनीहरुको यो सोचाइलाई न नेपाली जनताले साथ दिए नत क्रान्तिकारीहरु नै चुप लागेर सहे । बरु क्रान्तिकारीहरुको सचेत पहलमा प्रतिक्रान्तिको भण्डाफोर भयो; क्रान्तिकारीहरुलाई पुनरसंगठित गर्ने कार्य भयो; क्रान्तिकारी र देशभक्त शक्तिलाई एकतावद्ध गर्ने पहल अगाडि वढ्यो र जनतामा पुनः क्रान्तिको प्रवाह पैदा गर्ने कार्य भयो । यस कार्यबाट सबै भन्दा बढि प्रतिक्रान्तिका योजनाकार, कार्यन्वयन कर्ता र मतियारहरु झस्किन पुगे । उनीहरुले प्रष्टसँग देखे कि ढिलो नगरी यसखालको गठजोड नगर्ने हो भने उनीहरुले ठूलठूला मूल्य चुकाएर तयार गरेको प्रतिक्रान्तिको स्वर्ग ध्वस्त हुनेछ । तत् पश्चात नै उनीहरुको सयुक्त योजनामा यो गठबन्धन तयार भएर आएको छ ।
विदेशी एवं देशी प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र आत्मसमर्पणवादीहरुको गठबन्धन क्रान्तिको विरुद्ध र प्रतिक्रान्तिको पक्षमा; देशको स्वाधिनताको विपक्षमा र दलालीकरणको पक्षमा; जनअधिकारको विरुद्ध र दमनको पक्षमा छ भने क्रान्तिकारी र देशभक्तहरुले यो गठबन्धनलाई सामान्य विरोध गरेर मात्र बस्नु हुँदैन ।

यसका विरुद्ध वैचारिक एवं संगठनात्मक धु्रविकरणलाई जोड दिनुपर्छ । प्रतिक्रियावादी दलाल सत्ताका विरुद्ध व्यापक भण्डाफोर शसक्त प्रतिरोधलाई संगठित गर्दै अगाडि जानुपर्छ । यो सत्ताको विरुद्ध संघर्षसँगसँगै जनताको समानान्तर सत्ताको सुदृढिकरण र संचालन पनि गर्दै जानुपर्छ । यहाँनेर माके भित्रका इमान्दार नेता कार्यकर्ताले पनि गम्भीर वनेर घोर विचलनका विरुद्ध विद्रोहको पहल गर्न आवश्यक छ । हाम्रो पार्टी यतिवेला कथित स्थानिय चुनाव खारेजी र जनताको सत्ता निर्माणको संघर्षमा छ । संघर्षमा सहभागि पार्टी नेता, कार्यकर्ता र जनतामाथि राज्यबाट युद्ध स्तरमा दमन भएको छ । गाउँहरुमा छापा मार्ने, राती गिरफ्तार गर्ने, कुटपिट गर्ने, जेलहाल्ने कार्य भइरहेको छ । यसलाई हामीले प्रतिक्रान्तिकारी एवं आत्मसमर्पणकारी गठजोड र त्यस विरुद्धको प्रतिरोध संघर्षको परिणाम मानेका छौं । हामीलाई थाहा छ हाम्रो पार्टी र नेपाली श्रमिक जनताले प्रतिक्रान्ति विरुद्ध विद्रोह गरेका छन् । विद्रोह माथि दमन भएको छ तर यो दमनले पनि प्रतिरोधको सामना गर्नु पर्नेछ । दमन र विद्रोहको यो चक्र वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जारि रहनेछ । यसमा कुनै चिन्ता र पीडाको कुरा छैन । नेपाली जनताले बुझेको तर अझै गतिलो गरी बुझ्नु पर्ने सच्चाई यो हो कि प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था र यसका मालिकहरुलाई सत्ताको गद्दिबाट नमिल्काएसम्म साथै त्यसको स्थानमा वैज्ञानिक समाजवादी सत्ता निर्माण नगरेसम्म नेपाल र नेपाली जनताले दलालहरुको यस्ता षडयन्त्रपूर्ण गठबन्धनको चक्रब्युहबाट मुक्ति पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :