श्रम र राजनीतिबीचको अन्तर्सम्बन्धलाई बुझ्ने प्रश्न

विषय प्रवेश
आज हामीकहाँ श्रम र राजनीतिबीचको अन्तर्सम्बन्धलाई बुझ्ने कुरामा गम्भीर समस्या देखापरेको छ । वास्तवमा श्रम के हो ? राजनीतिको भूमिकालाई कसरी बुझ्ने ? यी दुवैको बीचमा के सम्बन्ध छ ? यो विषयसम्बन्धी बुझाइले श्रमिकहरूको राजनीतिसितको सम्बन्ध र राजनीतिकर्र्मीहरूको श्रमसँगको सम्बन्धलाई निर्धारित गर्दछ । हाम्रो राजनीतिमा विशेषतः आजसम्मको संसद्वादी राजनीतिमा देखापरेको चरम विकृति, विसङ्गति, दलालीकरण र अपराधीकरण यही श्रम र राजनीतिबीचको अन्तरसम्बन्धलाई ठीक ढङ्गले पक्रन नसक्नुकै परिणाम हो ।

यसको विकल्पमा हामीले कम्युनिस्ट अर्थनीति र वैज्ञानिक समाजवादी अर्थराजनीतिक प्रणालीमाथि जोड दिँदै यो समस्याको वैज्ञानिक समाधान प्रस्तुत गरेका छौँ । यो समाधान वैज्ञानिक समाजवादी विचारधारा, दृष्टिकोण र अर्थराजनीतिक प्रणालीमा आधारित छ । यहाँ यससम्बन्धी छलफलको निमित्त विषयलाई प्रवेश गराउने प्रयत्न गरिएको छ ।

श्रम र यसको महत्वलाई बुझ्ने समस्या

श्रम मानवजीवनको केन्द्रीय प्रश्न हो । मानवजातिले आफ्नो अस्तित्व र विकासको निमित्त प्रकृितसँग निरन्तर गर्दै आएको सङ्घर्ष नै श्रम हो । श्रमको स्वरूप भौतिक र मानसिक दुवै हुने गर्छ । श्रमको उद्देश्य वस्तु, चेतना र सेवाको उत्पादन र पुनरुत्पादन गर्नु हो । श्रम मात्र एउटा यस्तो आधार हो जसले मानिसलाई अन्य प्राणीभन्दा भिन्नै विवेकशील, सिर्जनशील र सामाजिक प्राणीका रूपमा विकसित ग¥यो ।
श्रमको भूमिकाले नै हामीलाई बाँदरबाट मनुष्यका रूपमा रूपान्तरित ग¥यो । तर समाज र सामाजिक व्यवस्थाको विकासक्रमसँगै श्रमप्रतिको धारणाले आज एक हदसम्म विकृत रूप लिन पुगेको छ । समाजमा वर्गको अभ्युदयसँगै विकास भएको वर्गचिन्तन र वर्गदृष्टिकोणअनुरूप श्रमप्रतिको गलत धारणा विकास हुन पुगेको हो । यो धारणाको विकाससँगै श्रमप्रतिको घृणा र श्रमिकप्रतिको हेयभावले संस्थागत रूप लिन पुग्यो । आज हामीकहाँ व्याप्त श्रमप्रतिको चरम अरूचि र श्रमजीवीहरूमाथि देखाइने जुन ठालुपन छ, यो यसै परम्पराको विरासत हो ।
श्रम मुख्यतः भौतिक श्रमलाई सामाजिकीकरण गर्ने कुरा, त्यसलाई मानव जीवनको अनिवार्य कर्मका रूपमा व्यवहारतः स्थापित गर्ने कुरा र यसमा प्रत्येक नागरिकहरूका लागि क्षमताअनुसार अनिवार्य सहभागिताको कुरालाई सुनिश्चित गरेर मात्र यो विषयको समस्यालाई समाधान गर्न सकिन्छ । साम्यवादी सिद्धान्तले यसलाई क्षमताअनुसार काम र आवश्यकताअनुसार मामका रूपमा सूत्रीकृत गरेको छ । यस सिद्धान्तले साम्यवादी समाजलाई मानवसमाजको विकासको सबैभन्दा उन्नत अवस्थाका रूपमा परिकल्पना गरेको छ ।

यो सन्दर्भको प्रयोजनलाई आज प्रत्येक नागरिकहरूका लागि श्रम तथा उत्पादन अनिवार्य आवश्यकता र सहभागिताको विषय बनाउनुपर्ने कुराको अर्थमा बुुझ्न जरुरी छ । श्रमप्रतिको अभिरुचिपूर्ण सहभागिता प्रत्येक नागरिकहरूको पहिलो कर्तव्य र उत्तरदायित्व हो र हुनुपर्छ । त्यसैगरी प्रत्येक नागरिकहरूको मानवीय आवश्यकताप्रतिको उत्तरदायित्व राज्यको हो र हुनुपर्छ । यसरी मात्र वास्तविक अर्थमा उन्नत स्तरको मानव समाज निर्माण सम्भव हुन्छ । यसरी मात्र श्रमप्रतिको आस्था र शोषणप्रतिको घृणालाई संस्थागत गर्न सकिन्छ ।

प्रत्येक नागरिकहरूले आफ्नो पौरखप्रति गौरव गर्ने अवस्था त्यतिबेला मात्र सिर्जना हुन्छ, जतिखेर प्रत्येक नागरिकहरू (चाहे त्यो राज्यको उच्च ओहोदामा किन नहोस्) का लागि आफ्नै पौरखमा बाँच्ने बाध्यकारी व्यवस्थाको विकास हुनसक्छ । यस सन्दर्भमा जनगणतन्त्र कोरिया (उत्तरकोरिया) ले गरेको प्रयोग र त्यहाँ विकास भएको सामाजिक मनोविज्ञान हाम्रा लागि एउटा महत्वपूर्ण शिक्षा सामग्री बन्न सक्छ ।

राजनीति र यसलाई बुझ्ने समस्या

राज्यको ढाँचा, शासनप्रणाली र समग्र उत्पादन तथा वितरण प्रणालीलाई निर्देशित र नियमन गर्ने, विचार, दर्शन, सिद्धान्त र त्यसअनुुरूपको नीति तथा कार्यक्रमको समुच्च रूप राजनीति हो । विचार, दर्शन, सिद्धान्त र उद्देश्यअनुसार राजनीतिका आआफ्नै कार्यदिशा, रणनीति र कार्यनीतिहरू हुने गर्छन् । राजनीतिमा विचार, दर्शन, सिद्धान्त र आदर्शको भूमिका सर्वाधिक रूपले महत्वपूर्ण हुन्छ । राजनीतिमा यी आधारभूत मापदण्डहरूबारेको सही समझदारीबिना राजनीतिक पार्र्टी वा व्यक्तिहरूले साँचो अर्थमा राजनीतिक भूमिका निर्वाह गर्न सम्भव हुँदैन । जब विचारमा स्पष्टता र सिद्धान्तमा पकड कमजोर हुन्छ तब राजनीतिमा विचारधारात्मक निष्ठा, सैद्धान्तिक प्रतिबद्धता र आदर्शको स्तर मूल्यहीन बन्न पुग्छ । आज देशमा संसद्वादी राजनीतिले भोग्दै आएको नियति यही हो ।

यस अर्थमा सच्चा कम्युनिस्टहरूले राजनीतिमा विचार, दर्शन, सिद्धान्त र आदर्शको भूमिकालाई उच्च महत्वका साथ ग्रहण गर्छन् । यो असल कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय परम्परा हो । कम्युनिस्ट राजनीति मालेमावादी विचार, दर्शन र आदर्शबाट निर्देशित हुने गर्छ । जब मालेमावादी विचार, दर्शन र आदर्शबाट कम्युनिस्टहरू च्यूत हुन पुग्छन्, उनीहरूको भ्रष्टीकरण र पतन पुँजीवादीहरूको भन्दा खराब हालतमा हुन पुग्छ । उनीहरूको निर्लज्ज महापतनको दयनीय हालत कस्तो हुन्छ भन्ने कुरा नेपालमा भापा विद्रोहका धोकेबाज केपीमण्डली र जनयुद्धका भगौडा प्रचण्ड–बाबुरामहरूको बेहालले देखाइसकेको छ ।

पुँजीवादीहरू र दलाल पुँजीवादीहरू मात्र होइन, कम्युनिस्ट खोल ओढेका पुँजीवादका दलालहरूले समेत राजनीतिलाई विकृत धन्दाका रूपमा प्रयोग गर्दै आएका छन् । राजनीतिलाई मानव सेवाको साधनका रूपमा होइन, समाज रूपान्तरणको हतियारका रूपमा होइन, सुविधाजनक पेसाका रूपमा अँगाल्ने परम्परा बसेको छ । त्यसैले यो केही टाठाबाठाहरूको कमाइखाने भाँडो (कतिपय अर्थमा ठगीखाने भाँडो) बन्न पुगेको छ ।

कर्म गरेर खान नसक्ने समाजको अल्छी र हुतिहारा तप्का राजनीतिप्रति आकर्षित किन भइरहेछ ? मानवीय नैतिक मूल्य र आदर्शभित्र रहनै नसक्ने असामाजिक तत्वहरू, अराजक, अनैतिक, हत्यारा, बलात्कारी, गुण्डा, डाँका र कुण्डलेमण्डलेहरू राजनीतिप्रति आश्रित किन भइरहेछन् ? त्यस्ता तत्वहरूलाई राजनीतिक पार्टीहरूले किन ससम्मान भित्र्याइरहेका छन् ? यसले दुईवटा कुरालाई सतहमा ल्याइदिएको छ । पहिलो, यसले श्रम तथा उत्पादनबिना नै उन्नत स्तरको जीवन बाँच्ने ठाउँ राजनीति हो भन्ने सन्देश प्रवाह गरेको छ । दोस्रो, यसले राजनीति अपराधीकरणतर्फ प्रवृत्त भइरहेको तथ्यलाई पुष्टि गरेको छ ।

आज राजनीतिलाई सुविधाजनक पेसाका रूपमा अँगाल्दै गएपछि राष्ट्रको निमित्त यो अत्यन्तै खर्चिलो, बोझिलो र अनुत्पादक बन्न पुगेको छ । राजनीतिकर्मीहरू भौतिक श्रम र उत्पादनमूलक कार्यबाट कट्दै जाने र परनिर्भर जीवनशैलीको विकास हुँदै जाने अवस्थाले यसो हुन गएको हो । भौतिक श्रमबाट कट्दै जाने अवस्थाले राजनीतिकर्मीहरूको विशाल शक्तिलाई अनुत्पादक मात्र बनाउँदैन, यसले चिन्तन, दृष्टिकोण र संस्कारमा पनि समाज र राष्ट्रप्रतिको अनुत्तरदायी चरित्र विकास गर्दछ । आज संसद्वादी राजनीतिमा देखापरेको भ्रष्टीकरण, विकृति र विसङ्गतिको मूल आधार यही हो ।

हाम्रा राजीतिकर्मीहरूले कुनै पार्टीका नेता वा कार्यकर्ताको हैसियत त राख्लान् तर जनताका वास्तविक नेता वा समाज र सामाजिक क्रान्तिका अगुवाको हैसियत कतिले राख्छन् ? यो विचारणीय पक्ष हो किनकि उनीहरू पार्टीका नेता वा कार्यकर्ता भएको हैसियतबाट आफूमातहतका समर्थक, शुभचिन्तक र आमजनतामाथि आदेश र अनुशासन बर्साउँछन् । उनीहरू आफूद्वारा अरू सबै निर्देशित र परिचालित हुनुपर्ने मान्यता राख्छन् । उनीहरू जनताको निमित्त राजनीति गरेकाले आफ्ना सबै वैयक्तिक इच्छा र चाहनाहरूको क्षतिपूर्ति जनताले भरिदिनुपर्ने सोचाइ राख्छन् । यही गलत सोचाइले नै उनीहरूलाई श्रम र श्रमजीवी जनजीवनबाट अलग बनाइरहेको छ । उनीहरू ठालु मनोदशाबाट ग्रसित हुन्छन् । राजनीतिक पार्टीहरूमा देखिने हाकिम प्रवृत्ति यसैको उपज हो ।

हामी आज वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध छौँ । हाम्रो यो बाटो प्रतिक्रान्तिका शिक्षासहितको बाटो हो । बीसौँ शदीमा स्थापित समाजवादी सत्ताहरू ढल्न पुग्नु र चीनमा भएको प्रतिक्रान्तिपछि विजयको सन्निकट पुगेका क्रान्तिहरूसमेत पराजयमा टुङ्गिन पुग्नुको पछाडि रहेका कारणहरूमध्ये श्रम र राजनीतिबीचको अन्तरसम्बन्धलाई ठीक ढङ्गले बुझ्न र स्थापित गर्न नसक्नु पनि हो । यसलाई सच्याउँदै हाम्रो पार्टीले सबै तहका नेता–कार्यकर्ताहरूका लागि श्रम र उत्पादनमा अनिवार्य सहभागिता र पारदर्शिताको आर्थिक नीति विकास गर्दैछ ।
यो मान्यता विगतको समाजवादी अभ्यासमा रहेका कमजोरी र प्रतिक्रान्तिका परिघटनाबाट शिक्षा लिँदै वैज्ञानिक समाजवादी अर्थराजनीतिक प्रणालीमा विकासको मौलिक योगदान गर्ने उद्देश्यतर्फ परिलक्षित छ । यो मान्यता श्रम र राजनीतिबीचको अन्तरसम्बन्धलाई बुझ्ने वैज्ञानिक समाजवादी विचारधारा, दृष्टिकोण र अर्थराजनीतिक प्रणालीको सुसङ्गत अभिव्यक्ति हो ।

निष्कर्ष

राजनीतिलाई श्रम तथा उत्पादन कार्यसँग र श्रम तथा उत्पादनकार्यलाई राजनीतिसँग अभिन्न रूपले जोड्न जरुरी छ । हरेक राजनीतिक नेता तथा कार्यकर्ताहरू भौतिक श्रम तथा उत्पादनसँग कुनै न कुनै रूपमा जोडिनैपर्छ । यसका निमित्त पार्टीले श्रम शिविर तथा सामाजिक विकास निर्माणका आवधिक योजनाहरू विशेष रूपले लागू गर्नैपर्छ । जनहितकारी कामका निमित्त पार्र्टीलाई योजनाबद्ध रूपले हेल्नैपर्छ । पार्टी सञ्चालनको निमित्त यसले नियमित स्रोतको आधार प्रदान गर्दछ । श्रमजीवी जनसमुदायमा सशक्त ऊर्जा र विश्वास विकास गर्छ । उनीहरूलाई राजनीतिक रूपले सचेत, सङ्गठित र प्रशिक्षित गर्ने काम गर्दछ ।

यो मान्यताले सिङ्गो पार्टीपङ्क्तिमा श्रमप्रतिको भरपूर आस्था र श्रमजीवी जनसमुदायप्रतिको गम्भीर उत्तरदायित्वलाई स्थापित र विकसित गर्दछ । सामाजिक रूपान्तरणको अभिभारा कसले पूरा गर्न सक्छ भन्ने कुराको फैसला यही प्रक्रियाको बीचबाट हुनसक्छ । कुन पार्र्टी, कुन नेता वा कुन कार्यकर्ता सामाजिक राजनीतिक क्रान्तिको अभिभाराप्रति कति सचेत छ, कति इमानदार र निष्ठावान् छ भन्ने कुराको व्यावहारिक परीक्षण पनि यही प्रक्रियाको बीचबाट हुनसक्छ । यसरी मात्र राजनीतिलाई जनउत्तरदायी बनाउन सम्भव छ ।

राजनीतिको जनउत्तरदायी धारालाई जसले ठीक ढङ्गले पक्रन सक्छ, त्यसले मात्र सामाजिक क्रान्तिलाई नेतृत्व प्रदान गर्ने हैसियत राख्छ । त्यसले मात्रै सामाजिक क्रान्तिको प्रवाहसँगै आफूलाई पनि वैचारिक सांस्कृतिक रूपले समृद्ध तुल्याउँदै सुन्दर भविष्य निर्माणको दिशामा अगाडि बढ्नसक्छ । जनउत्तरदायी धारालाई पक्रन नसक्नेहरू इतिहासको सङ्ग्रहालयमा थन्किन पुग्छन् । एकीकृत जनक्रान्तिको कार्यदिशाले प्रक्षेपण गरेको यो जनउत्तरदायी राजनीतिक धाराको मर्म, महत्व र औचित्य यहीँनेर छ ।

राष्ट्रिय राजनीतिमा बढ्दै गइरहेको लुटतन्त्र, भ्रष्टाचार, विकृति, विसङ्गति, श्रमप्रतिको चरम अरुचि, गैरजिम्मेवारीपन र अपराधीकरणको गम्भीर समस्यालाई समाधान गर्ने सर्वोत्तम विधि वैज्ञानिक समाजवादी अर्थराजनीतिक प्रणाली नै हो । यसलाई एकीकृत जनक्रान्तिको माध्यमबाट हासिल गर्न सकिने निष्कर्षका साथ हामी अगाडि बढेका छौँ । आजसम्मको मानवसभ्यताको अनुभवले पुष्टि गरेको सत्य के हो भने श्रमको समुचित महत्व तथा श्रम र राजनीतिबीचको अन्तरसम्बन्धलाई ठीक ढङ्गले पक्रने र दिशानिर्देश गर्ने कुरा वैज्ञानिक समाजवादी विचार र चेतनाबाट मात्र सम्भव छ । राजनीतिको जनउत्तरदायी धारालाई सफलताको बिन्दुसम्म पु¥याउने कुँजी यही नै हो ।

२०७५ फागुन ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :