नामधारी कम्युनिस्ट सरकार अहिलेसम्मकै बदनाम : असल

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य असल क्षत्रीले कम्युनिस्ट नामधारी केपी सरकारले विगतमा काङ्ग्रेसले चलाएको भन्दा गएगुज्रेको दलाल व्यवस्था जनतामाथि लादेर दुःख दिएको बताएका छन् । पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा शुक्रबार जाजरकोट छेडागाड नगरपालिकाको वडा नं. १२ कार्कीगाउँमा भएको सभालाई सम्बोधन गर्दै क्षत्रीले भने, ‘केपी सरकारले हत्या, हिंसा, बलात्कार, महँगी, भ्रष्टाचार र खोलानाला बिक्री गरेर जनतामाथि करवृद्धि गरेको छ ।’

सरकार फासिवादतर्फ उन्मुख भएको समेत नेता क्षेत्रीले बताए । अब गाउँमा भ्रष्टाचार गर्नेलाई जनता र आफ्नो पार्टीले कपाल मुडेर सात डाँडा कटाउने चेतावनी केन्द्रीय सदस्य क्षत्रीले दिए । देशलाई खोक्रो बनाउने एनजीओ, आईएनजीओलाई पनि गाउँगाउँबाट लखेट्ने उनको भनाइ थियो ।

डलरको प्रलोभन देखाएर क्रिस्चियन धर्म विस्तार गर्ने काम भइरहेको भन्दै नेकपाका केन्द्रीय सदस्य क्षत्रीले चिन्ता व्यक्त गरे । जनयुद्धको मूल नेतृत्व विचलन हुँदा पार्टी र आन्दोलनप्रति जनताले धेरै प्रश्न उठाएको भन्दै उनले व्यवहारबाट नै सबै प्रश्नको उत्तर दिने प्रस्ट पारे । आफ्नो पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिबारे विश्वमा बहस भएको उनले बताए । अहिलेको समस्याको हल वैज्ञानिक समाजवाद भएको समेत क्षत्रीको भनाइ थियो ।

भाका अर्का वक्ता जाजरकोट पार्टी सेक्रेटरी केबीले जनयुद्धकालमा जाजरकोटले असीम पीडा बेहोरेको बताए । झन्डै तीन सयजनाले जनयुद्धमा बलिदान गरे पनि नेताले धोका दिएको भन्दै सेक्रेटरी मल्लले आक्रोश व्यक्त गरे । उनले भने, ‘जनयुद्धको एजेन्डा जनताले अनुमोदन गरे तर नेताले धोका दिए । अब यो सत्ताको विकल्प वैज्ञानिक समाजवादमा खोजौँ । त्यसमै हाम्रो मुक्ति हुन्छ ।’

कोणसभाको सञ्चालन जिल्ला पार्टी सदस्य दीप लामाले गरेका थिए । कार्यक्रममा भेरी ब्युरो सदस्य निलम, अभियान यात्री तथा बाँके जिल्ला पार्टी सचिवलाय सदस्य रणजित, नेत्री ममतालगायतको सहभागिता थियो ।

अभियानका यात्रीहरूलाई जाजरकोट छेडा नगरपालिका वडा नं. १३ का जनताले शुक्रबार अबिर र माला लगाएर बिदाइ गरेका छन् । अभियान फागुन अन्तिमसम्म सञ्चालन हुने जनाइएको छ ।

२०७५ फागुन १० गते शुक्रबार प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :