जनयुद्ध दिवसको महत्व र सान्दर्भिकता

२०५२ साल फागुन १ गते नेपालमा माओवादी जनयुद्ध सुरु भएको ऐतिहासिक महत्वको दिन हो । सर्वहारा वर्गले प्रतिक्रियावादी सत्तामाथि धावा बोलेको दिन । त्यस दिनलाई नेपालमा माओवाद मान्ने जनयुद्ध लडेका शक्तिहरूले धुमधामका साथ मनाए । यस दिनको ऐतिहासिकता र महत्व शुभकामना आदानप्रदान, खुसी साटासाट, भेटघाट र ठूलाठूला सभाहरू गरेर पनि यस दिनको स्मरण गर्ने काम गरियो । नेपालमा माओवादी जनयुद्ध सुरु भएको दिनका रूपमा स्मरण गरियो जुन दिन माओवादीहरू तीनवटा चौकीमा आक्रमण गरेर युद्धको घोषणा गरेका थिए । विश्व कम्युनिस्ट आन्दोलनको एउटा टुकडी नेकपा (माओवादी) ले नेपालमा दीर्घकालीन जनयुद्धको बाटोबाट नेपालको संसदीय व्यवस्थासहितको राजतन्त्रलाई हटाएर जनताको जनवादी व्यवस्था ल्याउने नयाँ सपना देखेको दिन थियो । त्यस दिनको सुरुआत भएको यो फागुन १ गते २३ वर्ष पूरा गरेर २४ वर्षमा प्रवेश गरेको छ । मनमा पिडा आक्रोश र नयाँ आशासहित मनाइएको यो जनयुद्ध दिवसका सन्दर्भका छोटो चर्चा गरौँ ।

जनयुद्धको सुरुआतको दिन फागुन १ सम्म आउँदा माओवादीसँग सीमित कार्यकर्ता र सीमित साधनस्रोत थियो । घँगारुको लाठी, खुकुरी र केही सीमित भरुवा बन्दुकबाट जनयुद्धको खास सुरुआत भएको थियो । ३ वटा पुलिस चौकीमाथि आक्रमण गर्दा रुकुमको राडी चौकी, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढीमा एकैसाथ फागुन १ गते आक्रमण गरिएको थियो भने गोरखाको कृषि विकास बैङ्कमा पनि आक्रमण गरिएको थियो । तत्काल हतियारको आवश्यकता पूर्ति गर्न आक्रमण गरिए पनि त्यसको सहज पूर्ति हुन सकेन । केही विस्फोटक पदार्थ र लजिस्टिकबाहेक हतियारहरू कब्जा गर्न सकिएन । तर त्यसको नेपाली राजनीतिमा ठूलो महत्व रहेको छ । त्यसका अलावा देशमा विभिन्न कारबाहीहरू भएका थिए जुन नेपाली वर्गसङ्घर्षको इतिहासमा उच्च महत्वका छन् । सुरुका दुईतीन वर्ष २०५२ देखि २०५४ सम्म बेथानमा बाहेक ठूला कारबाही त्यति सफल हुन सकेनन् । २०५३ साल पुस १९ गते तीर्थ, फत्त र दिलमाया बम्जनको क्षति सहेर रामेछापको बेथानमा भएको सफल फौजी कारबाहीबाहेक सामान्य एम्बुस, सीआईडी, सुराकी र सामन्तहरूमाथि सफाया र सेबोटेजभन्दा फौजी कारबाहीको स्वरूप माथि उठ्न सकेन ।

२०५५ साल मङ्सिर ८ गते सल्यानको झिम्पे रिपिटर टावरको कारबाहीबाट पश्चिमले सफल कारबाहीको खाता खोल्यो । त्यसपछि राप्तीको छानिएको केन्द्रित टिम बनाएर कारबाही अघि बढायो । देशभर पुलिसमाथि माओवादी सेना हाबी हुँदै गयो । २०५७ को अन्त्यतिर आउँदा पुलिस पूर्ण रूपमा पराजित मानसिकतामा पुग्यो । प्रतिक्रियावादी राज्यसत्ता पराजयको अवस्थामा पुग्यो भने जनताको सत्ता शक्ति झन्पछि झन् बलियो शक्तिका रूपमा उदाउँदै गयो । माओवादीले २०५७ सालमा डोल्पाको सदरमुकाम दुनै कब्जा गरेर अर्को कीर्तिमान खडा गर्यो । पूर्व–पश्चिम देशभरि माओवादी शक्ति हाबी हुँदै गयो भने प्रतिक्रियावादी शक्ति कमजोर हुँदै गयो । दुस्मन शक्ति सुरुदेखि सर्वसाधारण जनताको नरसंहार गर्न थाल्यो । त्यसले झन् सत्ताप्रति जनताको आक्रोश र वितृष्णा बढायो भने माओवादी शक्तिप्रति आशा र विश्वास जगायो । माओवादी शक्ति जनताको रक्षकका रूपमा उदायो भने राज्यप्रति जनताको पूरै आशा मर्यो । सुरुआतको चरणमा केही व्यक्ति, केही जिल्ला, मुख्य त रोल्पा–रुकुमबाट सुरु भएको माओवादी जनयुद्ध विशाल शक्तिमा परिणत हुँदै गयो ।

होलेरी कब्जापछि पुरानो सत्ताको पुलिस पूर्ण रूपमा पराजित भयो । होलेरी कब्जापछि सरकार सेना परिचालनको गृहकार्यमा लाग्यो । प्रतिक्रियावादी शक्तिभित्रकै आन्तरिक अन्तरविरोधका कारण त्यो सम्भव रहेन । सरकारले युद्धविरामको घोषणा गर्नुपर्ने स्थिति पैदा भयो । माओवादीले पनि युद्धविरामलाई स्वीकार्दै युद्धविराम घोषणा गर्यो । चरणबद्ध रूपमा तेस्रो चरणसम्मको वार्ता गर्दा पनि परिणाममुखी वार्ता हुन नसकी वार्ता भङ्ग भई सेनासँगको लडाइँ माओवादी आफैँले सुरुआत गर्यो । घोराही सदरमुकाममा रहेको सैन्य ब्यारेकलगायत सम्पूर्ण कब्जा गरी माओवादीले सैन्य श्रेष्ठता कायम रहेको पुष्टि गर्यो । घोराही सदरमुकामलगायत स्याङ्जा सदरमुकाम र दुई दिनको फरकमा सोलु सदरमुकाम सल्लेरी कब्जा गरी शाहीसेनामा आक्रमणको थालनी भयो । युद्ध २०५२ देखि २०६३ सम्म जनयुद्धको अवधिमा सयौँ पुलिस चौकी र सैन्य ब्यारेकहरू कब्जा गरिए । हजारौँ मान्छेको बलिदान भयो । देशका ठूला एघारवटा सदरमुकामहरूमा फौजी आक्रमण भए । कुनै सदरमुकाम पूर्ण कब्जा भए भने केही सदरमुकामहरू आंशिक कब्जा भएका थिए । माओवादी आन्दोलन अन्तर्राष्ट्रियकरण भइसकेको थियो । आक्रमण र प्रत्याक्रमणका घटना दिन–प्रतिदिन बढ्दै गएका थिए । माओवादी आन्दोलन (जनयुद्ध) ठूलाठूला सफलतासहित अगाडि बढिरहेको थियो ।

त्यही बीचमा राजा वीरेन्द्रको वंशनास भयो भने ज्ञानेन्द्र सत्ता सञ्चालनमा आइपुगे । वीरेन्द्रभन्दा ज्ञानेन्द्र अलि क्रूर देखिए । तत्कालीन संसद्वादी दलहरूको अस्तित्व पनि उनले नस्वीकारेपछि तत्कालीन संसद्वादी शक्तिहरू माओवादी शक्तिलाई गुहार्न आइपुगे । माओवादी शक्ति र संसद्वादी शक्तिबीचमा ७ बुँदे (रोल्पा) सहमति र पछिल्लोपटक १२ बुँदे सहमति हुन पुग्यो । यही सहमति पछि आएर माओवादी आन्दोलनको विघटन र विसर्जनको व्यावहारिक कडी बन्न पुग्यो । अन्ततः माओवादी आन्दोलन सम्पूर्ण रूपले विसर्जित भयो । सत्ता पूर्ण रूपले संसद्वादीहरूको पोल्टामा पुग्यो । संसद्वादीहरूको पल्ला भारी भयो । सामन्तवादको प्रतिनिधि राजतन्त्रको अन्त्य त भयो तर जनयुद्धको आधारभूत कार्यभारसम्म पूरा हुन सकेन ।

ठूलाठूला लडाइँको सामना गरेर निर्माण

जनयुद्धकालमा जनयुद्ध दिवसको रौनक जनतामा नयाँ उत्साह र उमङ्गसहित मनाइन्थ्यो । जनसत्ता स्थापना भएका ठाउँहरूमा कोसेली बोकेर आफ्ना इष्टमित्र, घरपरिवार भेटघाट गर्ने दसैँजस्तै एउटा संस्कृतिका रूपमा विकास भएको थियो भने कैयौँ स्थानहरूमा मेला–जात्राहरू लगाउने गरिएको थियो । सहमति र वार्ता भन्दै जब नेताहरू सहर पसे, शङ्कासहितको जनयुद्ध दिवस मनाउन थालियो । नेताहरूप्रति जनताको आशङ्का पैदा हुन थाल्यो किनकि नेताहरूका चालचलन, उठबस, बोलीचाली बदलिन थाले । २०६४ सालको संविधानसभाको चुनावसम्म जनता– कार्यकर्ताहरूको पूर्ण आशा मरिसकेको स्थिति थिएन । संविधानसभाको चुनाव र चुनावपछि बनेको माओवादी सरकारले देखाएको पुरानै रबैयाका कारण जनता र कार्यकर्ताको मन नेताहरूप्रति भाँचियो । पार्टीभित्रै पनि विचार र कार्यदिशाको सन्दर्भमा बहस सुरु भयो । जनयुद्धको सपना र प्रतिबद्धताबाट मूल नेतृत्वलगायत शक्ति चिप्लिसकेको थियो । फर्कन–फर्काउन पार्टीभत्रकै क्रान्तिकारी शक्तिले धेरै पहल गरे तर सफल हुन सकेन । एकदुई दिन गर्दै तत्कालीन माओवादी नेतृत्व पङ्क्ति जनयुद्धको सपनाभन्दा धेरै टाढा पुग्यो । अन्ततः एउटा पङ्क्ति जनयुद्धकालमा नवप्रतिक्रियावादी भन्दै आक्रमण गरेको शक्तिसँग एकताको लगनगाँठो बाँध्न पुग्यो भने अर्को पङ्क्ति जनयुद्धको सपना नछोड्ने भन्दै पार्टी विभाजन, पुनर्गठन गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माणको तहसम्म अगाडि बढ्यो ।

२४ औँ वर्षको अन्तरालमा माओवादी शक्ति तीन शक्ति र तीन प्रवृत्तिमा विभाजित भएको छ : प्रचण्डको नेतृत्वमा संसदीय विसर्जनवादी शक्ति, किरणको नेतृत्वमा अलमलमा परेको अकर्मण्यतावादी शक्ति र अर्को जनयुद्धको स्वामित्वसहित निर्माण भएको विप्लव नेतृत्वको क्रान्तिकारी शक्ति । जनयुद्धका सपनाहरूलाई लत्याएर क्रान्तिबाट भागेको प्रचण्डमण्डलीले पनि जनयुद्ध दिवस सामान्य रूपमा मनायो भने किरण नेतृत्ववाला टिमले पनि मनायो । उनीहरूले मनाउनुको मूल उद्देश्य अधुरो, अपूरो क्रान्ति पूरा गर्नु थिएन मात्र जनयुद्धको स्वामित्व सुरक्षित राख्न गरिएको चाल मात्र थियो । नैतिक, व्यावहारिक र सैद्धान्तिक रूपमा पनि उनीहरूसँग अब माओवादी जनयुद्धको स्वामित्व रहेन किनकि प्रचण्डजीहरू जनयुद्धको सपनादेखि धेरै टाढा पुगिसकेका थिए । जनयुद्धका सपना पूरा गर्ने उद्देश्य जसले लिन्छ त्यसको स्वामित्व पनि उसैसँग जाने कुरा निश्चित छ । आजका दिनसम्म जनयुद्धका अधुरा–अपूरा सपना पूरा गर्ने उद्देश्य र बाटो एकीकृत जनक्रान्तिको नवीन कार्यदिशासहित विकास भएको नेकपा नै यसको मूल पक्ष बन्न पुगेको छ । जनयुद्धको मूल स्वामित्व पनि उसैसँग गएको छ । प्रचण्ड भजनमण्डलीहरू पुरानै प्रतिक्रियावादी संसदीय व्यवस्थामा फर्किसकेको अवस्थामा जनयुद्ध दिवस मनाउनु उनीहरूका निम्ति कुनै पनि कारणले नैतिकसम्म पनि मान्न सकिँदैन किनकि हिजो जसका विरुद्ध जनयुद्ध लाडियो, जुन व्यवस्थाका विरुद्ध जनयुद्ध लाडियो आज उही ठाउँमा उभिएर क्रान्तिकारीहरूलाई धारे हात लगाएर गालीगलौज र दमन गरिरहेको शक्तिले कुन नैतिकताले जनयुद्ध दिवस मनाउन सक्छ र ? हिजो त्यही काम शेरबहादुर, केपीहरू गर्थे आज प्रचण्डमण्डली पनि काँधमा काँध मिलाएर क्रान्तिकारीहरूलाई गरिरहेका छन् । क्रान्तिकारी शक्तिबाट विसर्जित भएर प्रतिक्रियावादीको बफादारी गरिरहनु पनि प्रतिक्रियावादी काम नै हो । अहिले प्रचण्डहरू सोही ठाउँमा पुगेका छन् ।

२४ औँ जनयुद्ध दिवस मनाइरहँदा जनयुद्धको ऐतिहासिकता, महत्व र सान्दर्भिकता झन् बढी उचो बढ्दै गइरहेको छ । नेपालमा जनवाद, समाजवाद र साम्यवादसम्म पुग्ने उद्देश्यसहित सुरु भएको जनयुद्ध बीचमा नै अलपत्र पारिएको अवस्थाबाट पुनः एकीकृत जनक्रान्तिका नाममा जुर्मुराएको छ । नयाँ संश्लेषित विचार, ऊर्जावान् क्रान्तिकारी नेतृत्व, नयाँ विकसित परिस्थितिको सही र वैज्ञानिक संश्लेषण आजको कार्यदिशा एकीकृत जनक्रान्ति विगतको जनयुद्धकालीन र क्रान्तिकारी आन्दोलनहरूको समष्टिगत रूप हो । जनयुद्धको महान् संश्लेषण एकीकृत जनक्रान्ति भएकाले जनयुद्धको स्वामित्व पनि त्यही विचार र कार्यदिशासँग रहेको छ ।

२०७५ फागुन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :