भ्रष्टाचारीलाई गाउँगाउँमा कारबाही गर्ने नेकपाको उद्घोष

सल्यान :  नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा सङ्ठगन विस्तार र जनसभा कार्यक्रमलाई व्यापक बनाइएको जनाएको छ ।
नेकपाले रुकुम जिल्लाका विभिन्न ठाउँमा जनसभा गरेको छ । सङ्गठन विस्तार अभियानलाई पनि जिल्लाका विभिन्न ठाउँमा समूह विभाजन गरेर तीव्रता दिइएको नेकपा पश्चिम रुकुमले जनाएको छ ।

नेकपाले सोमबार चौरजहारी नगरपालिका ११ चौफाबजारमा जनसभा गरेको थियो । जनसभालाई नेकपाका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’ र पूर्वब्रिगेड कमान्डर शिशिरले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मिलनले कमिसन र भ्रष्टाचारका विरुद्ध लड्न आफूहरूले गाउँगाउँमा जनसत्ता गठन गरेको बताएका छन् । उनले भने, ‘जनसत्ता गठन गरिएको छ । कमिसनखोरी र भ्रष्टाचारीलाई जनसत्ताले कारबाही गर्छ ।’
भर्खरै पूर्वमाओवादी केन्द्र परित्याग गरेका शिशिरले सत्तारूढ दलमा सच्चा कम्युनिस्ट नेता भए विप्लवी नेकपामा आउन आग्रह गरे ।

चौरजहारी नगर सेक्रेटरी डिल्ली शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रेम बोहराले गरेका थिए । कार्यक्रममा सिस्ने जनसांस्कृतिक परिवारले साङ्गीतिक प्रस्तुति राखेको थियो ।

यसैबीच जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ५ गोतामकोटमा सागर विकको संयोजकत्वमा १३ सदस्यीय युवा सङ्गठनको एकाइ समिति गठन गरिएको छ । सोही स्थानमा कृष्णा रावतको संयोजकत्वमा ७ सदस्यीय महिला सङ्गठन र दलबहादुर मल्लको संयोजकत्वमा ५ सदस्यीय किसान गाउँ एकाइ समिति गठन गरिएको नेकपा रुकुमले जनाएको छ ।

पश्चिम रुकुममा ४ वटा समूह बनाएर अभियानलाई तीव्रता दिइएको नेकपा रुकुमले जनाएको छ । अभियानमा पार्टी केन्द्रीय सदस्य मिलन, पार्टी केन्द्रीय सदस्य तथा रुकुम इन्चार्ज अटल, युवा सङ्गठनका अध्यक्ष पाटन, दैलेख जिल्ला इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, जिल्ला जनपरिषद् प्रमुख चन्द्रबहादुर खड्कालगायत सहभागी छन् ।

२०७५ फागुन ७ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :