सिंहलगायत गिरफ्तार नेताहरू रिहा, लुम्बिनी बन्द फिर्ता


बुटवल :नेपाल कम्युनिस्ट पार्टी गुल्मीका इन्चार्ज पूर्णबहादुर सिंहलगायत गिरफ्तार नेताहरू मङ्गलबार अपराह्न रिहा भएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा अदालतले १० हजार धरौटी लिएर उनीहरूलाई रिहा गरेको हो । नेताहरू रिहा भएपछि बुधबारका लागि आह्वान गरिएको लुम्बिनी ब्युरो बन्द नेकपाले फिर्ता लिएको छ ।

गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको साङ्गठनिक अभियानको सिलसिलामा नेकपाका लुम्बिनी ब्युरो सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज पूर्णवहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र अभियानकर्मी टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो । रिहा भएपछि इन्चार्ज सिंहले रातो खबरसँग कुरा गर्दै पार्टीको जित र सरकारको हार भएको प्रतिक्रिया दिए ।

नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ द्वारा मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘झूट्टा मुद्दा लगाई गिरफ्तार गरिएका कमरेडहरूलाई आज प्रशासनले रिहा गरेको छ । हाम्रो पार्टीको साङ्गठनिक अभियान निरन्तर चलिरहेको जानकारी गराउँदै जनतामा पर्न जाने असुविधालाई ध्यान दिएर पूर्वघोषित सङ्घर्षको कार्यक्रमअन्तर्गत फागुन ८ गतेका लागि घोषणा गरिएको लुम्बिनी ब्युरोका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता गरिएको जानकारी यसै विज्ञप्तिमार्फत गराउँछौँ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७५ फागुन ७ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :