उखु किसानको समस्या समाधान गर्न र माफियालाई कारबाही गर्न माग

kisan flag

काठमाडौँ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले उखु किसानहरूका समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का संयोजक राजु कार्कीले मङ्गलबार प्रेसविज्ञप्ति प्रकाशित गरी किसानका माग पूरा गर्न आह्वान गर्दै माफियाहरुलाई कारबाहीको चेतावनी दिएका छन् ।

संयोजक कार्कीले भनेका छन्, ‘किसानले साहूमहाजनसँग चक्रवृत्ति ब्याजमा पैसा लिएर उखु लगाउँछन् । त्यो उखु बिक्री गर्नका लागि सरकारले समयमै समर्थन मूल्य तोक्दैन । तोकिए पनि उद्योगहरूले उक्त समर्थन मूल्यमा उखु खरिद नगरी आफैँ मनोमानी ढङ्गले मूल्य तोक्छन् । सरकार नियमन गर्न सक्दैन । उल्टो किसानले पाउनुपर्ने अनुदानको पैसा समयमै दिन सक्दैन । उद्योगीहरू पनि विगतमा सहमति भएको मूल्यभन्दा पनि घटाएर किसानलाई रकम दिने, आफैँ मनोमानी ढुवानी भाडा वृद्धि गर्ने, तौल घटाउनेजस्ता घृणित कार्य गरिरहेका छन् । यिनै क्रियाकलापका कारण उखु किसान आत्मदाह गर्ने ठाउँमा पुगिसकेका छन् ।’

कार्कीको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चिनीको आयात बन्देज लगाएर उद्योगीहरूलाई चिनीमा एकाधिकार रहने अधिकार दिइरहेको छ भने उद्योगीहरूले किसानलाई मारिरहेका छन् । सरकार उखु किसानको समस्या नसुनी उद्योगीको दबाबमा बस्छ । यसबाट के परिणाम निस्किन्छ भने कतै सरकार नै चिनीकाण्डको माफिया त बनिरहेको छैन ? शङ्का गर्ने ठाउँ छ ।’

उनले ‘चिनी आयातमा रोक लगाउने तर भारतीय उखु किसानको उखु किन्न चिनी उद्योगीहरू तँछाडमछाड गर्दै राज्य प्रशासनलाईसमेत सेटिङ गर्न लागिपर्नुले उद्योगीहरूको नाङ्गो रूपसमेत देखापरेको’ बताएका छन् ।

संयोजक कार्कीले उखु किसानका समस्या तत्काल सम्बोधन गर्न, चिनी र अनुदानका काण्डसँग जोडिएका घटनाहरूको छानबिन गरी कारबाही गर्न जोडदार माग गरेका छन् ।
आफ्नो माग सुनुवाइ नभए किसानका साथमा सङ्घर्षमा उत्रिन बाध्य हुने यसै विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

२०७५ फागुन ७ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :