जनयुद्धकालीन आधारगाउँमा नेकपाको पार्टी स्कुल

 

जाजरकोट : जनयुद्धको २४ औँ वार्षिकोत्सवसँगै फागुन ३ देखि ५ गतेसम्म नेपाल कम्युनिस्ट पार्टीको भेरी ब्युरोस्तरीय पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । नेकपाका भेरी ब्युरोअन्तर्गत रहेका अगुवा कार्यकर्तालाई उक्त पार्टीको केन्द्रीय स्कुलिङ विभागले ३ दिनसम्म पढाएको छ । जनयुद्धकालीन आधारगाउँ जाजरकोटको रिम्नामा आयोजना गरिएको उक्त पार्टी स्कुलिङमा नियमित ३९ जना प्रशिक्षार्थी सहभागी थिए ।

नेकपाका पोलिटब्युरो सदस्य तथा स्कुलिङ विभागका सदस्य भरत बम ‘रणवीर’ को प्रमुख आतिथ्यमा भएको उक्त स्कुलिङ कार्यक्रमको अध्यक्षता भेरी ब्युरो सदस्य हिमशिखर र सञ्चालन ब्युरो सदस्य निलम आरसीले गरेका थिए भने स्वागत मन्तव्य जाजरकोट जिल्ला पार्टी सचिव के.बी. मल्लले दिएका थिए ।

पार्टी स्कुलमा कार्यक्रमका प्रमुख अतिथि रणवीरले दर्शनशास्त्र, पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ ले वैज्ञानिक समाजवाद, केन्द्रीय कार्यालय सचिव तथा केन्द्रीय सदस्य भेषराज भुसाल ‘ध्रुव’ ले राजनीतिक अर्थशास्त्र, केन्द्रीय स्कुलिङ विभाग सदस्य शेरकुमार खड्का ‘गति’ ले नेपाल कम्युनिस्ट पार्टीको इतिहास विषयमा पढाएका थिए । स्कुलिङमा सहभागी प्रशिक्षार्थीहरू उत्साह, उमङ्ग र जिज्ञासु भएर सहभागिता जनाएका थिए । कार्यक्रमको अन्तिममा प्रशिक्षार्थीका तर्फबाट सुर्खेतबाट रघुवीर, अभियान टोलीबाट ममता, परिवर्तन र जाजरकोटबाट दीप लामाले स्कुलिङले समीक्षात्मक भनाइ राखेका थिए । उनीहरूले स्कुलिङबाट थप अध्ययनमा रुचि, एकीकृत जनक्रान्तिको कार्यदिशाबारे प्रस्टता र पुरानो स्कुलिङको अन्त्य भई नयाँ स्कुलिङको सुरुआत भएको र अध्ययनशील बन्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको समापनमा प्रमुख अतिथि रणवीरले नेपाली क्रान्तिले धक्का खाएकाले अब एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादमा पुग्नका लागि सिद्धान्तमा आर्जित ज्ञानलाई व्यवहारबाटमा अथवा जनसमुदायमा लैजानुपर्ने अथवा भौतिक शक्तिलाई सशस्त्र पार्नुभन्दा पहिले ज्ञानलाई सशक्त पार्नुपर्ने आवश्यकतामा जोड दिएको जाजरकोट रिम्नाबाट हिमशिखरले पठाएको समाचारमा उल्लेख छ ।

२०७५ फागुन ७ गते मङ्गलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :