अनेम सङ्घ (क्रान्तिकारी) ललितपुरमा परियार

दलाल संसदीय व्यवस्था नभत्काएसम्म महिला मुक्ति असम्भव : भृकुटी

ललितपुर : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ललितपुरको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले शोभा परियारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

भेलाकी प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ ले वर्तमान सरकारलाई ‘दलाल संसदीय व्यवस्थाको अंश’ भन्दै यसलाई खारेज गरेर नेपाली जनताको आफ्नै राज्यव्यवस्था स्थापना नगरेसम्म महिलामाथि भइरहेको हिंसा र अत्याचार निर्मूल नहुने बताइन् ।

‘दलाल राज्यसत्ता कायम रहेसम्म नेपाली महिलाहरूले भोगिरहेको हत्या, हिंसा र अन्यायबाट मुक्ति मिल्ने आधारै छैन’, उनले भनिन् ‘त्यसैले जनताको आफ्नै सत्ताका रूपमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापनाको सङ्घर्ष चलिरहेको छ ।’ जनताको सत्ता स्थापना नभएसम्म क्रान्ति नरोकिने उनको भनाइ थियो ।

भेलाका विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी ललितपुरका सेक्रेटरी विपीन शर्माले जनयुद्धले नेपाली समाजमा महिलालाई सशक्त बनाए पनि त्यसलाई अहिलेको दलाल सरकारले उल्ट्याउँदै लगेको बताए । जनयुद्धको उद्देश्य पूरा नभएकाले महिलाको पूर्ण मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपाको नेतृत्वमा सुरु गरिएको एकीकृत जनक्रान्तिमा गोलबन्द हुन विपीनले अपिल गरे ।

सरकारले नेकपा र त्यसका जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताहरूमाथि शान्तिपूर्ण राजनीतिक अभियानका क्रममा दमन र धरपकड जारी राखेर सामाजिक फासिवाद लाद्न खाजेको बताउँदै त्यसलाई रोक्न उनले माग गरे । नरोकिए कडा प्रतिवादमा उत्रने चेतावनीसमेत उनले दिए । बन्दी बनाइएका सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्नसमेत उनले सरकारसँग माग गरे ।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य एवम् काठमाडौँ उपत्यका संयोजक राजकुमारी शाही ‘उषा’ ले महिलालाई चुलोचौकोमा मात्र सीमित राख्ने र अन्याय, हिंसाको चङ्गुलमा पर्दासमेत मौन बस्ने सरकार जनताको सरकार हुन नसक्ने बताइन् । सरकार अत्याचारी र भ्रष्टाचारीको घेराबाट बाहिर निस्कन नसकेको भन्दै अब जनताको आफ्नै सत्ता गठन गरेर सञ्चालन गर्ने दिशातर्फ केन्द्रित हुने बेला आइसकेको उनको धारणा थियो ।

भेलाले सचिवमा सुस्मिता ढुङ्गेल, सहसचिवमा मङ्गला मानन्धर र कोषाध्यक्षमा निशा नापितलाई निर्वाचित गरेको छ । सदस्यहरूमा मालती भुसाल, रञ्जु कर्माचार्य, निरमाया तामाङ, अनिता श्रेष्ठ, लक्ष्मी भण्डारी, पविता राई, सञ्जिता शेर्पा, बिना लामा, कान्छी तामाङ, विष्णु राईलगायत निर्वाचित भएका छन् ।

कार्यक्रममा नेवाः मुक्ति मोर्चाका उपत्यका संयोजक सुरेन्द्र महर्जन, नेता कुमाल सैँजुवाललगायतको उपस्थिति थियो । भेलाको अध्यक्षता शोभा परियारले गरेकी थिइन् । नयाँ नेतृत्व चयन भएसँगै अध्यक्ष परियारले महिला मुक्ति र एकीकृत जनक्रान्तिको कार्यदिशालाई समाजमा लैजान र परिवर्तनका लागि सक्रिय र इमानदारीसाथ लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

२०७५ फागुन ५ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :