सेना–प्रहरी सबैलाई क्रान्तिमा साथ दिन नेता पुनको आह्वान

झापाली उत्पीडितहरूले जनसरकार र जनअदालतमा मुद्दा दर्ता गराए

झापा : नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय सङ्गठनहरूको संयुक्त जनसभा झापाको भद्रपुरमा सम्पन्न भएको छ । जनसभामा नेकपाका पोलिटब्युरो सदस्य तथा भूमिहीन सुकुमबासी महासङ्घका अध्यक्ष ओमप्रकाश पुन प्रमुख अतिथि थिए ।

सभालाई सम्बोधन गर्दै नेकपाका नेता पुनले केपी ओलीहरू दलाल पुँजीवादी दलाल र प्रचण्ड–बाबुराम र बादल क्रान्तिको भगौडा र पुँजीवादी पिँजडाभित्रका सुगा भएको बताए । उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरूसँग आफूहरूको दुस्मनी नभएको र राष्ट्रिय स्वाधीनताका निमित्त प्रहरी–सेना सबै नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिको धारमा आउनुपर्ने बताएका छन् । उनले पुलिस–सेना केपी–बादल–प्रचण्डहरूका कार्यकर्ता नभएर देशको सेवक भएकाले राष्ट्रिय स्वाधीनता र सीमारक्षाका लागि नेकपासँगै लाग्न आग्रह गरे । वर्तमान दलाल राज्यसत्तामा धमिरा लागिसकेकाले वैज्ञानिक समाजवाद टाढा नरहेको उनको भनाइ थियो ।

नेता पुनले हिजो गणतन्त्र ल्याउनका निमित्त आफुहरू लडिरहँदा राजाको पाउमा भेट चढाएको भन्दै केपी ओलीलाई गणतन्त्रविरोधी र नैतिकता नभएको पात्रका रुपमा चित्रण गरे । ओलीले तत्कालीन नेकपा माओवादी गणतन्त्रका लागि लड्दै गर्दा नेपालमा गणतन्त्र ल्याउँछु भन्नु बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै नेता पुनले बन्दुकले कुनै सत्ता नटिक्ने भएकाले सबै एकपटक राष्ट्रिय स्वाधीनताका लागि एक हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले विद्यार्थीलाई सम्बोधन गर्दै देशमा वैज्ञानिक समाजवादी शिक्षा आवश्यक रहेको बताए । देशमा शैक्षिक माफियाहरूको हालीमुहाली बढिरहेको र दलालहरूको बिगबिगी रहेको भन्दै उनले क्रान्तिकारी विद्यार्थीले वर्ग जन्माउने शिक्षा अन्त्य गरेर वैज्ञानिक समाजवादी शिक्षा लागू गराउन जस्तोसुकै आन्दोलन गर्न तयार हुनुपर्ने बताए । आइपरे बन्दुक बोक्न पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा झापाका पीडित, शोसित, सुकुमबासीहरूले आफूहरूमाथि सरकारी जनप्रतिनिधिलगायतले दमन गरेको भन्दै जनसरकार र जनअदालतमा मुद्दा दर्ता गराएका छन् ।

सरकारी कार्यालयहरूको माझमा भएको उक्त कार्यक्रममा झापा जिल्ला सेक्रेटेरी सुमनसिंह पौडेलले सरकारी प्रतिनिधिले मजदुर, सुकुमबासी र गरिब जनतामाथि विभेद, शोषण र दमन नत्यागे गम्भीर परिस्थिति भोग्न तयार हुनुपर्ने चेतावनी दिए । पौडेलले नगरपालिकाका मेयरलगायत प्रतिनिधिहरूले रातारात कसरी पजेरो चढे, उनीहरू रातारात कसरी करोडपति बने ? जनताको न्यायका लागि के गरे भन्ने प्रश्न गरेका थिए । जनप्रतिनिधिहरूले जनहितविपरीत काम गरिरहेमा र सुकुमबासी बस्ती उठाएमा उनीहरूका गाडी सडकमा नगुडेर बममा उड्ने चेतावनी दिए ।

इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठले झापा आन्दोलनको नेतृत्व गर्ने केपी ओलीहरू हेर्दाहेर्दै दलालमा परिणत भएको बताए । अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सञ्जय राईलगायतले पनि सभालाई सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता किसान महासङ्घका जिल्ला अध्यक्ष खोम मिश्रले गरेका थिए । कार्यक्रममा सामना परिवारले कार्यक्रम प्रस्तुत गरेको थियो । भद्रपुरको लेखनाथ चोकबाट ¥याली सुरु भई नजिकैको मैदानमा कार्यक्रम सम्पन्न भएको थियोे ।

तस्वीरहरू

२०७५ फागुन ५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :