नेकपाको अभियानमा पूर्णकालीन बन्ने युवाहरूको धुइरो

  काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको प्रभाव स्वरुप देशभरबाट पार्टीमा युवाहरूको आकर्षण बढ्नुका साथै पूर्णकालीन हुनेको सङ्ख्या बढेको छ । अभियान सुरु भएको केही दिनमै जनकपुर ब्युरोअन्तर्गत सिन्धुली जिल्लाबाट मात्रै तीनजना पार्टीमा पूर्णकालीन भइसकेका छन् । उक्त ब्युरोमा जारी अभियानको नेतृत्व पार्टी पीबीएम उमा भुजेल ‘शिलु’ ले गरिरहेकी छिन् । जिल्लाको गोलन्जर गाउँपालिकास्थित दमैडाँडाकी सुविक्षा नेपाली नेपाल कम्युनिस्ट पार्टीमा पूर्णकालीन कार्यकर्ता भएकी छिन् ।

छोरी सुविक्षालाई पार्टीमा पूर्णकालीन कार्यकर्ता बनाएर सीताले अभियान टोली प्रमुख शिलुको जिम्मा लगाइन् । यस घटनाले जनयुद्धको जीवन्त झल्को मिलेको प्रमुख शिलुले बताइन् । बिदाइको क्षणमा भावविभोर बनेकी आमा सीताले भनिन्, ‘हामी सधैँ कति दबिएर बस्नु ? छोरीले राम्रोे गरेर देखाउनुपर्छ । छोरी घरबाट गए पनि आमाभन्दा असल ठूली दिदीको साथमा गएकी छे । यसबाट म खुसी छु ।’
छोरी क्रान्तिमा गएपछि आफूहरूले कसैको हेपाइ र चेपुवा सहनु नपर्ने विश्वास आमा सीताले व्यक्त गरिन् ।

सिन्धुलीबाटै राजु रम्तेल र राजु ठकुरी पनि पार्टीमा पूर्णकालीन भएका छन् । अभियानका क्रममा स्वेच्छाले नेपाली क्रान्तिमा भर्ती हुन चाहनेको सङ्ख्या दैनिक बढेको छ ।
यस्तै सगरमाथा र कोसी व्युरोबाट ६–६ जना पूर्णकालीन भएका छन् । भोजपुरको अरुण गाउँपालिकाबाट धनबहादुर राई, सुमन राईलगायत रहेका छन् भने त्रियुगा नगरपालिका ६ बाट रामकृष्ण सदालगायत छन् ।

अभियान टोलीका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य सञ्जीवले नेकपामा पूर्णकालीन हुनेको सङ्ख्या र युवाहरूको आकर्षण बढेको बताए । उनले अन्य विभिन्न पार्टीमा सक्रिय राजनीति गरेका र निर्वाचनमा उम्मेदवार बनेकाहरू पनि पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरिरहेको बताए ।

कोसी ब्युरोअन्तर्गत धनकुटाको साँघुरीगढी ७ बाट सहदेव राई, प्रकाश राई, थामबहादुर राई र देउमान राई अभियानकै क्रममा पार्टीमा पूर्णकालीन भएको समाचार प्राप्त भएको छ । यस्तै कैलालीबाट पनि अभियानकै क्रममा २० जना पूर्णकालीन भएको जानकारी जिल्ला इन्चार्ज विवेक कुमालले दिए ।

जनकपुर ब्युरोको अभियान टोलीकी प्रमुख शिलुले अभियानका क्रममा नेकपाप्रति युवा वर्गको आकर्षण बढेको बताइन् । जनताको घरदैलोमा पुगेर उनीहरूसँगै छलफल र जनश्रमदानमा अभियन्ताहरू जुटेको र यसले राम्रो प्रभाव पारेको उनको भनाइ छ ।

२०७५ फागुन ४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :