गाउँ नै रित्याएर पूर्वमाओवादी केन्द्रका केन्द्रीय सदस्यसहित नेकपा प्रवेश

रुकुम : जिल्लामा तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड सहायक कमान्डरसहित एक सयभन्दा बढी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरूमा पूर्वमाओवादी केन्द्रका नेता–कार्यकर्ता रहेका छन् ।

जनयुद्ध दिवसका अवसरमा पश्चिम रुकुमको चौरजहारीमा आयोजित कार्यक्रममा पूर्वमाओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड सहायक कमान्डर शिशिर नकालसहित एक सयभन्दा धेरै नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूमा पूर्वमाओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर बोहरा, एमालेका चौरहजारी नगर समितिका उपाध्यक्ष जितबहादुर विक, वाईसीएलका चौरजहारी नगर समिति सचिव गोविन्द महरलगायत रहेको जानकारी नेकपाका पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढाले दिएका छन् ।

बुढाका अनुसार पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान जिल्लाभर चलिरहेको छ । यो अभियानमा पार्टी प्रवेश गर्ने लहर बढिरहेको उनले बताए ।

यसैबीच नेकपा निकट अखिल (क्रान्तिकारी) पश्चिम रुकुमको अध्यक्षमा सुरेन्द्र बस्नेत चयन भएका छन् । सङ्गठनको २४ औँ जिल्ला सम्मेलनले बस्नेतको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । सङ्गठनको उपाध्यक्षमा प्रेम प्रशान्त, सचिव हरि पुन, सहसचिव वसन्त चन्द र कोषाध्यक्षमा सोमपाल कामी रहेका छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चिरन पुन ‘मिलन’, रुकुम इन्चार्ज तथा केन्द्रीय सदस्य अटल, दैलेख इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, युवा सङ्घका केन्द्रीय अध्यक्ष पाटनलगायतको सहभागिता थियो ।

२०७५ फागुन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :