नेकपाले दिलाइदियो पीडितलाई जग्गा


गोदावारी, ललितपुर : नेपाल कम्युनिस्ट पार्टीले ललितपुरको गोदावरीस्थित दमाईडाँडामा रहेको हीरादेवी तिमल्सिनाको जग्गामा साँधसीमा छुट्ट्याएर किला गाडिदिएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ को दमाईडाँडामा रहेको हीरादेवीको जग्गा लामो समयदेखि छिमेकी मनिराम खड्काले भोगचलन गर्दै आएका थिए । धनीपुर्जामा हीरादेवीको जग्गा भए पनि भोगचलन भने मनिरामले गर्दै आएको भन्दै वडा कार्यलयमा समेत उजुरी परेको थियो ।


हीरादेवीले आफ्नो धनीपुर्जामा भएको जग्गा छिमेकीले भोगचलन गर्दै आएकाले आफूले उक्त जग्गा फिर्ता पाउनुपर्ने माग गरेकी थिइन् । वडा कार्यालयले आफूलाई न्याय नदिएको भन्दै उनले न्याय दिलाइदिन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा उजुरी गरेकाले उनलाई न्याय दिलाइदिएको पार्टीले जनाएको छ । शुक्रबार जग्गाको सिमाना छुट्ट्याएर किला गाडिदिएको नेकपा ललितपुरले जनाएको छ ।

२०७५ फागुन ४ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :