मुक्तिका लागि कैलालीका थारूहरूको उद्घोष

जनयुद्ध दिवसमा जनवादी विवाह


कैलाली : वैज्ञानिक समाजवाद ओ स्वायत्त गणराज्य प्राप्तिके लाग थारूवान आन्दोलन ! आत्मनिर्णके अधिकार ओ जातीय स्वशासनके लाग सातौं जिल्ला सम्मेलन !! भन्ने मूल नारासहित राष्ट्रिय थारू मुक्ति मोर्चा कैलालीको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । २४ औँ जनयुद्ध दिवसका अवसरमा फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी कैलालीले मोर्चाको सम्मेलन भव्य रूपमा सम्पन्न गरेको हो ।
सम्मेलनले १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको अध्यक्षमा सीताराम थारू, उपाध्यक्ष सेरा थारू, सचिव उन्नति थारू, सहसचिव कमल थारू, कोषाध्यक्ष हरिराम थारू, सदस्यहरू राधा चौधरी, केआईसी थारू, प्रकाश थारू, प्रेम थारू, कालीचरण थारू, हीरादेवी थारू, चेतराम थारू, रन्जु थारू, ल्यप्टन थारू र सोनिया थारू छन् ।


सम्मेलनमा प्रमुख अतिथिका रूपमा नेकपा सेती ब्युरो सदस्य तथा थारूवान जनपरिषद् नेपालका प्रमुख रामबहादुर चौधरी ‘महान्’, विशिष्ट अतिथि कैलाली जिल्ला इन्चार्ज विवेक, कैलाली जिल्ला सेक्रेटरी प्रकाश, अतिथि नयाँ शक्ति पार्टीका संयोजक कृष्णकुमार चौधरी ‘कुन्दन’, थारू कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव चौधरी, पार्टी जवसका सबै प्रमुख सहभागी थिए । कार्यक्रमको सञ्चालन कैलाली जिल्ला सचिवालय सदस्य एवम् जनसरकार प्रमुख करणले गरेका थिए ।


सम्मेलनका प्रमुख अतिथि नेकपा सेती ब्युरो सदस्य तथा थारूवान जनपरिषद् नेपालका प्रमुख रामबहादुर चौधरी ‘महान्’ ले भने, ‘धोका पाएको थारू समुदायलाई एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादले मात्र थारू मुक्ति दिन सक्नेछ । जोखन र मंगलजस्ता महान् सहिदहरूले बगाएको रगत कुनै हालतमा खेर जान नदिने बताउनु भयो । साथै समग्र आदिवासी जनजाती थारू समुदायको थारू आन्दोलनको अगुवाको रुपमा हाम्रो मोर्चाले सबभन्दा महत्वपूर्ण असल भूमिका खेल्ने बताउनु भयो । हामी अहिलेसम्म आँखा चिम्लिँदै थारू मुक्तिका निम्ति आफ्नो घरपरिवार त्यागेर क्रान्तिमा लागेका छौँ । दसबर्से जनयुद्धमा थारूहरूको भूमिका र बलिदान पनि सबैभन्दा बढी रहेको छ ।’
उनले भने, ‘अब थारूहरू फेरि जुर्मुराएर नउठे थारू समुदायको अधिकार खोसिनेछ । त्यसैले एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्रै सम्पूर्ण थारू समुदायको अधिकार प्राप्त हुने हो । नेपाल कम्युनिस्ट पार्टीले मात्रै आदिवासी जनजातिहरूको मुद्दा उठाएकाले प्रचण्ड–बाबुरामलगायत गद्दारले दिएको धोकाबाट पाठ सिक्दै हामीबाट धोका हुँदैन भन्ने स्पष्ट पार्नु आवश्यक छ ।’ उनले थारू समुदायलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा समेल हुन पनि आह्वान गरे ।

सम्मेलनमा सम्बोधन गर्दै जिल्ला इन्चार्ज विवेकले भने, ‘जनयुद्धमा थारूको ठूलो बलिदान भएको छ । थारूहरूको मुक्तिका लागि नेपाल कम्युनिस्ट पार्टी सदैव साथमा रहनेछ । यहाँ थारूहरूको बाहुल्य भएको हुनाले विशेषतः थारूहरूले नै एकीकृत जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेछ ।’

कार्यक्रममा जिल्ला सेक्रेटरी प्रकाशले भने, ‘कम्युनिस्ट आन्दोलनमा सबैभन्दा बढी योगदान र बलिदान थारूहरूको भएको हुनाले अब एकीकृत जनक्रान्तिले मात्र थारूहरूको मुक्ति हुन्छ । टीकापुरको घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिनुपर्छ । यो राज्यले निर्दोष थारूहरूलाई अहिले जेलमा राखेर राजनीतिबाट टाढा राख्न खोजिरहेको छ । यसको प्रतिवाद गर्नुपर्छ ।’
नयाँ शक्ति पार्टीका संयोजक कृष्णकुमार चौधरी ‘कुन्दन’ ले भने, ‘थारूहरूको सम्मेलनले देश र जनताको मुक्ति गराउने नेतृत्व निर्माण गर्नुपर्छ । थारूहरूको हकहितका लागि नयाँ शक्ति पनि साथमा रहनेछ ।’
समेलनमा थारू संस्कृति झल्किने सखिया नृत्यलगायत झाँकीहरू प्रस्तुत गरिएको थियो ।


जनयुद्ध दिवसमा जनवादी विवाह
जनयुद्धको समयमा महिला र पुरुष दुवैले प्रेम प्रस्ताव राखेपछि पार्टीले क्रान्तिको हित हुने गरी जनवादी विवाहको वातावरण बनाइदिने गथ्र्यो । नेपाल कम्युनिस्ट पार्टीमा अहिले पनि त्यसरी जनवादी विवाह गर्ने चलन छ । कैलालीको घोडाघोडी नगरपालिका–१२ पहलमानपुर (वनवर्षा) मा त्यसैको निरन्तरताको शैलीमा २४ औँ जनयुद्ध दिवसको अवसर पारेर एक लालजोडीको जनवादी विवाह भएको छ ।
जनयुद्ध कालको झझल्को दिने गरी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य झलक विक र मीना चौधरीबीच अन्तरजातीय जनवादी विवाह भएको हो । वर र बधुले एकअर्कालाई फूलमाला र अबिर लगाएका थिए । समाजको बढ्दो विकृतिलाई चुनौती दिँदै विक र चौधरीले अन्तरजातीय जनवादी विवाह गरेका हुन् । उक्त विवाह राष्ट्रिय थारू मुक्ति मोर्चाको आयोजनामा सम्पन्न भएको हो ।

२०७५ फागुन ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :