रगतले लेखिएको इतिहास जारी छ

मैले एकजना कम्युनिस्ट योद्घा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्योे प्यारो !, दृढ र हँसिलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रूपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरूसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’

आज आएर फेरि भन्नुपर्ने भएको छ– क. विजय घले, क. दीर्घ, क. तीर्थ गौतम, क. शेरमान, क. सुनिल, क. लली, क. वासु, क. रीतबहादुर, क. सपना, क. दिलमायालगायत दस हजारभन्दा बढी नेपाली जनताका सर्वोत्तम छोराछोरीहरू ! तपाईंहरूको रगतमाथि खडा भएको वैज्ञानिक समाजवादको धरोहर गद्दार प्रचण्ड र बाबुरामहरूले खरानी बनाउने दुस्साहस गर्दै जनयुद्धको विसर्जन गरेका थिए । तिम्रो सपनाको हत्या गर्ने ती साइलकहरूलाई तिमीहरूको सालिकमाथि फूल चढाउने सहिद–स्मारकभन्दा दायाँतिरको खोल्सामा नाक थुन्दै र पिच्च थुक्दै जाने चिहान बनाउन हामीले क्रान्ति जारी राखेका छौँ । तपाईंहरूले मैदानमा खसालेको रातो झोला र एके सत्चालीस हाम्रो काँधमा छ । तिमीहरू सगरमाथा भएर उभिएका छौ र दुस्मन मृत्युशैय्यामा छट्पटाउँदैछ ।

सहिद र वेपत्ता योद्धाका परिवारजनहरू ! हामी चौबीसौँ जनयुद्ध दिवसका अवसरमा तपाईंहरूसँगै काँधमा–काँध, हातमा–हात मिलाएर वैज्ञानिक समाजवादी जनगणतन्त्र प्राप्त गर्न क्रान्तिको नयाँ मोडेल एकीकृत जनक्रान्तिका लागि पङ्क्तिबद्ध भएर अघि बढ्ने प्रतिज्ञा गर्दछौँ । तपाईंहरूका प्रियजनहरूको रगतमाथि होली खेल्ने र तपाईंहरूको आँसु र पसिनाको आहालमाथि डुबुल्की मार्ने प्रचण्ड, बाबुराम, बादल र नारायणकाजीहरू जनयुद्धको बध गर्न कस्सिएका कसाईहरू केपी ओली र माधव नेपालसँग मिल्न गएका छन् । अमेरिकाली साम्राज्यवादको दक्षिणकोरियामा रखबारी गर्ने कुत्ता हक जा हानमुनका ‘होली वाइन’ (पवित्र जाँड) चाखेर उनीहरूले नेपाली ‘सैतानहरू’ (क्रान्तिकारीहरू) लाई सखाप पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहिद परिवारजन ! यी राक्षसहरूलाई होइन त तपाईंहरूले आफ्नो खाँदाखाँदै गरेको गाँस र सुत्न थालेको न्यानो ओछ्यान दिएर पालानपोषण गरेको ? इतिहासले उनीहरूलाई अपराधी घोषणा गरेको छ, सहिद परिवारजन र नेपाली श्रमजीवी तथा उत्पीडित जनताले सजाय दिने नै छन् ।

सहिद परिवारजन र श्रमजीवी तथा उत्पीडित जनगण ! सहिदहरूले मनमस्तिष्कभरि महान् सपनाहरू सजाएका थिए । उनीहरूका सपना व्यक्तिगत थिएनन् । उनीहरूले आँखाभरि आँसु र मुटुभरि वेदना भरिएका शोषित–उत्पीडित जनताको सपना देखेका थिए । मानिसहरूद्वारा मानिसहरूको शोषणको अन्त्य भएको एउटा स्वच्छ हावा बहने गाउँ वा सहर होस् । गाउँ र सहरका मानिसहरूको श्रम सबैको कर्तव्य बनोस् र श्रमले मुक्ति पाओस् । यसले गर्दा गाउँ र सहरको, शारीरिक श्रम र मानसिक श्रमका बीचको भेदभाव हट्दै जाओस् । गाउँ वा सहरको मास्तिर लटरम्म स्याउ, नास्पाती, किबी र अङ्गुरहरू फलून् अनि गाउँ वा सहरको तलतिर फाँटहरूमा झपक्क धान, गहुँ र तोरीका बालाहरू झुलून् । सहर र गाउँभन्दा केही किलोमिटर पर नदीको किनारमा वा जङ्गलको छेउमा वैज्ञानिक ढङ्गले कारखानाहरू चलून्, बच्चाबच्चीहरूका लागि हरेक घरमा दुग्धशालामा जोडिएका पाइपबाट आवश्यक दूध आओस् । सहर र गाउँका बीचमा निकुञ्ज होऊन् । सुन्दर काठमाडौँ र पोखरा उपत्यकालाई कुरूप बनाउने भूमाफियामाथि अपराधी घोषणा गरेर जनअदालतमा बुझाइयोस् । काठमाडौैैँको बीच भागमा समग्र देशको जनप्रशासनिक निकाय होस् । त्यसको बाहिर हरित पेटी र त्यसका बीचबीचबाट विभिन्न प्रशासनिक निकायमा छिर्ने बाटाहरू, त्यसबाहिर निश्चित दूरीमा राखिएका घरहरूमा बजार । यो चक्रपछि फेरि चक्रपथ होस् र हरित चक्र र फेरि बजार । बीचबीचमा मानव जातिको सुविधाका लागि निकुञ्ज । यसरी नै तराईको उर्वर भूमि भूमाफियाको हातमा नजाओस् । त्यहाँ बजार र उत्पादन क्षेत्र छुट्ट्याइयोस् । देशका हरेक सहर र गाउँ धुवाँ–धुलोरहित होऊन् । कतै कोही रुने र कोही हाँस्ने स्थिति नबनोस् । कसैले मस्तीसँग लुटेर खाने र कोही रगत–पसिना बगाउँदा पनि कुपोषणले मर्ने स्थिति नबनोस् । हरेक मानिसले आफ्नो योग्यताअनुसार काम गरोस् र आवश्यकताअनुसार लैजाओस् । गाँस, बास, कपासको मात्र होइन, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारको समस्या कुनै टाउकोदुःखाइको विषय नहोस् । गाउँ–सहरको मास्तिर फल्ने स्याउजस्तै गाला भएका मानिस होऊन् र गाउँ र सहरको तल फाँटमा झुलेका अन्नबालीजस्तै खुसी जनगण होऊन् ।

यही सपना बोकेर उनीहरूले दस वर्षको गौरवमय हतिहासका हरेक मोर्चामा बलिदान गरेका थिए । उनीहरूले त्यो बलिदान जुन सत्ताका विरुद्ध विद्रोह गर्दा गरेका थिए त्यसैमा आँखा चिम्लेर हाम्फाल्नका लागि होइन । एउटा भौतिकवादी कम्युनिस्ट क्रिस्चियन भएर डलर पाउने रूढिवादी आदर्शवादको चाकर बन्नका लागि होइन । उनीहरू द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विजयका लागि र अधिभूतवादी आदर्शवादको पराजयका लागि लडेका थिए । ती सहिद योद्धाहरूले दह्रोसँग समातेका बन्दुकहरूमा गोलीको म्यागेजिन मात्र थिएन, दिमागमा माक्र्सवाद–लेनिनवाद–माओवादको म्यागेजिन पनि जोडिएको थियो । त्यसकारण जनयुद्धमा बन्दुकको मोहरीबाट विध्वंशक गोली मात्र निस्केका थिएनन्, बरु सिर्जनाका फूलहरू फुलेका थिए । कविता, गीत र उपन्यासहरू लेखिएका थिए । नयाँ विद्यालयहरू खुलेका थिए । होलेरीदेखि थबाङसम्म सहिद मार्ग खनिएको थियो । रोल्पाको घोर्नेटीमा जननमुना अस्पताल बनेको थियो । त्यो यात्रा जारी छ । एकीकृत जनक्रान्तिका बन्दुकहरूले खुलालु–मालकोट– रूपसाको बाटो बनाउँदैछन् । थबाङमा भव्य इमारत खडा भएको छ । च्यात्रामा स्कुल बन्दैछ । सर्लाहीको हजारियामा सल्लाहकार सचिव चित्रबहादुर आलेको घर । जनयुद्धमा जसरी नयाँ विचारधारा, नयाँ सस्कृति, नयाँ चालचलन र रीतिरिबाजको विकास हुँदै थियो त्यसरी नै हामी त्यसको विकास गर्दैछौँ । हाम्रा बन्दुकहरूले समाजवाद ल्याउने मात्र होइन, समाजवाद टिकाउने विचारधारा विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।

खबरदार, धोकेबाज प्रचण्डहरू फेरि ‘ठूलो माओवादी आन्दोलन हुनसक्छ’ भनेर हाम्रा बन्दुकहरूलाई नगदीकरण गर्ने षड्यन्त्र नगर । तिम्रा सबै कर्तुतहरू हामीलाई राम्रोसँग थाहा छ । जनयुद्धको ब्याज खाँदै एकीकृत जनक्रान्तिको नगदीकरण गरी तिमी केपी ओलीलाई तर्साएर भारतको आडमा प्रधानमन्त्री बन्ने दुस्साहस नगर । भेनेजुएलाका मडुरोलाई समर्थन गरेर भारतको आड लिने र चिनियाँ विश्वास जित्ने कल्पना नगर । भारतका मोदी र चीनका सी चिन फिङ तिमीभन्दा धेरै बाठा छन् ।

आदरणीय सहिद तथा बेपत्ता योद्धा परिवारजन र घाइते–अपाङ्ग योद्धाहरू,

जनयुद्धले हामीलाई बन्दुकबाट छुट्टी पाउन बन्दुक उठाउनैपर्छ भन्ने माओको भनाइलाई पुष्टि गरेको छ । उत्पीडित जनसमुदायको कुनै पनि सदस्यले बन्दुक चलाउने कला नसिकीकन र बन्दुक उठाउने साहस नगरीकन मुक्ति प्राप्त गर्न चाहन्छ भने त्यो दास हुन लायक हुन्छ । संसदीय चुनावबाट न कुनै उत्पीडित वर्गको सदस्य मुक्त हुनसक्छ, न त उत्पीडित वर्गको सत्ता प्राप्त हुन्छ । बरु पार्टीले बन्दुक चलाउनुपर्छ र बन्दुकले पार्टी चलाउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट हुुनुपर्छ । क्रान्तिकारी भनेको त्यो हो जसले बन्दुक लिएर समाज रूपान्तरण गर्दछ । बन्दुक लिएर जसले उत्पीडित वर्गको शोषण, दमन र अत्याचार गर्दछ त्यो शोषक वर्ग हो । यही कुरा आज केपी ओली र पीके दाहालले गरिरहेका छन् । उनीहरूले बन्दुक लिएर तस्करी, भ्रष्टाचार र बलात्कार गरिरहेका छन् । त्यसकारण बन्दुक उठाउँदैमा कोही पनि क्रान्तिकारी हुँदैन । वर्गदृष्टिकोणसहितको बन्दुक मात्र सार्थक हुन्छ ।

हामी हाम्रा कमरेडहरूलाई दस वर्षको गौरवमय इतिहासमा देशका गाउँ–बस्ती र कुनाकन्दरामा दफनाएर आएका छौँ । त्रिवेणी, बेथान, घोराही, अछाम, सल्लेरी, स्याङ्जा, सतीपोले, गाम, चित्रेभन्ज्याङ, बेनीबजार जुम्ला, सन्धिखर्क, ठाकुरद्वारा आदि ब्यारेकहरूमाथि हमला गर्दा विजय र पराजय दुवैका लागि वीरहरूलाई छोडेर आएका छौँ । हामीले मालेमावादको मार्गनिर्देशनमा सहिदहरूको रगतले सिँचिएको एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको विकास गरेका छौँ । यसलाई लागू गर्नु नै सहिदहरूको सपना साकार पार्नु हो । हामी जनयुद्धको २४ औँ वार्षिकोत्वका अवसरमा सहिदको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२०७५ फागुन ३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!