जनयुद्धको पदचाप

आज जनयुद्धको पहल गरिएको २३ वर्ष पूरा भएर २४ वर्ष लागेको छ । यी २३ वर्षहरूमा जनयुद्धले १० वर्ष २ महिनामा नेपालको राजनीतिमा निकै ठूलो परिवर्तन ल्याइदिएको थियो । यहाँको परम्परागत सामन्ती राजतन्त्रको जरो नै उखेलिदियो । त्यसैगरी सामन्ती राजतन्त्र र संसदीय व्यवस्थाको पहरेदार बनेको यहाँको परम्परागत सुरक्षा शक्तिलाई धुलो चटाएर नेपाली जनता र देशको रक्षा गर्न सक्षम अपराजित जनमुक्ति सेनाको निर्माण भएको थियो । जसले भारतीय साम्राज्यवादका विरुद्ध सुरुङ युद्धको घोषणा पनि गरेको थियो । नेपाली जनताको आफ्नै जनसत्ता स्थापना भएको थियो । जनताले न्याय पाएका थिए । विकास निर्माण भएको थियो । जनवादी विद्यालयहरू खुलेका थिए । जनस्वास्थ्यालयहरू सञ्चालित भएका थिए । पुँजीवादी अर्थनीतिबाट अलग जनवादी अर्थनीति लागू भएका थिए । साम्यवादको प्रारूपका रूपमा जनकम्युनहरू सञ्चालित भएका थिए ।

जनताको परम्परागत संस्कृतिलाई समृद्ध गरी नयाँ जनसंस्कृतिको विकास गरिएको थियो । त्याग, बलिदान र समर्पणलाई जीवन ववहारमा लागू गरिएको थियो । कुरूपतालाई सुन्दरताले जितेको थियो । सहिद हुन, जनताका दुस्मनका विरुद्ध जेहाद छेड्नका लागि तँछाडमछाड हुने गर्दथ्यो । विश्व जित्ने अभिलाषा तीव्र रहेको थियो । माक्र्सवादमा आधारित सर्वहारा वर्गको गुमाउनका लागि केही छैन जित्नका लागि सारा संसार छ भन्ने आदर्शबाट पार्टी, नेता, कार्यकर्ताहरू प्रशिक्षित थिए ।

जनयुद्धले नेपाली सिमाना नाघेर अन्तर्राष्ट्रियकरण हुन पुगेको थियो । भारत, अमेरिका, पेरू, फिलिपिन्सजस्ता देशहरूमा यसको प्रचारप्रसार गरिएको थियो । लि अनेस्टो, आन्द्रेईहरू जनयुद्धको प्रत्यक्ष अनुभव र अनुभूति गर्न समुद्रपारबाट आउने गर्दथे । बुर्जुवा सञ्चारमाध्यमहरूले नै देशको ८० प्रतिशत भूभागमा जनसत्ताको अभ्यास भएका समाचारहरू प्रसारण गर्ने गर्दथे ।

पछिल्लो १३ वर्षमा जनयुद्ध छैन । जनसत्ता विघटन भयो । जनसेनालाई जनयुद्धका महानायक र केही नायकहरूले रुवाउँदै घर र अरबको खाडीमा पठाए । कतिलाई आत्महत्या गर्न बाध्य पारिदिएका थिए । जनयुद्धलाई आफ्नो जीवन र श्वासप्रश्वास सम्झिएका नेता, कार्यकर्ता र जनताले गरेको त्याग, बलिदान र समर्पणलाई केही मान्छेहरूले पुरानै सत्तामा पुगेर मोजमस्ती गर्ने, प्रतिष्ठा बढाउने, सन्तान दरसन्तानलाई पुग्ने अकुत सम्पत्ति जम्मा गर्ने काममा भ्रष्टीकरण गरिदिएका छन् । अहिले उनीहरूका लागि सहिद, बेपत्ता योद्धाहरू खेतीको विषय बनेका छन् । घाइते योद्धाहरू घाँडो हुन पुगेका छन् । जनता विशुद्ध आवधिक भोट बैङ्कमा परिणत भएका छन् ।

यी मान्छेहरूले नेपाली जनता र नेपाली जनयुद्धप्रति गद्दारी मात्र गरेका छैनन्, सबैखाले क्रान्ति र आन्दोलनहरू वैदशिक हस्तक्षेप वा प्रभावबाट बाहिर रहन नसक्ने भएकाले अब क्रान्ति गर्नु भनेको मूर्खता मात्र हो भन्ने भ्रम पार्ने कोसिस गरिराखेका छन् । उनीहरूको यो कुकार्यले यहाँका देशीविदेशी प्रतिक्रियावादीको सेवा गर्न पुगेको छ भने जनतामा भ्रम पार्ने दुस्साहस गरिराखेको छ ।

जनयुद्धको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को मूल नेतृत्वमा आएको विचलनसँगै पार्टी पनि सिङ्गो रहन सकेन । त्यो मूल पार्टी अहिले चार विभिन्न विचारधारासहितको सङ्गठनमा विभक्त हुन पुगेको छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र प्रचण्डले नै दस्ताबेज र लेखहरूमा प्रतिक्रियावादी टिकान गरेको एमालेमा विलय भएर सरकारी नेकपा बन्न पुगेको छ । बाबुराम भट्टराईले माक्र्सवाद नै परित्याग गरी नयाँ शक्तिनामक बुर्जुवा पार्टी बनाएका छन् । मोहन वैद्य ‘किरण’ हरूले क्रान्तिकारी माओवादी बनाएका छन् । माक्र्सवादको सही र गहिरो अध्ययन गरी नेपाली क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिको आविष्कार गरी विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरी क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाइरहेको छ ।

जनयुद्ध महान् थियो, युगान्तकारी थियो, विश्व सर्वहारा वर्गको आशाभर ोसा र आधारइलाका बनेको थियो । हजारौँ सहिदहरू र बेपत्ता योद्धाहरूको रगतले सिञ्चित भएर हराभरा भएको थियो । नेता÷कार्यकर्ता र जनताको अथक परिश्रमले झाङ्गिएको थियो । फुलेको थियो, फलेको थियो ।

नेपालमा अहिले पनि जनयुद्धको आवश्यकता छ भन्ने कुरा जनताले अनुभूति र अभिव्यक्त गरिराखेका छन् । जनयुद्धको पदचाप पछ्याउन आतुर देखिन्छन् । मूल रूपमा केपी—प्रचण्डको स्वघोषित कम्युनिस्ट सरकारका क्रियाकलापले वाक्कदिक्क भएका जनताले अर्को नयाँ र फरक रूपमा जनयुद्धको आह्वान गरिराखेका छन् । त्यसैले नेपालमा अर्को एउटा युगान्तकारी क्रान्ति सर्वहारा वर्गको विचार, राजनीति र नेतृत्वमा चाहिएको छ । जनयुद्ध दिवस मनाइरहँदा नयाँ क्रान्तिलाई अँगाल्न जरुरी छ । नयाँ क्रान्तिको उद्घोष गर्न जरुरी छ । जनता र राष्ट्रलाई सबैखाले शोषण, दमन र उत्पीडनबाट मुक्त गर्न जरुरी छ । सम्पादकीय

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :