फागुन एक, जनयुद्ध र माक्र्सवाद

विज्ञानको इतिहासबाट के स्पष्ट छ भने जबजब कुनै धारणाहरूमाथि मानिसहरूको जड सिद्धान्तमा जस्तै अगाध विश्वास भयो तबतब यस्ता धारणाहरूको नकारात्मक प्रभावका कारण विज्ञानको प्रगतिमा सदा अवरोध नै पुगेको छ । त्यसकारण जुन सिद्धान्तहरूलाई हामी निर्विवाद मान्न लागेका छौँ, तिनीहरूको समयसमयमा अत्यन्तै सूक्ष्म आलोचना गरिरहनु नै उचित छ ।
(लुई डी ब्रोग्ली, भौतिक विज्ञानमा क्रान्ति : क्वान्टम सिद्धान्त, अनुवाद : रमेश सुनुवार, पेज २३४)

माक्सवादबारे
माक्र्सवाद समाज विज्ञानको एउटा सिद्धान्त हो । जबदेखि माक्र्सवादको प्रादुर्भाव भयो तबदेखि यसले आफूलाई समाज विज्ञानको एक सर्वोच्च क्रान्तिकारी सिद्धान्तका रूपमा स्थापित गर्दै आएको छ । इतिहासको चालक शक्तिका रूपमा श्रमिक जनतालाई खुट्याउनु र उभ्याउनुमा माक्र्सवादको सारतत्व अन्त्यर्निहित रहेको छ । इतिहासको स्वामित्व राजा–महाराजा र बडेबडे सैनिक कमान्डरहरूको हातबाट खोसेर जनतालाई सुम्पिदिनु माक्र्सवादको युगीन कार्य थियो । जब माक्र्सवादले इतिहासको नायकत्व श्रमिक वर्गको काँधमा सुम्पिदियो तब यसले आफ्नो वर्गपक्षधरतालाई खुलमखुला घोषणा ग¥यो– ‘माक्र्सवाद श्रमिक (मजदुर) वर्गको बौद्धिक हतियार हो ।’

माक्र्सवादले पत्ता लगाएको सत्य के हो भने उत्पादन र वितरण प्रणालीको इतिहास नै मानवसमाजको समग्र इतिहास हो । युद्ध र क्रान्तिहरू यसका सहउत्पादन मात्र हुन् । गरिबी कुनै प्राकृतिक उपजको वस्तु होइन, न त पूर्वजन्म र पुनर्जन्मकै परिणाम हो । श्रमको शोषण नै गरिबीको एक मात्र कारण हो । अतः आफूमाथिको शोषण सदाका लागि अन्त्यय गर्न श्रमजीवी (मजदुर) वर्गले सर्वप्रथम राज्यसत्ता आफ्नो हातमा लिन सक्षम हुनु जरुरी छ । तर त्यो त्यति सजिलो भने छैन । सत्तासीन वर्ग शस्त्रसज्जित छ । उसको हातमा कानुनको लौरो छ । उसले आफूलाई विरोध गर्नेहरूमाथि जुनकुनै पनि बेला त्यो लौरोले सजिलै हिर्काउन सक्छ किनकि बन्दुकको बलमा उसले राजनीतिको प्राधिकार हत्याएको छ । त्यो प्राधिकार उसले आफ्नो शोषणको राज टिकाउने अस्त्रका रूपमा प्रयोग गरिरहेको छ । अतः उसलाई पराजित गर्न श्रमिक वर्गले आफूलाई सशस्त्र पार्न जरुरी छ । मजदुर वर्गले यो गर्नैपर्छ । उसले त्यसो किन पनि गर्नुपर्छ भने मजदुर वर्गले मानव जातिको अन्तिम युद्ध लड्नु छ । स्थायी शान्तिका लागि लड्नु छ । त्यसका लागि उसले राज्यसत्ताको अन्त्ययका लागि लड्नु पर्नेछ । वर्गको अन्त्ययका लागि लड्नु पर्नेछ । यसरी गरिबीको अन्त्ययका लागि शोषणको अन्त्यय, शोषणको अन्त्ययका लागि निजी पुँजीको अन्त्यय, निजी पुँजीको अन्त्ययका लागि वर्गको अन्त्यय, वर्गको अन्त्ययका लागि राज्यसत्तारूपी परजीवीतन्त्रको अन्त्ययको घोषणा माक्र्सवादी सिद्धान्तको केन्द्रीय अन्त्यर्वस्तु हो । अन्त्यतः वर्गको अन्त्ययका रूपमा स्वयम्कै अन्त्यय अर्थात् प्रतिस्थापनको महान् उद्घोष माक्र्सवादको अकाट्य सत्य हो । त्यो नै माक्र्सवादको अजेयता र सर्वोच्चताको कारक हो ।

जानेमानेको भाषामा माक्र्सवादलाई साम्यवादको सिद्धान्त भनिन्छ । निजी पुँजी अन्त्यको यो महाअभियान एकै झड्कामा पूरा हँुदैन । त्यसका लागि समयको एउटा लामो अवधि चाहिन्छ । यसलाई माक्र्सवादका प्रस्तोता कार्ल माक्र्सको भाषामा सङ्क्रमणको अवधि भनिएको छ । यो अवधिलाई उनले साम्यवादको अधिकतम् कार्यक्रम र न्यूनतम् कार्यक्रमका रूपमा परिभाषित गरेका छन् । मजदुर वर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले पहिला न्यूनतम् साम्यवादका लागि लड्नुपर्छ । त्यो न्यूनतम् साम्यवाद भनेको समाजवादी सत्ता हो । जहाँ मजदुर वर्ग इतिहासको एउटा खण्डमा शासक वर्गका रूपमा रहनु अनिवार्य छ । माक्र्सवादको यो प्रक्षेपणलाई रुसको कम्युनिस्ट पार्टीले भ्लादिमिर लेनिनको नेतृत्वमा सन् १९१७ को अक्टोबरमा पूरा ग¥यो । रुसमा मजदुर वर्गको पहिलो समाजवादी सत्ता स्थापना गरेर लेनिनले माक्र्सवादको सत्यलाई पुष्टि गरिदिए । यद्यपि त्यसअघि सन् १८७१ मा फ्रान्सको पेरिसमा त्यहाँका मजदुरहरूले आफ्नो सत्ता स्थापना गर्न सफल भएका थिए । तर त्यो ७२ दिन मात्र टिक्न सकेको थियो । यसैगरी सन् १९४९ मा चीनमा माओ त्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले करिब २२ वर्षको भीषण लडाइँपछि नयाँ जनवादी सत्ताको घोषणा ग¥यो । त्यसलाई त झन् समाजवादको समेत पूर्वकार्यभारका रूपमा परिभाषित गरियो ।

आजको मानव जाति एक्काईसौँ शताब्दीको दोस्रो दशक पूरा गर्दैछ । एकातिर समाजवादी सत्ता इतिहासका कथा बनिसकेका छन् । ती सबै सत्ताहरू पुँजीवादी सत्तामा बदलिएका छन् । भलै कतिपय देशहरूमा उनीहरूले आफूलाई समाजवादी भने पनि त्यो कम्युनिस्ट समाजवाद हो कि होइन भन्नेमा बहस छ । अर्कोतिर, विश्वमा आफूलाई कम्युनिस्ट अर्थात् वामपन्थी भन्ने जनमत विगतको भन्दा कैयौँ बढेका आँकडाहरू सार्वजनिक भइरहेका छन् । विज्ञान र प्रविधिको विकास चामत्कारिक स्तरमा भइरहेको छ । यसले एकातिर मानवीय आवश्यकताहरूलाई निकै सजिलो गरी परिपूर्ति गर्न सहयोग गरिरहेको छ भने अर्कोतिर प्रविधिको प्रयोगलाई अनियन्त्रित नगर्न वैज्ञानिकहरूले चेतावनी पनि गरिरहेका छन् । विश्वभरि गरिबीको दर केही प्रतिशत घटे पनि धनी र गरिबको अन्तर निकै बढेको छ । संसारका एक प्रतिशत धनीहरूको हातमा करिब पचास प्रतिशत सम्पत्तिको स्वामित्व केन्द्रित भएको छ जब कि ९९ प्रतिशत मानिसहरूको हातमा केवल पचास प्रतिशत सम्पत्ति रहेको अनुसन्धान रिपोर्टहरू सार्वजनिक भइरहेका छन् । यो अवस्थामा मानव जातिको अन्तिम गन्तव्य साम्यवादको भविष्यबारे प्रश्नहरू उठ्नु र साम्यवादको सिद्धान्त माक्र्सवाद (माक्र्सवाद–लेनिनवाद–माओवाद) का बारेमा बहस हुनु आवश्यक र अनिवार्य छ ।
गति रूपान्तरण हो । गति अग्रगमन हो । हरेक वस्तुको अस्तित्व भनेकै गति हो । स्थिरता प्रगतिको सदा अवरोधक हो । माक्र्सवाद एक विज्ञान हुनुको नाताले यो सधैँ गतिवान् र विकासवान् छ । त्यसैले नै यसको विकास लेनिनवाद हँुदै माओवादसम्म आइपुगेको छ । आज यो माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा) का रूपमा परिचित छ । संसारमा दुईवटा कुरालाई अपरिवर्तनीय मानिन्छ– पदार्थको गतिशीलता र मानव चिन्तनको विकास । यसका पछाडिको वस्तुगत कारण के हो भने भौतिक पदार्थका कण र प्रतिकणहरू निरन्तर सङ्घर्षशील छन् र ती एकअर्कामा निरन्तर परिवर्तन भइरहन्छन् । यो नियम ठूला र अझ विशाल पिण्डहरूमा समेत लागू हुन्छ । मानवचेतना पदार्थकै एक अति विकसित र सर्वोच्च रूप हो । अर्को अर्थमा भौतिक पदार्थको प्रतिबिम्ब नै मानवचेतना हो । जब वस्तु र समाजका क्रियाकलाप निरन्तर परिवर्तनशील भइरहन्छन् भने त्यसको प्रतिबिम्ब मानवचेतनामा पर्दछ र त्यतिबेला सिद्धान्तहरूको समेत निरन्तर विकास र परिवर्तन अर्थात् ‘सूक्ष्म आलोचना’ एक अनिवार्य सर्त बन्न जान्छ । आलोचना अर्को अर्थमा विकास हो । ‘सूक्ष्म आलोचना’ कै परिणाम माक्र्सवाद लेनिनवाद हुँदै माओवादमा विकसित भयो ।

जनयुद्धबारे
जनयुद्धको विशिष्ट परिभाषा चीनमा माओद्वारा संश्लेषित दीर्घकालीन जनयुद्ध हो । जसको सार– देशभित्रको वर्गीय उत्पीडन र देशबाहिरबाट हुने साम्राज्यवादी उत्पीडनका विरुद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान–मजदुर, राष्ट्रिय पुँजीपति वर्ग र परिवर्तनका पक्षधरहरू सबैको सहभागितामा लडिने युद्ध हो । जनयुद्धको आमपरिभाषा भनेको उत्पीडित राष्ट्र र जनताको हरेक तप्काले आफ्नो अधिकार र स्वतन्त्रताका लागि लड्ने कुनै पनि युद्ध त्यो जनयुद्ध नै हो । जनयुद्धको अर्को परिभाषा विद्रोह पनि हो । सबै जनयुद्ध आफैँमा ती विद्रोह नै हुन् । ती कोही अल्पकालीन विद्रोह हुन् त कोही दीर्घकालीन विद्रोह हुन् । तर जनयुद्ध भन्नेबित्तिकै दीर्घकालीन जनयुद्धलाई मात्र बुझ्ने र विद्रोह भन्दाखेरि अल्पकालीन विद्रोहलाई मात्र बुझ्ने कम्युनिस्ट आन्दोलनको पछिल्लो ‘स्कुलिङ’ त्यति फराकिलो सोचाइ पक्कै होइन । जनयुद्धलाई दीर्घकालीन जनयुद्धमा मात्रै सीमित गर्नु, विद्रोहलाई अल्पकालीन विद्रोहमा मात्रै बुझ्नु र परिभाषित गर्नु जनयुद्ध र विद्रोहकै सङ्कुचन हो । अर्को अर्थमा यो माक्र्सवादकै सङ्कुचन हो ।

हरेक ‘विशिष्टलाई सामान्यसँग जोड्नु र सामान्यबाट विशिष्ट पैदा गर्नु’ माक्र्सवादको विशेषता हो । दीर्घकालीन जनयुद्ध पक्कै पनि जनयुद्धको विशिष्टीकरण हो । अल्पकालीन विद्रोह त्यो पनि आफ्नो ठाउँमा विद्रोहको विशिष्टता हो । ती दुवै तरिकाले सर्वहारा क्रान्तिसम्बन्धी जुन समयको जबाफ दिन सफल भए त्यो कुनै चानचुने कुरा पक्कै थिएन । तर आजको आवश्यकतामा के हो भने दीर्घकालीन जनयुद्धलाई जनयुद्धको आमसिद्धान्तसँग जोड्नु र अल्पकालीन विद्रोहलाई विद्रोहको आमसिद्धान्तसँग जोड्नु । यो नै माक्र्सवादको रक्षा र विकाससम्बन्धी आजको आवश्यकता पनि हो ।

पेरिसका कम्युनार्डोहरूले लडेको युद्ध होस् वा रुसमा लेनिनको नेतृत्वमा लडिएको युद्ध, कोरिया, भियतनाम, कम्बोडिया, क्युबा, पेरू, टर्की, भारतलगायत संसारभर कम्युनिस्ट पार्टीको नेतृत्वमा लडिएका र लड्दै गरेका सबै युद्ध जनयुद्ध नै हुन् । फरक यति मात्रै हो– ती कतिपय अल्पकालीन प्रकृतिका जनयुद्ध हुन् र कतिपय दीर्घकालीन प्रकृतिका जनयुद्ध हुन् । यसर्थ कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्ग र उत्पीडित समुदायले लड्ने सबै युद्ध जनयुद्ध नै हुन् । ती विद्रोह नै हुन् । जनयुद्ध र जनविद्रोहका बीच ठूलो पर्खाल खडा गर्नु आवश्यक छैन । त्यसका साथै दीर्घकालीन जनयुद्ध र अल्पकालीन सशस्त्र विद्रोहको औचित्यमाथि प्रश्न उठाउन खोज्नु पनि मूर्खता नै हुन्छ ।
क्रान्तिकारी युद्धहरू दीर्घकालीन वा अल्पकालीन हुनुमा धेरै कुराले प्रभाव पारेको हुन्छ । त्यसमध्येको पहिलो कारक हो– युद्धमा सहभागी वर्गको चरित्र । माक्र्सवादले क्रान्तिकारी वर्गको कोटीमा मजदुर (सर्वहारा) लाई पहिलो र किसान (गरिब) लाई दोस्रो तहमा राखेको छ । यिनीहरूको चरित्रका बारेमा माक्र्सवादको निष्कर्ष रहेको छ– मजदुरवर्ग सापेक्षित केन्द्रित भएर रहने हुनाले यसलाई सङ्गठित र आन्दोलित गर्न तुलनात्मक रूपमा छिटो हुन्छ । साथै मजदुर वर्गको हातमा निजी सम्पत्तिको सानो अंश पनि नहुने हुनाले यो मानवसमाजको हालसम्मकै उच्च क्रान्तिकारी वर्ग हो । यसले सर्वहारा वर्गको आन्दोलनमा धोका दिने सम्भावना हँुदैन किनकि यो वर्गका लागि ‘पाउनु सिङ्गो संसार छ भने गुमाउनु केवल हतकडीबाहेक अरू केही पनि छैन ।’ क्रान्तिकारी युद्धको दोस्रो महारथिका रूपमा गरिब किसान वर्ग रहेको छ । तर यो वर्ग आफ्नो जीवन निर्वाहको बाध्यताले गर्दा छितरिएर रहेको हुन्छ । यो वर्गलाई सङ्गठित र आन्दोलित गर्न केही समय लाग्छ । यसको साथमा जमिनको सानो टुक्रो पनि हुन्छ । यो वर्गको सधैँ के अभिलाषा रहन्छ भने कुनै दिन उसले जमिनको त्यो टुक्रोमा अरू केही अंश थपेर जीवनको ठूलो सपना पूरा गरोस् । यद्यपि त्यो कहिल्यै पूरा हँुदैन । बरु दिनदिनैको कष्टपूर्ण जीवनबाहेक उसका सामु अरूथोक केही पनि नहुने हुनाले यो वर्ग पनि आधारभूत रूपले क्रान्तिकारी नै हुन्छ ।

क्रान्तिकारी युद्धको गति निर्धारण गर्ने दोस्रो तत्व हो– अन्तरविरोधहरूको अवस्था । अन्तरविरोध एक सार्भभौम नियम हो । सबै देश र समाजमा विभिन्नखाले अन्तरविरोधहरू विद्यमान नै हुन्छन् तर यसको विशिष्ट पाटो के हो भने भिन्न समय र भिन्न समाजको सापेक्षतामा ती अन्तरविरोधहरू असमान तहमा विकसित भएका हुन्छन् । एउटैखाले उत्पादन सम्बन्ध भएका देशहरूमा पनि आधारभूत अन्तरविरोध समान भए पनि विशिष्ट अन्तरविरोधहरू असमान हुन्छन् । उदाहरणका लागि रुसमा क्रान्ति विजयी हुँदा रुस स्वयम् एक साम्राज्यवादी राष्ट्रका रूपमा युद्धमा भाग लिइरहेको थियो भने चीनमा क्रान्ति विजयी हुँदा चीनले जापानी साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्तिको युद्ध लड्नु परेको थियो । कोरिया र भियतनाम पनि औपनिवेशिक मुलुकहरू नै थिए तर जापान र जर्मनीजस्ता साम्राज्यवादका हस्तीहरूको पराजयसँगै एकैपटक त्यहाँ समाजवादी सत्ताको घोषणा गरियो । त्यसको मुख्य कारक रुसी लालसेना थियो ।

हामीले माथि चर्चा गरेको अन्तरविरोधको अन्तर्राष्ट्रिय (बाह्य) पाटो हो । अब हामी राष्ट्रिय (आन्तरिक) अन्तरविरोधको पक्षबारे केही चर्चा गरौँ । आन्तरिक अन्तरविरोध हरेक क्रान्तिको आधारभूत पक्ष हो । यो भनेको प्रत्येक देशभित्रको वर्गअन्तरसम्बन्धको अवस्था हो । वर्गप्रतिपक्षताको अवस्था हो । त्यहाँ मजदुर वर्गीय आधारभूमि छ वा किसानवर्गीय ? त्यो ख्याल गर्नैपर्छ । मजदुरवर्गीय आधारभूमि भएको देश पनि एकैखाले छैनन् । ती देश कोही साम्राज्यवादी र कोही गैरसाम्राज्यवादी राष्ट्र हुनसक्छन् । ती किसानवर्गीय आधारभूमि भएका देश हुन् भने ती सामन्ती, अर्धसामन्ती राष्ट्र हुन् वा अर्धसामन्तीमध्ये पनि दलाल अर्धसामन्ती हुन् ? कतिपय राष्ट्रहरू विकसित वा अविकसित जे भए पनि ती औपनिवेशिक पनि हुन सक्छन् । अतः हरेक देशको आआफ्नै सापेक्षतामा क्रान्तिका रणनीति र कार्यनीतिहरूको निर्धारण हुन्छ ।
अन्तरविरोधसम्बन्धी अर्को महत्वपूर्ण विषय हो– विशिष्ट अन्तरविरोधको पत्तो लगाउनु । उदाहरणका लागि विगत दसबर्से जनयुद्धमा राजशक्ति, संसद्वादी शक्ति र माओवादी शक्तिबीच तीव्र त्रिपक्षीय अन्तरविरोध थियो । विशिष्ट अन्तरविरोधको सञ्चालन अन्तर्गत जनयुद्धको अघिल्लो चरणमा माओवादीले राजशक्तिसँग निकटता कायम गरेको थियो । त्यो बेला माओवादी पार्टीलाई क्रान्ति सञ्चालन गर्न सजिलो भएको थियो ।

क्रान्तिकारी युद्धहरू दीर्घकालीन वा अल्पकालीन हुनुको तेस्रो कारण हो– कम्युनिस्ट पार्टीको आत्मगत अवस्था । आत्मगत अवस्था बलियो छ भने युद्ध छिटो जितिन्छ । आत्मगत अवस्था कमजोर छ भने युद्ध अनिवार्य लम्बिन जान्छ । आत्मगत अवस्थाका दुईवटा तत्व रहेका छन्– पहिलो कम्युनिस्ट पार्टीको नेतृत्व क्षमता र दोस्रो हो क्रान्तिकारी वर्गहरूको अवस्थिति । क्रान्तिकारी वर्गहरूको अवस्थितिको कारण कम्युनिस्ट पार्टीहरूको सापेक्षित विकास एक बाध्यात्मक अनिवार्यता नै बन्न जान्छ । सामान्यतः किसान वर्गको बाहुल्य भएको देशमा कम्युनिस्ट पार्टीको विकास र आन्दोलनको सञ्चालन केही विकेन्द्रित र ढिला हुन्छ जब कि मजदुर बाहुल्य देशहरूमा त्यसको तुलनामा केन्द्रीकृत र छिटो हुन्छ । यही वस्तुगत कारणले नै हो विकसित देशहरूको क्रान्तिलाई अल्पकालीन विद्रोह (जनयुद्ध) र विकासोन्मुख देशहरूको क्रान्तिलाई दीर्घकालीन जनयुद्ध (विद्रोह) को कार्यदिशाअन्तर्गत विगत क्रान्तिको सञ्चालन गरियो । कम्युनिस्ट पार्टीको नेतृत्व क्षमतालाई अर्को अर्थमा क्रान्तिको पहलकदमीका रूपमा पनि व्याख्या गर्न सकिन्छ । यो भनेको सामाजिक अन्तरविरोधहरूलाई कुशलतापूर्वक क्रान्तिमा सङ्गठित गर्नु, स्पष्ट रणनीति र कार्यनीतिहरूको विकास गर्नु हो । यो नै कम्युनिस्ट पार्टीको नेतृत्व सामथ्र्य हो । सामान्य अर्थमा नेतृत्व भनेको कम्युनिस्ट पार्टी र त्यसको केन्द्रीय निकाय हो । तर विशेष रूपले भन्नुपर्दा नेतृत्व भनेको निश्चित नेता वा सर्वोच्च नेता हो । उदाहरणका लागि आमरूपमा रुसको क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको विद्रोह हो तर विशेष रूपले यो लेनिनको चातुर्दिक नेतृत्वको प्रतिफल पनि हो । त्यसैगरी चिनियाँ क्रान्ति चीनका किसान, मजदुर र देशभक्तहरूको विद्रोह हो तर विशेष रूपमा त्यो कमरेड माओ त्सेतुङको नेतृत्वकुशलताको प्रतिफल पनि हो । त्यसैले नै हो संसारका सबै देशमा श्रमजीवी वर्ग भए पनि क्रान्ति तब मात्र सम्भव हुन्छ जहाँ कम्युनिस्ट पार्टी हुन्छ र कम्युनिस्ट पार्टीको पनि सक्षम नेतृत्व हुन्छ । अन्यथा आजको विश्वमा क्रान्तिको वस्तुगत अनुकूलता थोरै वा धेरै सबै देशहरूमा विद्यमान नै छ । तर क्रान्तिकारी आन्दोलन केही देशहरूमा मात्र सम्भव भइरहेको छ ।

उपर्युक्त तीनवटै कारक तत्वमध्ये महत्वपूर्ण कारक तत्व हो– कम्युनिस्ट पार्टीको आत्मगत अवस्था । पार्टीले राम्रो सङ्गठन (आवश्यकतामा जनमुक्ति सेना) निर्माण गरेको छ । पार्टीको कार्यदिशा (रणनीति र कार्यनीति) सुस्पष्ट छ । पार्टीप्रति व्यापक जनताको विश्वास छ । पार्टीको नेतृत्व स्थापित छ भने क्रान्ति हरकुनै देशमा अघि बढ्न सक्छ । त्यो केही पनि छैन भने विकसितभन्दा विकसित मुलुकमा सयौँ वर्ष पर्खेर पनि क्रान्ति सम्भव हुँदैन ।
फागुन एक
फागुन एक नेपालमा माक्र्सवादलाई क्रान्तिका रूपमा लागू गरेको दिन हो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्धको उद्घोष गरेको दिन भएकाले त्यो दिनलाई जनयुद्ध दिवसका रूपमा प्रत्येक वर्ष सम्झना गर्न थालियो । माओवादी जनयुद्ध आधारभूत रूपले दीर्घकालीन जनयुद्धको विशेषतामा आधारित थियो । जनयुद्धको उद्देश्य पूरा नहँुदै माओवादी आन्दोलनको तत्कालीन मुख्य नेतृत्वसहित एउटा हिस्सा पुरानो संसदीय व्यवस्थामै फिर्ता भयो । क्रान्तिप्रति इमानदार पङ्क्तिले क्रान्तिको निरन्तरतालाई आत्मसात गर्दै पुरानो सत्ताका विरुद्ध आफूलाई निरन्तर उभ्याइरह्यो । तर माओवादी आन्दोलन विभाजित भएपछि फागुन एकको औचित्यबारे केही स्वाभाविक बहसहरू सतहमा आए । विशेषतः पँुजीवादी वृत्तबाट माओवादी जनयुद्धको विद्रूपीकरण गरेर फागुन एकमाथि निषेधात्मक प्रहार सुरु गरियो । संसद्वादमा छिरेको माओवादी हिस्सा लाचार छाया भएर त्यसको वरिपरि घुम्न थाल्यो ।

शान्तिप्रक्रियाका नाममा मुख्य नेतृत्वले संसद्वादसमक्ष आत्मसमर्पण गरेपछि त्यसका विरुद्ध विद्रोह गरेर माओवादी आन्दोलनको क्रान्तिकारी पङ्क्तिले नेपाल कम्युनिस्ट पार्टी गठन ग¥यो । पार्टी पुनर्गठनको मुख्य लक्ष्य ‘माओवादी मूल्यको रक्षा र माओवादी आन्दोलनको विकास गर्नु’ रह्यो । त्यसका लागि नयाँ कार्यदिशाको संश्लेषण गरियो । नयाँ कार्यदिशालाई ‘एकीकृत जनक्रान्ति’ नामकरण गरियो ।
संसद्वादको आहालमा थाप्लाका रौँसमेत डुबाइसकेको पङ्क्तिका लागि अब फागुन एकको कुनै औचित्य छैन तर माओवादी आन्दोलनको निरन्तरतालाई सगौरव स्वीकार गरेको पङ्क्तिका लागि आज पनि फागुन १ आस्थाको धरोहर हो । क्रान्तिको प्रतिबिम्ब हो । अतः एकीकृत जनक्रान्तिका रूपमा पुनर्गठित माओवादी मूल्य र फागुन १ को अन्तरसम्बन्धबारे चर्चा गर्नु यहाँ आवश्यक ठानिएको छ ।
पहिलो, एकीकृत जनक्रान्ति विगत दसबर्से महान् जनयुद्धको निरन्तरतासहित नयाँ जनयुद्ध हो । हाम्रो पार्टी नेकपाले सहर्ष आत्मसात गरेको छ– एकीकृत जनक्रान्ति जनयुद्धको निरन्तरता हो । एकीकृत जनक्रान्ति किन जनयुद्धको निरन्तरता हो ? यसबारे थप चर्चा गरौँ । माक्र्सवादको विकासमा पछिल्लो उचाइ हो– माओवाद । जसरी विगत जनयुद्धमा माओवाद क्रान्तिको पथप्रदर्शक सिद्धान्त थियो, माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा) का रूपमा त्यसलाई आत्मसात गरिएको थियो । आज पनि नेपाली क्रान्तिको मार्गदर्शन मालेमा नै हो । यसर्थ एकीकृत जनक्रान्ति जनयुद्धकै निरन्तरता हो । जनयुद्धको सिद्धान्त साम्राज्यवादका विरुद्धको फौजी सिद्धान्त हो । एकीकृत जनक्रान्तिले यो अर्थमा आफूलाई जनयुद्धकै सिद्धान्तका रूपमा स्वीकार गर्दछ । जनयुद्ध, जनताका लागि जनताद्वारा नै लडिने युद्धसिद्धान्त हो । एकीकृत जनक्रान्ति यो कुनै जनताभन्दा अलग लडिने क्रान्ति होइन । अतः यो जनताका लागि जनताद्वारा नै लडिने युद्धकै सिद्धान्त हो । जनयुद्ध उत्पीडित वर्ग (किसान, मजदुर) को अगुवाइमा लडिने वर्गसङ्घर्षको सिद्धान्त हो । यसको आधारभूत विशेषता प्रतिहिंसात्मक हुन्छ । एकीकृत जनक्रान्तिले हाम्रो देशमा आज पनि किसान र मजदुरकै अगुवाइमा प्रतिहिंसात्मक वर्गयुद्ध लड्ने कुरालाई सार्वजनिक उद्दघोष गरिसकेको छ । यसर्थ एकीकृत जनक्रान्ति जनयुद्धको निरन्तरता हो ।

हाम्रो पार्टीले यो पनि सगौरव घोषणा गरेको छ– एकीकृत जनक्रान्ति जनयुद्धको विकास हो । जनयुद्धलाई केवल दीर्घकालीन जनयुद्धका रूपमा व्यवहार गर्नु न सम्भव छ, न त आवश्यक नै । जनयुद्ध अर्को अर्थमा जनविद्रोह पनि हो । जनविद्रोहलाई जनयुद्धबाट अलग गर्नु वा विद्रोहबिनाको जनयुद्धको कल्पना गर्नु आजको दुनियाँमा असम्भव छ । अतः एकीकृत जनक्रान्ति विद्रोहसहितको जनयुद्ध हो । यसको वस्तुगत कारण के हो भने आजको दुनियाँ विश्वयुद्धसहित क्रान्तिको दुनियाँ होइन जो हिजो लेनिन र माओको पालामा थियो । साम्राज्यवादी युद्धका विरुद्ध उत्पीडित देशहरूले कम्युनिस्ट पार्टीको नेतृत्वमा दशकौँको राष्ट्रिय मुक्तियुद्ध लड्नुपर्ने वा आफ्नै देशको साम्राज्यवादी युद्धका विरुद्ध सर्वहारा वर्गले गृहयुद्ध लड्नुपर्ने परिस्थिति आजको विश्वमा छैन । आजको विश्वयुद्ध सैनिक युद्धका रूपमा भन्दा ज्यादा व्यापारिक युद्धका रूपमा लडिँदैछ । अर्कोतिर, भूमण्डलीकृत वित्तीय पँुजी र त्यसको चरम एकाधिकारले आजको दुनियाँमा पँुजीपति वर्गको राष्ट्रवादी चरित्रलाई कति कमजोर बनाइदिएको छ भने राष्ट्रिय पुँजीपति वर्गको स्वतन्त्र अस्तित्व समाप्त हुँदै गएको छ । जब कि राष्ट्रिय पुजीपति वर्गको सहायता हिजो तेस्रो विश्वका मुलुकहरूमा सर्वहारा क्रान्तिका लागि प्रेरक थियो । आजको विश्वसमाजमा सामन्त र पुँजीपति वर्गबाट च्यूत भएको केही तप्का, विज्ञान र प्रविधिको सहायता लिएर आफ्नै ज्ञान र सीपले पुँजीको केही हिस्सा आर्जन गर्न सफल तप्का मध्यम वर्गका रूपमा देखा पर्दैछ । श्रमसहितको पुँजी लगानी यो वर्गको मुख्य विशेषता हो । जीवनका अनगिन्ती अभिलाषा बोकेको यो वर्ग जब वित्तीय पँुजीको एकाधिकारी पञ्जाबाट घायल हुन पुग्छ तब एकाधिकारका विरुद्ध प्रतिरोध युद्ध लड्न बाध्य हुन्छ । यसले आफ्नो त्यो बाध्यतालाई सामाजिक बाध्यताका रूपमा स्वीकार गर्न विवश हुन्छ । अतः यो वर्गलाई क्रान्तिको सहयोगी वर्गका रूपमा परिभाषित गर्नु एकीकृत जनक्रान्तिको विशेषता हो ।

उपर्युक्त वस्तुस्थितिको कारण ‘विकासोन्मुख (अर्धसामन्ती) देशहरूमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्ति (नौलो जनवादी) गरेर मात्र समाजवादमा जानुपर्ने अवस्था अन्त्य भएको तथा ‘समाजवादी सत्तामा राजकीय पँुजीसँग निजी पुँजीको प्रतिस्पर्धालाई एउटा निश्चित अवधिसम्म राज्यले योजनाबद्ध तथा मैत्रीपूर्ण सञ्चालन गर्नुपर्ने’ एकीकृत जनक्रान्तिको निष्कर्ष रहेको छ । यसर्थ एकीकृत जनक्रान्ति जनयुद्धको विकास हो । नयाँ जनयुद्ध हो । विद्रोहात्मक जनयुद्ध हो ।

फागुन १ को औचित्य जनयुद्धको मूल्यसँग जोडिएको छ । जनयुद्धको मूल्य माओवादसँग जोडिएको छ । माओवाद अर्थात् मालेमाको मूल्य सर्वहारा आन्दोलनको रक्षा र विकाससँग जोडिएको छ । एकीकृत जनक्रान्ति सर्वहारावर्गीय आन्दोलनको नवीन प्रयोग हो । प्रयोग आफैँमा चुनौती पनि हो । तर यसले मालेमाको आधारभूत मार्गनिर्देशनलाई इमानदारीका साथ आत्मसात गरेको छ । अतः फागुन १ को सम्झना गरौँ, त्यसप्रति उच्च सम्मान प्रकट गरौँ । त्यसको रक्षा र विकासका लागि फराकिलो सोचाइका साथ सङ्कल्पबद्ध होऔँ । २४ औँ जनयुद्ध दिवस जिन्दावाद !

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :