वैज्ञानिक समाजवादी सत्ता स्थापनाको अपरिहार्य : उत्तम, अन्याय परे जनअदालतमा आउनुस, न्याय पाउनुस् : ध्रुव

 

ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उत्तमले दलाल संसदीय व्यवस्थाका कारण सिंहदरबारका भ्रष्टचार गाउँगाउँसम्म पुगेको बताउँदै त्यसलाई नेकपाले तह लगाउँदै लगेको बताए ।  २४औं जनयुद्ध दिवसको अवसरमा बुधबार नेकपा ललितपुर जिल्ला समितिको आयोजनामा लगनखेलमा आयोजित जनसभामा बोल्दै नेता उत्तमले घुस र कमिशन नखाइकन नागरिकको कुनैपनि काम नगरिदिने वर्तमान राज्यसत्ता प्रशासनलाई जरैदेखि उखेलेर नफालेसम्म जनताले चयन प्राप्ति गर्न नसक्ने बताए । जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवादी सत्ता स्थापनाको अहिलेको यात्रामा एकजुट भएर हातेमालो गर्न अपिल समेत उनले गरे ।

विप्लवले छिट्टै हतियार उठाउने र युद्ध शुरु गरे हुन्थ्यो भन्ने शासकको चाहना पूरा नहुने बरु सेना–प्रहरीभित्रका देशभक्त र राष्ट्रवादी शक्तिले नेकपाको अभियानलाई साथ दिने विश्वास नेता उत्तमले व्यक्त गरे । ‘रेमिट्यान्सको वकालत गर्ने केपी सरकार अरबको खाडीबाट दिनहुँ नेपाली एयरपोर्टमा नेपाली युवाको शव आइरहेको देख्दैन, युवाहरुलाई विदेशी भूमिमा श्रम गर्न कमिशन खाएर कौडीको मुल्यमा बेचिरहेको छ’ उनले भने ।

जनपरिषद्का प्रमुख धुव्रले दलाल सत्ताका प्रशासनबाट न्याय पाउन नसक्ने दृष्टान्त प्रस्तुत गर्दै अन्याय र अत्याचार भए नेकपाले चलाइरहेको जनसत्ता र जनअदालतमा उजुरी दिन जनसभामार्फत खुलेआम आह्वान गरे । ‘तपाईलाई माफिया र भ्रष्टचारीबारे सूचना भए हामीलाई जानकारी दिनुस् । न्याय दिने काम गर्छौं’ उनले भने । अधिकारको लागि जनता जनसेना बन्न तयार भएर मैदानमा आइसकेको उनको भनाई थियो । सीमा अतिक्रमणबारे जनताको सत्ताले नजिकबाट हेरिरहेको बताए ।

संयुक्त उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश बस्नेतले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत अगाडि सारिएको राष्ट्रिय पूँजी निर्माण र आत्मनिर्भरको मार्ग अघि बढ्न अपिल गरे । जनसभामा अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष विकल्पले कलम र कापी बोकेर अधिकारको संघर्ष चलाइरहेका बेला केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई राज्यले झुठा मुद्दा लगाएर फासीवादी हर्कत देखाएको भन्दै बिनासर्त रिहा गर्न सरकारसँग माग गरे ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी उपत्यका संयोजक राजकुमारी शाही ‘उषा’ले जनयुद्धको उद्देश्यलाई बीचमै अलपत्र छाडेर दलाल संसदीय व्यवस्थामा छिरेका प्रचण्ड–बाबुरामलाई चुलोचौका घेराबाट उठेर क्रान्तिमा लामवद्ध भएका महिलाहरुले वैज्ञानिक समाजवाद स्थापना गरेर पाठ सिकाइदिने बताइन् ।
जनसभामा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल, नेवा मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष रमेश डंगोल, नेवा मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष रत्न महर्जन, तामाङ मुक्ति मोर्चाका उपत्यका ब्यूरो संयोजक चन्द्र लामा, जनपत्रकार संगठन नेपालकी केन्द्रीय सचिव सिर्जना तिम्सिना, अखिल नेपाल लोककला संघका उपत्यका संयोजक ढुण्डीराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
जनसभा नेकपा ललितपुर जिल्ला सचिवालय सदस्य कुमाल सिलवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :