मेचीमा अभियानको आवधिक समीक्षा

 

पाँचथर : नेपाल कम्युनिस्ट पार्टीद्धारा माघ १ गतेदेखि महाभारतलाई आधार बनाएर सुरु गरिएको देशव्यापी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मेची ब्युरोस्तरीय राजनीति तथा वैचारिक प्रशिक्षण पाँचथर जिल्लाको दुर्गम मिक्लांलुं गापा ६ स्थित कम्पुटार गाउँमा सम्पन्न भएको छ ।


माघ २८ गते सम्पन्न समीक्षा कार्यक्रमका प्रमुख अतिथि नेकपाका पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले पूर्वी नेपालको क्रान्तिकारी भूमि दक्षिणपन्थी संशोधनवादको अखडा बन्न नसक्ने र सुखानीका महान् सहिदको रगतले यो भूमि झन्झन् रातो बन्दै गएको बताए ।
उनले पाँचथर र उदयपुरमा गिरफ्तार गरिएका आफ्ना ८ जना कार्यकर्ता रिहा नगरे सङ्घर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताए ।

कर्यक्रममा मेचीमा सञ्चालित अभियान टोलीका प्रमुख तथा पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले अभियानका विषयमा प्रशिक्षण दिएका थिए । नेता पुनले दलाल सरकार सत्ता स्वार्थको आपसी अन्तरविरोधमा फसेकाले अब यसबाट नेपाली जनताले समृद्ध नेपाल र सुखी नेपालीको आशा गर्नु नहुने बताए । उनले भने, ‘हाम्रो पार्टीले पहिले नै एमाले र माओवादी केन्द्रको एकता भनेको कम्युनिस्ट एकता नभई दक्षिणपन्थी अवसरवादीहरुको एकता हो भनेको थियो ।

यो सत्ता स्वार्थ र अस्तित्व रक्षाका लागि गरिएको एकता भएकाले यसले देश र जनतालाई हितभन्दा पनि अहित नै बढी गर्नेछ । अब यो दलाल सरकारले देशमा हत्या र बलात्कारकाण्ड, वाइडबडी जहाजकाण्ड, सुनकाण्ड, राजदूतकाण्ड, गुण्डाराजकाण्ड हुँदै हाल आएर भेनेजुयलाकाण्डमा फसेर आफ्नो सङ्कट आफैँ निम्त्याएको छ ।’

मेची ब्युरोका कार्यालय सचिव ताराको अध्यक्षता, सामना परिवारका सरल माझीको उद्घोषण र निश्चलको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा शोभा, राकेश, मनीषा, हेमराज, निशा, प्रकाश, आशा, दीप, अल्का, सरोज, सीता, प्रस्तुति, कविता, वशिष्ट, जनक, सुवास, अग्नि, मदन, अमृत, सङ्ग्राम, टीका, विज्ञान, यम, आरोह, मेम्बा, सरललगायत अभियान टोलीका सदस्यले मन्तव्य राखेका थिए । टोलीले एक महिनामा ११ वटा सङ्गठन निर्माण र १७ स्थानमा सांस्कृतिक कार्यक्रमसहित जागरणसभा सम्पन्न गरेको छ ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :