पूर्वी ताम्सालिङमा भव्य रूपमा मनाइयो जनयुद्ध दिवस, जनयुद्धको इतिहास जोड्दै एकीकृत जनक्रान्ति सफल पार्छौ : सुदर्शन


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले जनयुद्धको इतिहासको सम्झना गर्दै दुनियाँ बदल्ने महान् जनयुद्ध गौरवपूर्ण सर्वहारा वर्गको इतिहास भएको बताएका छन् । उनले यसलाई एकीकृत जनक्रान्तिसँग जोडेर विजयको इतिहास कायम गर्नुपर्ने पनि बताए ।

 
२४ औँ जनयुद्ध दिवसका अवसरमा पूर्वी ताम्सालिङको रामेछापकाे लखनपुरमा कार्यकर्ता र जनताका बीचमा सम्बोधन गरेका नेता सुदर्शनले जनयुद्ध आरम्भ गर्दाको तयारीका बारेमा प्रस्ट पार्दै भने, ‘जनयुद्धको थालनी गर्ने बेला रोल्पा र रुकुमको सीमा क्षेत्रमा पर्ने पाछाबाङमा तय भएको तीनवटा प्रहरीचौकीमा धावा बोल्ने योजना बनाउँदा त्यस क्षेत्रको जिम्मेवारीमा भएको हुनाले सशस्त्र जनयुद्धको सुरु भएको निशानीस्वरूप प्रचण्डलाई खुकुरी उपहार दिँदै जनयुद्ध विधिवत् तरिकाले फौजी तरिकाले सुरु  गर्ने योजना भएको थियो ।’

जनयुद्धको तयारीस्वरूप देशभरि गरिएका ३ फौजी कारबाहीमध्ये रुकुमको आठबीसकोट प्रहरीचौकी आक्रमणको नेतृत्व गरेका सुदर्शनले रोल्पाको होलेरीमा नन्दबहादुर पुन ‘पासाङ’ र वर्षमान पुन ‘अनन्त’ को नेतृत्वमा रहेको, राइफल र प्रेसर कुकर बमसहितको टोलीले चौकी कब्जा नगरेको तर आफ्नो नेतृत्वको घरेलु हतियारसहितको टिमले आठबीसकोट चौकी र हरिबोल गजुरेल ‘शीतलकुमार’ नेतृत्वको टिमको सिन्धुलीको सिन्धुलीगढी चौकी सफल आक्रमण गरेको जनयुद्धको विरासत स्मरण गर्दै एकीकृत जनक्रान्ति जनयुद्धको गुणात्मक र नयाँ क्रान्तिको मोडेल भएको बताए ।

जनयुद्ध सुरु भएको १४ दिनमै सरकारले गोरखामा १४ वर्षीय दिलबहादुर रम्तेलको हत्या गरेको र १५ गते भोलिपल्ट रुकुमको मेलगैरीमा ६ जनाको सामूहिक हत्याकाण्ड गराउन पुगेको भन्दै उक्त घटनामा आफू संयोगले बाँचेको स्मरण पनि सुनाए । जनयुद्धको गौरवमय इतिहास जनयुद्ध दिवस मनाउने दिनमा सहिद दिलमाया बम्जनकी आमासँग भेट भएकोमा आफू अत्यन्त खुसी भएको नेता सुदर्शनले बताए । नेकपाको मध्यकेन्द्रीय कमान्डअन्तर्गत पूर्वी ताम्सालिङमा जनयुद्धको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा सुदर्शनले पुरानो पिँढीले नयाँ पिँढीलाई प्रशिक्षित गर्नुपर्ने भन्दै जनयुद्धको जगमा एकीकृत जनक्रान्तिलाई विजयको उचाइमा पु¥याउँदै देशमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुने विश्वास व्यक्त गरे ।


सोही अवसरमा नेकपाका केन्द्रीय सदस्य कृष्ण अधिकारी ‘रवि’ ले जनयुद्धको सुरुआती दिनको स्मरण गर्दै जनयुद्धको ऊर्जा क्रान्तिकारीहरूले लिनुपर्ने बताए । उनले प्रचण्ड–बाबुराम क्रान्तिबाट विचलित भए पनि आफ्नो पार्टीले देशमा क्रान्ति सम्पन्न गरेरै छोड्ने विश्वास व्यक्त गरे । आफ्नो पार्टीले गाउँगाउँबाट भ्रष्टाचार, घुसखोर र दलालहरूलाई लखेटी जनयुद्धको उद्देश्य पूरा गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा नेकपाकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ ले जनयुद्ध वीरता र बलिदान भएको स्मरण गर्दै जनयुद्ध सुरु गर्दा ‘गुलेली खेलाउन नजान्नेहरूले जनयुद्धको कुरा गर्ने’ भन्नेहरूले जनयुद्धले गरेको कायापलट देखेजस्तै आज हामीले सुरु गरेको एकीकृत जनक्रान्तिलाई ख्यालठट्टा नठान्न आग्रह गर्दै अबको क्रान्तिको तागत कस्तो हुन्छ भन्ने अब आफ्नो पार्टीले देखाउने बताइन् । सहिदको रगत उनका परिवार, घाइते, बेपत्ता योद्धाका परिवारका आँसुको मूल्य र बलिदानको इतिहास बोकेको जनयुद्ध ऐतिहासिक भएको भन्दै उनले यसको अन्तिम उद्देश्य आफ्नो पार्टीले पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा नेकपाका नेता, कार्यकर्ता, सहिद बेपत्ता परिवारजन, जनता र प्रहरीले समेत जनयुद्धको बार्षिकोत्सवको अवसरमा अबिरावरण गरेका थिए । नेकपाका केन्द्रीय सदस्य विजयले अध्यक्षता गरेको कार्यक्रमको संचालन काभ्रे जिल्ला इन्चार्ज सरद रसाइलीले गरेका थिए ।

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :