२४ औँ जनयुद्ध दिवसका अवसरमा बुटवलमा विशाल आमसभा, भ्रष्टहरूको व्यवस्था अन्त्य हुँदैछ – वीरजङ्ग

  
बुटवल : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोले २४ औँ जनयुद्ध दिवस बुटवलमा मनाएको छ । हजारौँ नेता–कार्यकर्ता र जनसमुदायलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ ले भ्रष्टहरूको व्यवस्थाको अन्त्य हुने र त्यसको नेतृत्व एकीकृत जनक्रान्तिले गर्ने बताए । उनले केपी र प्रचण्डहरू हास्यकलाकार बनेको भनी व्यङ्ग्य गर्दै प्रधानमन्त्री स्वरोजगारदेखि बेरोजगारलाई भत्ता दिने सबै कार्यक्रम नाटकीय रूपमा आफ्ना कर्तुतहरू ढाक्नका लागि गरिएका भ्रमहरू भएको जिकिर गरे । सामाजिक दलाल पँुजीवादका नाइकेहरूलाई अबको क्रान्तिले परास्त गर्ने बताए । उनले थपे, ‘कम्युनिस्टका नाममा भ्रष्टहरूको सत्ता चलाइरहेकाहरूको अन्त्य एकीकृत जनक्रान्तिले गर्दैछ । अब त्यो दिन छिट्टै आउँदैछ ।’

आफ्नो पार्टीले भ्रष्टाचार नगर भनेर लेखेका नाराहरू सरकारले मेटाएकोप्रति आक्रोशित हुँदै नेता वीरजङ्गले नारा मेट्दैमा विचार नमेटिने भएकाले बन्दुकको भाषा नबोल्न आग्रह गरे । उनले बन्दुकको भाषा बोलेमा आफूहरूले पनि जबाफ फर्काउने उद्घोष गर्दै सरकारले हिटलरी शैलीमा आफूलाई उभ्याएकाले त्यस्ता शासकहरू इतिहासमा धेरैपटक ढलेको हेक्का राख्नसमेत चेतावनी दिए । प्रचण्ड–बाबुरामहरूले शान्तिसम्झौताका नाममा आत्मसमर्पण गरी सेना विघटन गराए पनि आफूहरूले आत्मसमर्पण नगरेको भन्दै आफूहरूले जनमुक्ति सेना निर्माण गरेको दाबीसमेत गरे । गिरफ्तार गरिएका नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न माग राख्दै उनले शान्तिपूर्ण कार्यक्रमहरूमा दमन, गिरफ्तार र झूट्टा मुद्दा लगाए आफूहरूको सङ्घर्ष जटिल बन्दै जाने चेतावनी पनि दिए ।

सोही जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले आजको दलाल पुँजीवाद आफूहरूको क्रान्तिको मुख्य निशाना र दुस्मन रहेको बताएका छन् । राजनीति, कर्मचारी, सामाजिक र व्यापारका क्षेत्रमा समेत दलाल पुँजीवाद रहेको बताउँदै उनले कुनै पार्टीका नेता वा जनता, राष्ट्रिय पुँजीपतिहरू, श्रमजीवी जनता, सेना, प्रहरीहरू आफ्नो दुस्मन नरहेको प्रस्ट पारे । आफूहरू नयाँ क्रान्तिको दिशामा अगाडि बढेको भन्दै उनले विश्व कम्युनिस्ट आन्दोलनलाई पनि सन्देश दिने खालको एकीकृत जनक्रान्तिलाई अगाडि बढाएको बताए । देशमा प्रशस्त आधारहरू भए पनि शासकहरूले त्यसतर्फ ध्यान नदिएर कसरी लुट्न सकिन्छ भन्नेहरू मात्र सोचेको उनको तर्क थियो । वैज्ञानिक समाजवादी व्यवस्थामा सबै जनतालाई न्यूनतम् पारिश्रमिक नै ७५ हजार पुग्ने र प्रतिव्यक्ति आय स्विट्जरल्यान्ड र जापानको भन्दा अधिकतम् पु¥याउन सकिने तथ्य उनले पेस गरे । आफूहरू बलिदानका लागि तयार भएर क्रान्तिमा लामबद्ध भैसकेकाले कुनै पनि हालतमा पछाडि नफर्कने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा माक्र्सवादी चिन्तक दिल साहनीले जनयुद्धमा धेरैले बलिदानी दिए पनि आज त्यसको सम्मान र सपनाहरू पूरा नभएकाले देशमा निर्णायक क्रान्ति आवश्यक रहेको बताएका थिए । लुम्बिनीका रूपन्देही, नवलपरासी, नवलपुर, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा र चुरेबाट १० हजारभन्दा बढी जनता रूपन्देहीको बुटवलमा ल्याएको नेकपाले कार्यक्रममा विभिन्न झाँकी तथा क्षितिज सांस्कृतिक परिवारका तर्फबाट जनवादी गीत र नृत्यहरूसमेत प्रस्तुत गरेको थियो । बुटवलको चौडाहाबाट सुरु भएको विशाल ¥याली ट्राफिक चोकमा आई सभामा परिणत भएको थियो । सभाको अध्यक्षता कपिलवस्तु जिल्ला इन्चार्ज सङ्गम पुनले गरेका थिए भने स्वागत नवलपुर इन्चार्ज पदम केसी र सञ्चालन रूपन्देही इन्चार्ज शरद ओलीले गरेका थिए ।

 

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :