देशभर मनाइँदै २४ औँ जनयुद्ध दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले महान् नेपाली जनयुद्धको २४ औँ वार्षिकोत्सव आज बुधबार देशैभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । नेकपाका महासचिव विप्लवले जनताका बीचमा विशेष कार्यक्रम गरी जनयुद्ध दिवस मनाउनुभएको समाचार प्राप्त भएको छ ।
यसैबीच नेकपाका महासचिव विप्लवले २४ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै भन्नुभएको छ, ‘महान् जनयुद्धको २४ औँ वार्षिकोत्सवका सुअवसरमा सम्पूर्ण जनता, आदरणीय सहिद परिवार, जनक्रान्तिका बेपत्ता योद्धा परिवार, घाइते योद्धाहरू, पार्टीका नेता र कार्यकर्ताहरूमा गौरवपूर्ण एवम् भावपूर्ण शुभकामना व्यक्त गर्दछौँ ।’
पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘महान् साम्यवादी उत्कृष्ठ एवम् अजम्मरी विचार महान् जनयुद्ध र जनयुद्धका सहिद, बेपत्ता र घाइते योद्धा, जनयुद्धमा विभिन्न प्रक्रियामा सहभागी जनताको त्याग त्यही आदर्श र सपनासँग जोडिएको छ । जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्नेछ ।’
उहाँले अगाडि भन्नुभएको छ, ‘तसर्थ महान् सहिद, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धा, जनमुक्ति सेना, जनता, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपतिवर्ग, देशभक्त शक्तिहरू कहिल्यै नटुट्ने हातेमालो गर्दै वैज्ञानिक समाजवाद, साम्यवादतिर अघि बढौँ भन्ने अपिल जनयुद्ध दिवसका अवसरमा गर्दछौँ ।’   

      पुरानो राज्यसत्ता अन्त्य गरी जनताको नयाँ राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यसहित नेपालमा जनयुद्ध उद्घोष गरिएको दिन २०५२ साल फागुन १ का अवसरमा नेकपाले देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । देशभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा देशभर परिचालित नेकपाले आफ्नो अभियानकै क्रममा यो दिवस मनाइरहेको छ । जनयुद्ध दिवसका अवसरमा उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुरलगायत देशैभर विभिन्न खालका सभासम्मेलन, गोष्ठी, अन्तरक्रियाहरू आयोजना गरिएका छन् ।काठमाडौँको शान्तिबाटीका र ललितपुरको लगनखेलमा जनसभा भएका छन् ।   
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लेसंसदीय व्यवस्था अन्त्य गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्घोषसहित २०५२ साल फागुन १ गते नेपालमा जनयुद्धको उद्घोष गरेको आज २३ वर्ष पुगेर २४ वर्ष लागेको छ । रुकुम, रोल्पा, सिन्धुलीसहित तीन ठाउँमा प्रहरी चौकीमाथि आक्रमण गरी विधिवत् रूपमा आजकै दिन नेपालमा जनयुद्धको उद्घोष गरिएको थियो । देशकै तीनवटा नमुना चौकी आक्रमणमध्ये रुकुमको आठबीसकोटमा रहेको प्रहरीचौकी आक्रमणको नेतृत्व वर्तमान नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले गरेका थिए । त्यहाँ प्रहरीचौकी आक्रमण र पूर्ण रूपले कब्जा गर्नुका साथै एकजना स्थानीय सामन्तको घरसमेत कब्जा भएको थियो । यस्तै रोल्पाको होलेरीमा गरिएको अर्को प्रहरी चौकी आक्रमणको नेतृत्व नन्दबहादुर पुन ‘पासाङ’ र वर्षमान पुन ‘अनन्त’ ले गरेका थिए । पासाङ यतिबेला नन्दबहादुर पुन बनेर उपराष्ट्रपतिको पदमा बसिरहेका छन् भने वर्षमान पनि पटकपकट मन्त्री भएका छन् । उनीहरू दुवै केपी–प्रचण्डको संसद्वादी पार्टी नेकपामा छन् । यस्तै सिन्धुलीको सिन्धुलीगढीमा गरिएको प्रहरीचौकी आक्रमणको तेतृत्व हरिबोल गजुरेल ‘शीतलकुमार’ र गङ्गा श्रेष्ठले गरेका थिए । हरिबोल पनि एमाले र माओवादी केन्द्रको एकतापछि बनेको पार्टी नेकपाका नेता छन् । गङ्गा श्रेष्ठ माक्र्सवाद नै छेडेर कथित नयाँ शक्तिमा छन् ।
प्रहरीचौकीमा धावा बोलेकै समयमा गोरखाको च्याङ्लीमा रहेको साना किसान बैङ्क कब्जा गरिएको थियो । यस्तै जाजरकोटका सामन्त दीपबहादुर सिंह र काभ्रेका सामन्त दौलतबहादुर दोङमाथि गरिएका कारबाही जनयुद्ध उद्घोष गर्ने बेलाका नमुना कारबाही हुन् । उक्त रात हजारौँहजार पर्चापोस्टर छरिएका थिए भने हजारौँ ठाउँमा भित्तेलेखन गरिएका थिए ।
तत्कालीन नेकपा (माओवादी) का महामन्त्री प्रचण्डको नेतृत्वमा अघि बढेको नेपाली जनयुद्ध सैन्य हिसाबले रणनीतिक रक्षा र रणनीतिक सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेको थियो । जनयुद्ध सुरु भएको केही वर्षपछि नै ग्रामीण क्षेत्रको ८० प्रतिशत भूभागमा जनसत्ता चलेको थियो र रोल्पा, रुकुम, जाजरकोट, कालीकोट जनयुद्धका आधारकिल्ला बनेका थिए । त्यस्ता आधारकिल्लाहरूमा नेकपा (माओवादी) को जनसत्ताले जनअदालत, जनप्रशासन, सुधारगृह खडा गरेर देशमा दुई सत्ताको अभ्यास गरेको थियो । आधारइलाकाहरूमा नयाँ जनवादी विद्यालयहरू सञ्चालनमा थिए । जनअस्पतालहरू सञ्चालनमा थिए भने रोल्पा, रुकुमलगायत ठाउँहरूमा जनकम्युनहरूको निर्माण गरिएको थियो । आधारइलाकामा प्रवेश गर्ने जोकोही पनि कम्युनिस्ट शासन र व्यवस्थाको महसुस गरिरहेको हुन्थ्यो । सदरमुकामकेन्द्रित पुरानो सत्ता र विशाल ग्रामीण भेगमा नयाँ जनसत्ता चलिरहेको अवस्था थियो । तत्कालीन जनमक्ति सेनाले ससाना प्रहरीचौकीदेखि लिएर ठाउँठाउँमा जिल्ला सदरमुकाम कब्जा गर्नेदेखि लिएर २०५८ सालसम्म आउँदा दाङको घोराहीमा रहेको तत्कालीन शाहीसेनाको ब्यारेक कब्जा गरी सयौँ थान हतियार र हजारौँ थान गोली र बन्दोबस्तीका सामग्री कब्जा गर्न सफल भएको थियो । लडाइँका ठूलाठूला मोर्चाहरूमा जनमुक्ति सेनाले सफलता प्राप्त गर्दै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरी बहुचर्चित लडाइँ रुकुमको खारा सतीपोले ब्यारेकमा मोर्चाबद्ध युद्धको समेत अभ्यास गरिरहेको थियो । जनयुद्ध सुरु भएको ८ वर्ष हुँदा सामरिक दृष्टिले हजारौँहजार लडाइका मोर्चाहरूमा जनमुक्ति सेनाले सफलता प्राप्त गरिसकेको थियो । आधारइलाकामा जनसत्ता अभ्यास र विकासको चरणमा अघि बढिरहेको थियो । यो अवधिसम्म आउँदा कम्तीमा नेता–कार्यकर्ता, जनसेना र जनता गरी कम्तीमा ७ हजारजनाले बलिदान गरिसकेका थिए ।
जनयुद्धले महिला, दलित, उपेक्षित, उत्पीडित सबै तह र तप्काका जनसमुदायलाई अन्याय, अत्याचार र विभेदका विरुद्ध सचेत बनायो । दोस्रो दर्जाका नागरिकका रुपमा पिल्सिइरहेका महिलाहरूले सत्ताको बन्दुक खोस्ने र लडाइँको नेतृत्व गर्नेसम्मको अवस्था जनयुद्धकै कारण उत्पन्न भएको थियो भने अमानवीय जीवन बाँचिरहेका दलित समुदायलाई मुक्तिका लागि बलिदानको अग्रमोर्चासम्म जनयुद्धले नै पु¥याएको थियो । जनताको तहबाट उच्च त्याग, शौर्य र बलिदानी हुँदाहुँदै र जित्दाजित्दैको जनयुद्धलाई प्रचण्ड–बाबुरामलगायत केही कायर अगुवाहरूले विसर्जन र फासफुस बनाइदिए । जितिनै लागेको युद्ध हारियो । राजनीतिक, सांस्कृतिक सबै क्षेत्रमा प्रतिक्रान्ति भयो । मुक्तिको सुन्दर सपना देखेर लडेका सहिदहरूको सपनामा तुसारापात भयो । बेपत्ता योद्धाका परिवार, घाइते, अपाङ्ग, सहयोगी सबै क्षेत्रका जनता र समुदाय एकपटक निराश बन्ने अवस्था आयो तर क्रान्तिकारी आशावाद बोकेर धोकेबाज र गद्दारहरूलाई चुनौती दिँदै नेपाली जनता नेकपाको क्रान्तिकारी झन्डा र एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबद्ध बनिरहेका छन् । फलस्वरूप आज देशभर नयाँ सपना, नयाँ जोश र जाँगरसहित २४ औँ जनयुद्ध दिवस मनाइएको छ ।

जनयुद्ध स्मरण गराउने केही तस्वीरहरु :

 

 

२०७५ फागुन १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!