दुस्मनका कालकोठरीहरूमा– १

हाम्रो महान् र गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको छैटौँ सिन्धुली बैठकपछि गत साउन महिनामा सातौँ पूर्ण बैठक अर्घाखाँचीमा दुस्मनका घेराबन्दी र दमनका बीचमा बस्दै थियो । हामी आआफ्नो कार्यक्षेत्रबाट बैठकस्थल अर्घाखाँचीतर्फ हान्नियौँ । हामीलाई रातीराती साथीहरूले बैठकस्थलतर्फ हिँडाए । खोलाको तीरैतीर डेढदुई घन्टा हिँडेपछि आराम गर्न भनेर बसियो । लगत्तै अन्य क्षेत्रका साथी पनि आइपुगे । ठूलो समूह भएर गन्तव्यतर्फ पाइला चालियो ।
उकालीओराली, घुम्ती र मोडहरू हुँदै बीचबीचमा सुस्ताउँदै हामी ४÷५ घन्टाको हिँडाइपछि मात्र बैठकस्थलमा प्रवेश ग¥यौँ । खोला र जङगलको किनारमा रहेको एउटा गरिब जनताको बस्तीको बीचमा बैठक राखिएको छ । बाक्लो जङ्गल र खोलाको सुसाइ एकतमासले आइरहेको छ । थाकेर लखतरान छौँ । घरको बरन्डामा गुन्द्री र म्याट ओछ्याइएको छ । त्यसैमा पल्टियौँ । भुसुक्कै सुतिएछ । एकछिनपछि क. ध्रुवले उठाउनुभयो । मेसमा गएर खाना खायौँ र बैठकका लागि बनाइएको लामो र ठूलो हलमा गएर सुत्यौँ ।
भोलिपल्ट बिहान ५ गते उठेर आफ्नो नित्यकर्म सक्दै बैठकको प्रतीक्षामा बस्यौँ । खाना खाइवरि दिउँसो बैठक हुने सूचना आयो । सबै कमरेड बैठकस्थलमा प्रवेश गरिसकेपछि महासचिव कमरेड प्रवेश गर्नुभयो । सबैले गर्मजोशका साथ उठेर स्वागत ग¥यौँ ।
त्यसपछि बैठक आरम्भ भयो । ६ गते बैठक नियमित रूपमा चल्यो । बैठक चल्दै गर्दा ७ गते महासचिव कमरेडले दुस्मनले बैठक बिथोल्नका लागि नजिकनजिक प्रहरी परिचालन गरेको सूचना सम्प्रेषण गर्नुभयो ।

खाना खाएपछि पुनः बैठक चलिरहेको थियो । एक्कासि बैठक हलको माथिमाथि हेलिकोप्टरले दुईतीन फन्का लगायो । हेलिकोप्टर फर्किएर गयो । यो पनि बैठक बिथोल्नकै निमित्त गरिएको हर्कत थियो । महासचिव कमरेडले गर्नुभएको सूचना सम्प्रेषण सही थियो र त्यो पुष्टि पनि भयो ।
दुस्मनले पूरै शक्ति लगाएर वरिपरि प्रहरी परिचालन गरेर बैठक बिथोल्ने ढङ्गले आइसकेपछि निर्धारित समयमै बैठक सकेर महासचिव कमरेडले समापन गर्नुभयो । हामी एउटा समूहमा रातीराती जङ्गलको बाटो हिँड्दै गर्दा पानी पर्न थाल्यो । झोलामा प्लास्टिकको ओढ्ने ओढाउ लिएर गएको थिएँ । निकालेर ओढियो । जङ्गलको उकालो र ओरालो हँुदै बल्लतल्ल बाटोमा निस्कियौँ । त्यतिन्जेलसम्म आधा शरीर भिजिसकेको थियो । रातो माटो र चिप्लो बाटो, खाल्डाखुल्डी भएकाले टेक्नेबित्तिकै लडिन्थ्यो । फेरि उठ्यो अनि एक पाइला टेक्नेबित्तिकै ड्याम्म पल्टन पुगिन्थ्यो । जुत्ता टेक्नै नहुने । टेक्नेबित्तिकै पल्टिँदै फेरि उठ्दै तल खोलासम्म आइपुग्दा कपडाको बेहाल भैसकेको थियो । बल्लतल्ल धानखोला हुँदै चन्द्रौटा पुगेर आराम गरियो र भोलिपल्ट बिहान बेहाल भएका कपडा र जुत्ताहरू धोइधाइ गरी नुहाएर ताजा हुँदै अलि ढिला गरेर बुटवलको गाडी चढी क. जीवन्त र म बास बस्न बुटवल पुग्यौँ । एकजना स्थानीय पत्रकार साथीको डेरामा साँझको बास बस्न गइयो र काठमाडौँका लागि भोलिपल्टको टिकट काट्न भनेर पठाइयो । उहाँले बिहान ७ बजेको विंगरको टिकट लिएर आउनुभयो ।

भोलिपल्ट बिहानै उठेर हामी दुईजना गन्तव्यस्थल काठमाडौँतर्फ प्रस्थान ग¥यौँ । बीचमा कहीँकतै हामीलाई त्यस्तो आशङ्का भएन तर मनभने कताकति अशान्तजस्तो भैरह्यो । हाम्रो पछाडि बुटवलबाटै सीआईडी बसेको रहेछ । एकजना मलेखुमा झरेको थियो तर पनि हामीले अड्कल काट्न सकेनौ । मन त कस्तो न कस्तो भैरहेको थियो । जब हामी नागढुङ्गा आइपुग्यौँ सादा पोसाकका पुलिसहरूले हामी चढेको विंगर जिप रोके र हामी बसेकै सिटलाई लक्ष्य गरेर सबैभन्दा पहिले जीवन्तजीलाई तपाईंको नाम के हो भनेर सोधे । उहाँले अमर केसी हो भन्नुभयो । सोध्ने मान्छे अलमल प¥यो । पछाडि फुटपाथमा उभिएका सायद ती केटाहरू माकेका हुनुपर्छ । १२÷१५ जना सादा पोसाकका मान्छेहरूतिर हे¥यो । कसैले सङ्केत ग¥यो होला । मान्छे त्यही हो भनेपछि तपाईंको नाम कार्की सर होइन ? भनेर फेरि सोध्यो । उहाँले हो भन्नुभयो । त्यसपछि उहाँको मोबाइल कब्जामा लियो । अनि मेरो नाम सोध्यो । मैले पनि छोट्करीमा नाम भनेँ । मेरो पनि मोबाइल कब्जामा लियो र आआफ्ना झोलाहरू लिएर झर्न भन्यो । अब भने हामी गिरफ्तारीमा प¥यौँ भन्ने कुरा पक्का भयो ।

हामीलाई गिरफ्तार गरिसकेपछि त्यो गिरफ्तार गर्ने प्रहरीले ‘विगतमा हाम्रा गल्तकमजोरी भए होलान्, अब हामीबाट त्यस्तो हुँदैन सर । तपाईंहरूलाई हामी सम्मानका साथ लैजान्छौँ’ भनी झूट्टा कुरा ग¥यो । केही कदम अगाडि हिँडाएपछि उनीहरूले जिपको व्यवस्था गरेका रहेछन् । त्यसमा बस्न भने । हामी बस्यौँ । हामीले पटकपटक सोध्यौँ, ‘तपाईंहरू कहाँबाट आउनुभयो ? सीआईबीबाट हो कि कहाँँवबट हो ?’ दुवैजनाले दोहो¥याइरह्यौँ तर उनीहरू जबाफ दिँदैनथे । उनीहरूले जिप दहचोकको बाइपास रोडबाट अगाडि बढाए । हामीले कहाँ लैजाने हो भन्यौँ तर पनि उनीहरूले जबाफ फर्काएनन् । तारन्तार कुरा गरेपछि थानकोट लाने हो भने । हामीले थानकोट जाने बाटो यो हैन नि भनेपछि चुप लागे । अनि हामीले तपाईंहरू सीआईबीबाट हो आएको ? भनेपछि मौन बसे । अन्ततः कुख्यात भनेर चिनिएको सीआईबीको हेडक्वार्टर महाराजगन्ज लाने रहेछन् भन्ने थाहा भयो । अलि अगाडि गएपछि सरहरूलाई प्यास लाग्यो होला, चिसो वा पानी के खानुहुन्छ भनेर एउटा पसलको अगाडि गाडी रोक्न लगायो । हामीले पानी मात्र खायौँ अनि गाडी अघि बढ्यो ।

गाडी हलचोकको सशस्त्रको प्रधान कार्यालयको अघिल्तिर चक्रपथमा गएर रोकियो । त्यहाँ उनीहरूले केहीबेरसम्म गाडी रोकिराखे । किन रोकिराखेका हुन् भन्ने थाहा भएन । एक छिनपछि दुईजना भाइहरू आइपुगे । उनीहरूले मुखमा लगाउने मास्क ल्याएका थिए । मास्कका लागि रोकिएको रहेछ भन्ने थाहा लाग्यो । त्यसपछि तिनीहरूले जिप स्वयम्भूको उत्तरतिरको बाटोतिर मोडे र भित्री बाटोतिर गाडी हिँड्न लाग्यो । हामीलाई गिरफ्तार गरेर ल्याउने प्रहरीले ‘कार्की सरले यो चस्मा लाइदिनुप¥यो’ भनेर कालो चस्मा दियो । मलाई भने आँखामा लगाउन कालो कपडाको पट्टी पछाडिपट्टिको सिटमा बसेको पुलिसले लगावइदियो । टाउकोमा कालो कपडाको टोपी माथिबाट राख्दै थियो । मैले म टोपी लाउँदिनँ भनेर हटाइदिएँ तर दुईतीनपटक लाउन जोड ग¥यो । मैले हँुदैन भनेपछि टाउकामा राख्न छोड्यो । क. जीवन्तले हैन, यो चस्मामा जेल लगाइएको छ कि क्या हो, मेरो त आँखा पोल्न थाल्यो भन्न थाल्नुभयो । गिरफ्तार गर्ने पुलिस हैन–हैन, लगाएको छैन भन्दै थियो ।
यसरी हामीलाई भित्री गल्ली हुँदै धेरैबेर लगाएर महाराजगन्ज पु¥याइयो । गाडी एउटा घरमा गएर घ्याच्च रोकियो । हामीलाई दुईदुईवटा पाखुरामा दुईदुईजनाले समातेर गाडीबाट झर्नुस् भने । हामी झ¥यौँ । त्यसपछि एक स्टेप तल झर्नुस्, सीधा अगाडि हिँड्नुस् भन्दै कोठाभित्र लगे । हामी एउटा म्याट ओछ्याइएको बिछ्यौनामा बस्यौँ । बसिसकेपछि मैले क. जीवन्तलाई सीसीको डकुमेन्ट गयो भनेर बिस्तारै भनेँ । उहाँले ख्याल नगरेरै भैगो, छोड्नुस् भन्नुभयो । तनाव पनि थियो । स्वाभाविक अभिव्यक्ति आयो भन्ने सोचेँ र चुप लागेँ ।

एकै छिनपछि फेरि उही मान्छे आयो र क. जीवन्तलाई उठाएर लग्यो । त्यो कोठामा मलाई मात्र छोड्यो । एकछिनपछि अर्को एकजना मान्छे आयो र मलाई ‘सर नमस्कार’ भन्यो । मैले नमस्कार फर्काएँ । कोठाको ढोकाको छेउमा एउटा कुर्सी राखिएको थियो, ऊ त्यही कुर्सीमा आएर बस्यो । त्यसपछि मेरो बायोडाटा सोध्न थाल्यो । वास्तविक नाम के हो ? टेक नाम के हो ? कति वर्षको हुनुभयो ? पार्टीको हैसियत के हो ? बुबाको नाम, आमाको नाम के हो ? श्रीमतीको नाम के हो ? छोराछोरीको नाम के हो ? दिदिबहिनी र दाजुभाइहरू कतिजना छन् ? घरठेगाना कहाँ हो ? जग्गाजमिन कति छ ? छोराछोरीहरू कतिमा पढ्छन् ? जागिर गर्छन् कि गर्दैनन् ? छोराछोरीहरूको विवाह भएको छ कि छैन ? नातिनातिनाहरू छन् कि छैनन् ? केको आयस्ताबाट घर चल्छ ? पार्टीले पैसा दिन्छ कि दिँदैन ? बैङ्कमा खाता छ कि छैन ? इमेल ठेगाना के हो ? पासवर्ड के हो ? फेसबुक चलाउनुहुन्छ कि हुन्न ? यस्ता अनेकौँ प्रश्नहरू सोधियो ।

त्यही बीचमा एकजना मान्छे आयो र प्रश्न सोध्ने मान्छेलाई उहाँले केके भन्नुभयो भनेर सोध्यो । उसले खै उहाँले खास जबाफ दिनुभएको छैन भनेर भन्यो अनि त्यो मान्छेले मलाई आमाचकारी गाली गर्दै तँलाई यहाँ भाषण गर्न ल्याएको हो र पार्टीका कुरा नगर्ने ? खालि भाषण गर्ने ? भनेर देब्रे गालामा एक चोट जमाएर हान्यो र भन्यो, ‘हामी पनि हिजो माओवादीका कार्यकर्ता थियौँ । अहिले पो जागिर खाइएको छ ।’
अनि मैले तिमीहरू हिजोका माओवादी कार्यकर्ता हौला । अहिले जागिर खाएका हौला । त्यो त तिमीहरूको कुरा हो । हाम्रो सरोकारको विषय छैन । गालामा झापड मात्र किन हान्छौ ? हिम्मत छ भने गोली नै हान न । हिजो प्रचण्ड र बाबुरामहरूले जनयुद्घको नेतृत्व गरेर १७ हजार मान्छेको बलिदान गराए । धोका र गद्दारी गरे । उनीहरूलाई नै गएर भन र सुनाऊ । हामी त अधुरो कार्यभार पूरा गर्न हिँडिरहेका छौँ भनेर जबाफ दिएपछि उनीहरू कता लागे थाहा भएन ।
त्यस्तै १०÷१५ मिनेटपछि अर्को मान्छे बयान लिन आयो । त्यो मान्छे आक्रामक भएर प्रस्तुत भयो । त्यसले पहिलेका विवरणहरू फेरि दोहो¥याएर सोध्यो र बैठकतर्पm बढी केन्द्रित भयो । तपाईं कहाँबाट कसरी जानुभयो ? कहाँ बस्नुभयो भनेर सोध्यो । मैले भनेँ– म काठमाडौँबाट गएँ । चन्द्रौटामा झरेँ । उसले फेरि सोध्यो– कहाँ बस्नुभयो ? मैले भनेँ– होटेलमा बसेँ । कुन होटेलमा बस्नुभयो भनेर सोध्यो । मैले एउटा होटेलमा बसेँ भनेर जबाफ दिएँ । फेरि सोध्यो– कति गते जानुभयो ? कति गते पुग्नुभयो ? त्यसपछि कता लाग्नुभयो ? मैले भनेँ– म बैठक स्थलतिर लागेँ । कसरी जानुभयो भनेर सोध्यो । मैले भनेँ त्यहाँका स्थानीय साथीसँग गएँ । साथीको नाम के हो ? मलाई थाहा छैन भनेर जबाफ दिएँ । बैठक बसेको ठाउँ कहाँ हो भनेर सोध्यो । मैले थाहा छैन भनेर भनेँ । कुन ठाउँबाट लाग्नुभयो भनेर सोध्यो । मैले धानखोलावरैबाट गएँ भनेर जबाफ दिएँ । फेरि त्यहाँबाट कता लाग्नुभयो भनेर सोध्यो । त्यहाँबाट जङ्गलैजङ्गल उत्तरतर्फ लागेँ भनेर भनेँ । त्यो कहाँ हो भनेर फेरि सोध्यो । म पहिलोपटक गएकाले मलाई थाहा छैन भनेर जबाफ फर्काएँ । खोलाको बाटो लाग्नुभयो कि भएन ? उकालो–ओरालो थियो कि थिएन ? प्युठानको भुगोल हो कि भालुबाङबाट हो कि ? अर्घाखाँचीको भूगोल हो कि, कतिजनासँग जानुभयो भनेर सोध्छ । यस्ता अनगिन्ती प्रश्नहरू सोधेर आजित बनाउँछ । त्यसपछि त्यो मान्छे गयो । एकछिनपछि फेरि अर्को मान्छेले प्रवेश गर्छ ।

उसले फेरि पहिलेकै कुराहरू दोहो¥याउँछ । घरपरिवारको विवरणदेखि बैठकमा जाँदाका कुराहरू गर्छ । अनि बैठकस्थल कहाँ थियो ? गाउँमा थियो कि जङ्गलमा ? सुरक्षा कसले गरेको थियो ? हतियार थियो कि थिएनजस्ता कुराहरू सोध्न थाल्छ । बैठक बस्दै गर्दा प्रहरी परिचालन भएको कुरा कसरी थाहा भयो ? बैठक केमा बस्यो जस्ता कुराहरू लगातार सोधिराख्यो । हैन, तपाईंहरूले कति सोधिराखेको हो ? आराम गर्न दिनु पर्दैन ? निद्रा लागिसक्यो भन्यो । होइन, हामी पनि आराम गर्देनौँ । तपाईंहरूलाई पनि सुत्न दिँदैनौँ भन्यो ।
बीचबीचमा चिया मगाउँछन् । उनीहरू पनि चिया खान्छन् । मलाई पनि खान दिन्छन् । खाना खानुस् भन्छन् । मलाई रोटी चाहिन्छ । रोटी मगाइदिनुप¥यो भनेँ । मैले आपैmँले पैसा दिएँ । उनीहरूले रोटीचाहिँ मगाइदिए । यो बीचमा उनीहरू १२÷१४ जनाले बयान लिए होलान् । म्याट छ म्याटको माथितिर भित्तोतर्फ ओछ्याउने डसना पट्ट्याएर राखिएको छ । त्यसैमा अडेस लागेर उनीहरूको प्रश्नको उत्तर दिइरहन्छु । घरि अडेस् लाग्नुस् पनि भन्छन् । त्यो बयान लिने मान्छे जान्छ र फेरि अर्को आइपुग्छ । अर्को फेरि आक्रामक रूपमा प्रस्तुत हुन्छ । महासचिव कमरेडको चरित्रहत्यादेखि प्रकाण्ड कमरेडको चरित्रहत्या, वीरजङ्गको छोराको उपचारको कुरा निकाल्छ । घर कसरी बन्यो अरे, प्रकाशले कसरी पढ्यो अरे, प्रकाशको कलेजमा हडताल नहुने अरू मेडिकल कलेजमा हुने किन भन्ने प्रश्न गर्ने गर्छ । माइला, चिरञ्जीवी, केशव, विनोद, दीपेन्द्र चलाउने, प्रेम दर्नालको स्टाटसको कुरा गर्छ । काकाले कति पैसा बुझ्नुहुन्छ भनेर प्रश्न गर्छ मलाई । मैले प्रश्नको जबाफ नफर्काउँदै आफैँ ५००० रुपैयाँ दिने गरेको छ पार्टीले भनेर । प्रकाशको बाइकको कुरा निकाल्छ । म उसको बाइक होइन भन्छु । ऊ भन्न थाक्दैन, बोलिरहन्छ । दीपेन्द्रको खातामा ३० लाख पैसा छ नि भन्छ । तपाईंलाई कसरी थाहा भयो त भनेर मैले प्रतिप्रश्न गरेँ अनि उसले भन्यो– हामीसँग बैङ्कको स्टाटस छ भनेर जबाफ दिन्छ अनि मैले देखाउनु त स्टाटस भनेको चुप लाग्छ । उनीहरू यतिविघ्न चरित्रहत्यामा किन उद्यत छन् भन्ने कुरा छर्लङ्घै छ । उनीहरूलाई साम्राज्यवादी र उत्तरसाम्राज्यवादीहरूले भरणपोषण गरेका छन् । लगानी गरेका छन् । तालिम दिएका छन् र त रातदिन गुणगान गाइरहेका छन् । रातभरि सुत्न दिएका छैनन् । मेरो कुरा लगेर जीवन्तलाई राखेको पल्लो कोठामा सुनाउँछन् अनि हैन, सीसीको बैठक त गाउँमा भएको रहेछ नि त भन्छ । उहाँले गाउँमा भएको हो भन्नुहुँदोरहेछ । म जङ्गलमा भएको हो भन्छु । उहाँले ६ गते पानी परेको कुरा गर्नुभएको रहेछ । उनीहरू ६ गते पानी प¥यो नि त भन्छन् मकहाँ आएर । म हल बनाइएको छ नि त भन्छु अनि फेरि जान्छ र फेरि मकहाँ आउँछ । कसरी त्यत्रो पानी परेको बेलामा राति कसरी हलमा बसेको हो भनेर सोध्छ । म प्लास्टिक राखिएको थियो नि भन्छु । अनि चुप लाग्छ ।

रातभरि सुत्न दिएका छैनन् । अन्दाजी बिहान ३ बजेको हुँदो हो । एउटा जवान आएर ल सर हिँड्नुस् भन्यो । कहाँ जाने हो भनेर सोधेँ । खोइ सर मलाई थाहा छैन भन्यो । अनि दुईजनाले दुईटा पाखुरामा समातेर हिँडाए । एक खुट्किला माथि उक्लनुस् भन्छ । उक्लियो । अब सीधा हिँड्नुस् भन्छ, हिँडियो । सँगैको अर्को बिल्डिङमा लिएर गयो । मैले मनमनै सोचेँ– अब यिनीहरूले यातना दिने होलान् । म मानसिक रूपले तयार भएँ । एकछिनपछि कुर्सीमा बस्नुस् भन्यो अनि बल्ल राहत महसुस भयो । उनीहरू ५÷७ जना बसेका रहेछन् । मलाई राखिएको कुर्सीबाट उठाएर फेरि सारे । उनीहरू अलि टाढै रहेछन् । नजिक राखे । त्यही बेला जीवन्तको आवाज सुनेँ । ए हामी दुवैजनालाई सँगै बसाउन ल्याइएको रहेछ भन्ने बुझेँ । अलि ढुक्क पनि भएँ ।
फेरि प्रश्नहरू सोध्ने सिलसिला सुरु भयो । एमपीए १ भनेको के हो भनेर सोध्छ । मैले जनयुद्घको बेलामा जिल्लालाइ डी १, डी २ भनिन्थ्यो । त्यस्तै होला भनेर जबाफ दिएँ । त्यहाँ पनि जीवन्त केही बोल्नुभएन । त्यो उहाँको डायरीमा लेखिएको सर्ट फर्म रहेछ । त्यसपछि अन्य कुराहरू चल्न थाले । तपाईहरूका महासचिवलाई हामी गिरफ्तार गरेर सुरुमा सङ्खुवासभा लैजान्छौँ । मङ्सिर ८ गते हाम्रो विशाल आमसभा हुँदैछ । महासचिव त्यही कार्यक्रममा आउनुहुन्छ । त्यहीँबाटै लैजानुस् न भन्यौँ हामी दुवैजनाले । अनि उनीहरूले मङ्सिर ८ गतेको कार्यक्रमबारे चासो दिएर कुरा गरे । चिया मगाए हाम्रा लागि पनि । अबको क्रान्ति कसरी हुन्छ त भन्नेबाट चर्चा सुरु गरे । हामीले दलाल पुँजीवादी सत्ताविरुद्धको क्रान्तिमा हाम्रो पार्टीले नेतृत्व गर्छ । त्यसमा देशभक्त, राष्ट्रवादी शक्तिहरू, वामपन्थीहरू, सच्चा लोकतन्त्रवादीहरू र तपाईंहरू सबै मिलेर वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने हो, आउनुहोस् सबै मिलेर गरौँ भनेपछि एकजनाले तपाईंहरू यस्तै कुरा गर्नुहुन्छ र त चित्त बुझ्दैन भनेर असन्तुष्टि व्यक्त ग¥यो । वास्तविक कुरा यही नै त हो नि भनेपछि चुप लागे । एकछिन हाँसोमजाक पनि भयो । करिब आधा घन्टाजति त्यहाँ बसेर कुराकानी गरेपछि फेरि उनीहरूले तत्तत् कोठामा ल्याए र केहीबेर सुत्न दिए । मैले लिएको च्यादरलाई ढोकामा पर्दाजस्तो बनाएर टाउको भित्तातिर फर्कन भनेँ र केहीबेरका लागि आँखाको पट्टी खोलिदिए । निद्रा के पथ्र्यो र ? पल्टिएजस्तै गरियो । एकडेढ घन्टा सुत्न दिए होलान् । बिहानै अनुमानित ५ वा साढे ५ बजेतिर फेरि उठाउन आइहाले । दुईजनाले दुईदुईटा पाखुरामा समातेर त्यसैसँग जोडिएको अर्को बिल्डिङमा लिएर गए । एउटा मान्छे आक्रामक ढङ्गले प्रस्तुत भएर आयो । सुरुमै मनोवैज्ञानिक आतङ्क दिन खोज्यो । हामीले राम्रो गर्न पनि जान्या’ छौँ । नराम्रो गर्न पनि जान्या’ छौँ । तपाईंले बैठक बसेको ठाउँमा लिएर जानोस् भन्यो । मैले जबाफ दिएँ– म पार्टीको पीबीएम हुँ । तपाईंहरूको नियन्त्रणमा छु तर राजनीतिक र मानवीय व्यवहार गर्नुहोस् । म त्यो ठाउँमा लैजान सक्दिनँ । फेरि पनि त्यो ठाउँ मेरा लागि नयाँ हो । म पहिलोपटक गएको हँु । राती गएर राति नै आएको हुँ । राम्रो गरे गर्नुस्, नराम्रो गरे पनि गर्नुस् भनेपछि त्यो मान्छे कता गयो, थाहा भएन ।

एक छिनपछि फेरि अर्को मान्छे आयो । त्यो नरम तरिकाले प्रस्तुत भयो । सुरुमै उसले भन्यो– सर तपाईंले भन्न मिल्ने कुरा गर्नुस् । तपाईंले भन्न नमिल्ने प्राविधिक कुरा नगरे पनि हुन्छ । त्यसपछि ऊसँग अनुमानित साढे ५ बजेदेखि करिबकरिब ११ बजेसम्म दर्शन, राजनीति, क्रान्ति, अहिलेको समसामयिक परिस्थिति, राज्यसत्ताले गरेका भ्रष्टाचार, धर्म र कानुनसम्बन्धी तमाम विषयमा बहस भए । अन्त्यमा ‘भो सर खाना खाने बेला भयो । अब जाऊँ’ भनेर उही कोठामा ल्याएर छोडिदियो । त्यसपछि उनीहरूले खाना दिए । खाना खाइवरि एक छिनपछि अर्को मान्छे प्रवेश ग¥यो । उसले फेरि उनै कुराहरू ः घरको विवरण, पार्टीको सीसीको बैठककै सुरुदेखिकै कुरा सोध्न थाल्यो । काठमाडौँमा कहाँ बस्नुहुन्छ ? म कहिले विद्यार्थीकहाँ, कहिले आफन्तकहाँ बस्छु भनेर भनेँ । अनि घरको खर्च कसरी चल्छजस्ता प्राविधिक कुराहरू गर्न सुरु ग¥यो । मैले चल्छ भनेर जबाफ दिएँ । तपाईंका सामानहरू, ल्यापटपहरू छन् । सिमकार्डहरू छन् जस्ता कुराहरू ग¥यो । यो त पार्टीले दिएको हो । मेरो व्यक्तिगत होइन भनेर जबाफ दिएँ । यस्तै कुराहरू गरेर ऊ फक्र्यो र अर्को मान्छे आयो । ऊ कडैसित प्रस्तुत भयो । उसले तपाईं जहाँजहाँ बस्नुहुन्छ, त्यहाँँत्यहाँ लैजानुहोस् भन्यो । मैले फेरि भनेँ म पार्टीको पोलिटब्युरो सदस्य हुँ । राजनीतिक व्यवहार गर्नुस् । म कहीँ पनि लान सक्दिनँ ।
क्रमशः

 

२०७५ माघ २८ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!