एमाले र माओवादी केन्द्रको एकता दक्षिणपन्थी अवसरवादीहरुको एकता हो : नेता पुन

 काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत मेचीको अभियान टोलीले मोरङ, धनकुटा, पाँचथर र ईलामको संगमस्थान बुधबारे बजारमा जनसभा सम्पन्न गरेको छ । आइतबार सम्पन्न सो जनसभालाई पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा नेता पुनले केपी ओलीको दलाल सरकार सत्ता स्वार्थको आपसी अन्तरविरोधमा फसेकोले अब यसबाट नेपाली जनताले समृद्ध नेपाल र सुखि नेपालीको आशा नगर्न आह्वान गरे ।

उनले भने, ‘हाम्रो पार्टीले पहिले नै भनेको थियोे कि एमाले र माओवादी केन्द्रको एकता भनेको कम्युनिस्ट एकता नभई दक्षिणपन्थी अवसरवादीहरुको एकता हो । यो सत्ता स्वार्थ र अस्तित्व रक्षाको लागि गरिएको एकता भएकोले यसले देश र जनतालाई हित भन्दा पनि अहित नै बढी गर्नेछ । अब यो दलाल सरकारले देशमा हत्या र बलात्कार काण्ड, वाइडबडी जहाज काण्ड, सुन काण्ड, राजदुत काण्ड, गुण्डाराज काण्ड हुदै हाल आएर भेनेजुयला काण्डमा फसेर आफ्नो संकट आफै निम्त्याएको छ ।’

नेता पुनले केपी ओली उत्तर र पश्चिमको बैशाखिमा सत्तामा टिक्ने खेल खेलिरहेको र प्रचण्ड दक्षिणको खेलमा प्रधानमन्त्री बन्ने धुनमा लागेको बताएका छन् ।

उनले भने, ‘दलालहरुको दाबेदारी गर्दै कतिपय जिल्लाका प्रहरी र प्रशानका मान्छेहरुले देश र जनताको मुक्तिका लागि संघर्षरत हाम्रो पार्टीका नेता कार्यकर्तालाई झुट्ठा मुद्दा लगाउने र अनावश्यक दुख दिने कार्य गर्दै आएका छन् । जो निकै निन्दनीय कार्य हो । प्रहरीले जनताको सुरक्षा गर्ने हो दलालहरुको निर्देशनमा जनबिरोधी गतिविधि र राजनीति गर्ने हैन । सेनाले राष्ट्रको सुरक्षा गर्ने हो । कर्मचारीहरुले जनताको सेवा गर्ने हो । शासक प्रशासक भएर जनतामा दमन र आतंक सृजना गर्ने हैन । सगरमाथाको अभियानमा क्रियाशील साथीहरू गिरफ्तार गरेको खबर छ । यहीँ पाँचथरमा पनि यहाँको सिडिओ प्रकाशचन्द्र अधिकारी, डिएसपी नरेन्द्र कुवर र रविको इन्सपेक्टर तेजनारायण यादवले हाम्रा दुई जना कलाकार कुमार धामी र लक्ष्मण तामाङलाई अपहरणको शैलीमा गिरफ्तार गरेर सार्वजनिक मुद्दा चलाएका छन् । यसको हिसाब किताब हाम्रो पार्टीले राखेको छ । हाम्रो पार्टी क्रान्तिको महान अभियानमा सामेल भएकोले दलालहरुका यस्ता खाले हर्कतले हामीलाई कुनै असर गर्दैन बरु दलालहरुको असफलतालाई नै यसले संकेत गर्छ ।’

नेता पुनले संसदीय व्यवस्थाको असफलता र जनविरोधी हर्कतले जनतामा केही निरासा ल्याएको जस्तो देखिएता पनि यसको विकल्पमा हाम्रो पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी कार्यक्रमले जनतामा नयाँ आशा पलाएको दाबी गरेका छन् ।
प्रचारप्रसारको अभावका बावजुत पनि ६ नम्बर बुधबारे बजारमा भएको जनसभामा जनताको अत्याधिक उपस्थिति रहेको नेकपाले जनाएको छ । कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारहरुले गित संगीत प्रस्तुत गरेका थिए । सामना परिवारका सहसंयोजक आरोह नेपालीको सञ्चालनमा अघि बढेको कार्यक्रममा सामना परिवारले विभिन्न साँस्कृतिक प्रस्तुति मार्फत जनतालाई प्रशिक्षित पारेको थियोे ।

२०७५ माघ २७ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :