दलाल राज्यले युद्धमा धकेल्न उक्साइरहेको छ : पुन

 

 

पाँचथर : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ का क्रममा बिहीबार पाँचथरको रविबजारमा जनसभा सम्पन्न भएको छ । जनताको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको जनसभालाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेता पुनले सामना परिवारका कलाकारहरू कुमार धामी र लक्ष्मण पाख्रिनलाई केपी ओलीको दलाल सरकारको पुलिसले अपहरणको शैलीमा आदर्श स्कुलको हाताभित्रबाट गिरफ्तार गरी जिल्ला सदरमुकाम फिदिम पु¥याएकोमा तीव्र रोश व्यक्त गरे ।

काङ्ग्रेसले रोल्पामा तत्कालीन संयुक्त जनमोर्चाका नेता–कार्यकर्तालाई पुलिसको भरमा आफ्नै घरका खसीबोका र कुखुरा काट्न लगाएर रगतमा हात चोपी आजदेखि काङ्ग्रेस भएँ भन भन्न लगाएको संस्मरण गर्दै नेता पुनले भने, ‘काङ्ग्रेसको घरमा राँगा र गोरु लडेको छुटाउन खोज्दा चेप्पिएर मरेको छोरालाई खुकुरीले काटेर जनमोर्चाका मान्छेले मेरो छोरा मारे भनी मुद्दा लगाई शिक्षक सुन्दर ओली र किसान बलबहादुर खत्रीलाई ज्यान मुद्दमा फसाए । जनमोर्चाबाट निर्वाचित सांसद र जिल्ला सभापतिलाई काङ्ग्रेसी भिजिलान्तेको निर्देशनमा पुलिसले यातना दियो र जनतामाथि रोमियो अपरेसन चलाएर पार्टीलाई जनयुद्धको घोषणा गर्न बाध्य पा¥यो । अहिले केपी ओलीको सामाजिक फासिवादी सरकारले पनि त्यही रबैया अपनाउँदैछ र एकीकृत जनक्रान्ति निम्त्याउँदैछ । आज हाम्रा कलाकार भाइहरूलाई अनाहकमा गिरफ्तार गरेर यो दलाल राज्यले हामीलाई छिटो युद्धमा धकेल्न उक्साइरहेको छ ।’

नेता पुनले भने, ‘हामी देश र जनताको मुक्तिका खातिर मुक्ति वा मृत्युको कसम खाएर हिँडेका राता मान्छे हौँ । दलालहरूले बन्दुकको नाल देखाएर तर्साउन खोज्नु भनेको पिसाबको न्यानोमा रम्न खोज्नु हो । राणा र पन्चेहरू समाप्त भएझैँ अहिलेका दलालहरू पनि समाप्त हुनेछन् र वैज्ञानिक समाजवाद छिट्टै देशमा आउनेछ ।’

सामना परिवारका कलाकार आरोह नेपालीको सञ्चालनमा अघि बढेको कार्यक्रममा मेची ब्युरोका युवा नेता तारा थापा, इलाम जिल्ला पार्टी सचिव दिपेन राई, कोसी ब्युरो सदस्य निश्चल, पाँचथर जिल्ला पार्टी सचिव पेम्बा शेर्पा, सामना परिवारका संयोजक सरल माझीलगायत अभियान टिम र स्थानीय जनताको उल्लेखनीय सहभागिता थियोे ।

कार्यक्रमको पूर्वसन्ध्यामा सामना परिवारका गायक लक्ष्मण पाख्रिन र कुमार धामीलाई अपहरण शैलीमा गिरफ्तार गरेको विषयमा केहीबेर अभियन्ता र प्रहरीबीच झडप पनि भएको थियोे । प्रहरीको ज्यादतीप्रति स्थानीय जनता र विद्यार्थीले पनि विरोध जनाएका थिए ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :