अरुण तेस्रोको पावर हाउसमा शक्तिशाली बम विस्फोट

काठमाडौँ : अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसमा गएराति शक्तिशाली बम विस्फोट भएको छ ।
सङ्खुवासभाको चिचिला गाउँपालिका ३ पुखुवाखोलामा बन्दै गरेको अरुण तेस्रोको पावर हाउस नजिकै दुईवटा बम विस्फोट भएको समाचार प्राप्त भएको छ ।

बम कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन । पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा दुईवटा बम विस्फोट भएका थिए । बम विस्फोट हुँदा दुईवटा जेनेरेटरमा क्षति पुगेको बताइएको छ ।

अरुण तेस्रो आयोजना राष्ट्रहितमा नभएको भन्दै राजनीतिक दल र सरोकारवालाहरूले विरोध गर्दै आएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपालगायत पार्टीहरूले आयोजना राष्ट्रघाती भएको भन्दै विरोध गरिरहेका छन् ।

अझ नेकपाले त झन् त्यसविरुद्ध सङ्घर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । बम कसले र किन विस्फोट गराएको हो भन्ने केही नखुले पनि प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।

उत्पादित बिजुली भारत लैजाने गरी आयोजना निर्माण गरिँदैछ । नेपाल भ्रमणमा आएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

२०७५ माघ २५ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :