भेनेजुएलामा असफल अमेरिकी सत्ता विद्रोहको प्रयास र विभाजित विश्व

सन् १९४२ मा विश्व चर्चित पत्रिका टाइम म्यागजिनका पत्रकार हेनरी लुसले अमेरिकी शताब्दी सुरु भएको घोषणा गरे जुन अमेरिकी समाजमा प्रचलित कथनसँग मेल खायो । अमेरिका कस्तो अपवादको महादेश हो भने यो पुरानो संसारले ईश्वरप्रति गरेको गद्दारीका कारण यसलाई ईश्वरले निर्माण गरिदिएका हुन् ।

तसर्थ अमेरिकीहरू सभ्य बन्नु पर्दछ । त्यसकारण अमेरिका भनेको अन्तिम आशाको केन्द्र हो । लुसको घोषणाले अमेरिकीहरू उत्साहित बने । एकातर्फ हिटलरको आक्रमणले आजित बनेको युरोप तथा रुसले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा हतियार खरिद तथा निर्माणमा लगानी गरिरहेका थिए भने अर्कोतर्फ जापान एक्लै चीनलगायत विश्वका २७ देशसँग सैन्य युद्ध लडिरहेको थियो । त्यसकारण अमेरिका कुनै पनि युद्धमा प्रत्यक्ष सहभागी नभएका कारण आफ्नो दु्रत गतिमा आर्थिक उन्नति गरिरहेको थियो । त्यो समय अमेरिकाको अर्थतन्त्रले विश्वको कुल अर्थतन्त्रको करिब २७ प्रतिशत हिस्सा ओगटिसकेको थियो । त्यसकारण लुसको भनाइ अमेरिकीहरूले विश्वास गर्दै आएको कथनसँग मेल खायो । त्यस्तै हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लुसको भनाइसँग मिल्ने गरी अमेरिका फस्र्ट अगेन भन्ने नारा ल्याएका छन् । यो नारा ट्रम्पले सन् २०१६ मा घोषणा गरेका थिए । ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै मेक्सिकोको सिमानामा पर्खाल लगाउने भन्दै विवादमा आएका थिए । राष्ट्रपतिको शपथ लिएको केही महिनापछि अमेरिकाले टर्कीमाथि धावा बोल्न खोज्यो । टर्कीबाट देशनिकाला गरिएका धार्मिक नेता फतुल्लाह गुलेन (जो अहिले अमेरिकामा निर्वा्सित जीवन बिताइरहेका छन्) लाई उचालेर टर्कीका राष्ट्रपति रिसेप ट्याएप एर्दोगानका विरुद्ध असफल सैन्य कु गराउन खोजियो । अन्ततः रिसेप ट्याएप एर्दोगानले अमेरिकी षड्यन्त्रलाई चिरेर सैन्य कु असफल पारे । त्यसपछि नेटो सदस्य रहेको टर्की र त्यसको नेतृत्व गरिरहेको अमेरिकाका बीचमा कूटनीतिक सम्बन्ध टुट्यो । टर्कीमा असफल भएका ट्रम्प जनगणतन्त्र कोरिया (उत्तरकोरिया) माथि खनिए । तर उत्तरकोरिया ट्रम्पलाई ठाडो चुनौती दिँदै अन्तरमहादेशीय क्षेप्यास्त्र बनाउन सफल भयो । त्यसपछि उत्तरकोरियाप्रति अलि नरम रूपमा प्रस्तुत हुन थाले ट्रम्प । कुनै पनि सम्बन्धलाई राजनीतिक रूपमा नभएर व्यापारिक दृष्टिकोणले हेर्ने ट्रम्प अन्तर्राष्ट्रिय मामिलामा क्रमशः असफल हुँदै गए । उनले मध्यपूर्वलाई अमेरिकी पूर्वशासकहरूले झैँ पकडमा राख्न खोजे पनि व्यापारिक तरिकाले राजनीतिलाई बुझ्न थालेपछि एकाएक असफल हुँदै गए । यमनमाथि सैन्य दमन चर्को पारे । सिरियामा मिसाइल आक्रमण गरे तर स्थितिलाई आफ्नो काबुमा ल्याउन सकेनन् । कतारमा नाकाबन्दी लगाए । अमेरिका र साउदी अरबलाई ठाडो चुनौती दिँदै कतारले आफ्नो अर्थतन्त्र झन् सुधार ग¥यो । ट्रम्प आफ्नो करिब तीन वर्षको कार्यकालमा असफल रहे जेरुसेलम मुद्दाबाहेक । केही समयअघि ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता लग्ने घोषणा गरे तर उनका विदेशमन्त्री माइक पोम्पियोले मानेनन् । सिरियाबाट अमेरिका फिर्ता हुने ट्रम्पको निर्णयमा धक्का पुग्यो । त्यसपछि निराश बनेका ट्रम्प भेनेजुएलामाथि खनिए । मध्यपूर्वमा पूर्णतः असफल ट्रम्पले अरू ठाउँमा अमेरिकी हस्तक्षेप गरेर आफू सफल भएको देखाउन भनेजुएलामा मडुरोविरुद्ध आफ्नो कठपुतली जआन गुएडोलाई उचाल्न पुगेका छन् । त्यस्तै ट्रम्पले आफ्नो दोस्रो कार्यकालको चुनावी बाटो सुरक्षित बनाउने उद्देश्यले पनि भनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पुगेका छन् ।
पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धको बेला अमेरिकी डेमोक्रेट तथा रिपब्लिकन पार्टीका नेताहरूले अमेरिका फस्र्ट भन्ने परराष्ट्रनीति अपनाउने गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फस्र्ट अगेनको नारा लगाएर आफ्नो देशको स्वार्थ पूरा गर्न विश्वभरिकै आन्तरिक मामिलामा दख्खल दिइरहेका छन् ।

अमेरिकी नाकाबन्दीका कारण चरम आर्थिक सङ्कट भोगिरहेको ल्याटिन अमेरिकी देश भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी जुआन गुएइदोले विश्वलाई चकित पार्ने गरी जनवरी २ तारिखमा सडकबाटै आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरे । भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मडुरोका विरुद्ध आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा उनले राष्ट्रपति निकोलस मडुरोलाई अपदस्थ गरी आफू अन्तरिम राष्ट्रपति भएको दाबी गरेका थिए । त्यसपछि जुआन गएदाको दाबीलाई अमेरिका, ब्राजिल, कोलम्बिया, चिली, अर्जेन्टिना र अमेरिकाका मित्रदेशहरू ब्रिटेन, फ्रान्स, जर्मनी, क्यानाडा, बेल्जियमलगायतका देशहरूले आफ्नो समर्थन रहेको जनाए । संसारभरि भेनेजुएलामा राजनीतिक सङ्कट गहिरिएको र त्यसले द्वन्द्व निम्त्याउने त्रास फैलियो । अर्कोतर्फ अमेरिकी परराष्ट्र नीतिको विरोध गर्दै आएको वा काउन्टर दिँदै आएका रुस, चीन, उत्तरकोरियालगायत राष्ट्रको धुरी राष्ट्रपति निकोलस मडुरोका पक्षमा उभिए । उनीहरूले आफ्नो समर्थन मडुरोका पक्षमा रहेको बताए । त्यसपछि रुस र चीनको समर्थन गर्दै भारत, गिनी, दक्षिणअफ्रिका, निकारागुआ, क्युबा, बोलिभिया, सेन्ट भिन्सेन्ट, ग्रेनेडिन्स, बार्बाडोस, सुरिनामलगायतले वैधानिक राष्ट्रपति मडुरो भएका कारण आफ्नो समर्थन मडुरोलाई नै भएको बताए ।
त्यसरी भेनेजुएलाको राष्ट्रपति र प्रतिपक्षी नेता गुएदोको पक्ष र विपक्षमा मत विभाजन भयो । सम्भवतः तत्कालीन सोभियत सङ्घ विघटन हुनुभन्दा पहिलेको शीतयुद्धको जस्तै अन्तर्राष्ट्रिय रूपमै विश्व दुई कित्तामा स्पष्ट रूपमा विभाजित देखियो । यसलाई कतिपय राजनीतिक विश्लेषकहरूले शक्ति राष्ट्रहरूको विभाजनका रूपमा हेर्न थालेका छन् भने कतिपय जानकारहरूले रुस र चीन धुरी फेरि तत्कालीन सोभियत सङ्घको अवस्थामा पुगेको र विश्वका हरेक राजनीतिक घटना शीतयुद्धको जस्तै ब्यालेन्स देखिने बताउन थालेका छन् । शीतयुद्धको समयमा रुस र चीनबीच ठूलो मतभिन्नता हुँदाहुँदै पनि सोभियत सङ्घले अमेरिका नेतृत्वको नेटोलाई कडा चुनौती दिँदै आएको थियो ।
१९ औँ शताब्दीदेखि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
अमेरिकाले अहिले मात्रै भेनेजुएलामाथि हस्तक्षेप गरेको भने होइन । यसअघि पनि अमेरिकाले भेनेजुएलामाथि दर्जनौँपटक हस्तक्षेप गरिसकेको छ । कहिले आफ्ना कठपुतली खडा गरेर त कहिले षड्यन्त्रपूर्वक आफ्ना नीति तथा नियमहरू भेनेजुएलामाथि लादेर । १९ औँ शताब्दीदेखि नै वासिङ्टनले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । सन् १८९५ मा भेनेजुयला र बेलायतबीच सिमाना विवाद भएको थियो । त्यतिबेला अमेरिकामा ग्रुभर क्लिभल्यान्डको सरकार थियो । ल्याटिन अमेरिकाका कुनै पनि देशमा युरोपेली देशको उपनिवेशवादविरुद्ध प्रतिपादित मुन्रो सिद्धान्तमा आधारित रहेर एउटा विश्वशक्तिका रूपमा अमेरिका उक्त सिमाना विवादमा संलग्न भएको थियो । अमेरिकाले उक्त विवादमा भेनेजुएलाको पक्ष लिएको थियो । विवादमा भेनेजुएलाको जित भयो । सन् १९०८ मा नेदरल्यान्ड र भेनेजुएलाबीच विवाद भयो । अमेरिकी जलसेनाले भेनेजुएलाका तत्कालीन उपराष्ट्रपति जुआन भिसेन्टे गोमेजलाई सत्ता कब्जा गर्न मद्दत गर्याे । उनको सन् १९३५ मा निधन भयो । क्याचफिसको शासन मध्ययुगीन निर्ममताको एउटा उदाहरण थियो । राजनीतिक बन्दीमध्ये ‘भाग्यमानी’ ले जेलनेलको सजाय पाउँथे । अभागीलाई घाँटी वा अण्डकोशमा अङ्कुश लगाएर झुन्ड्याइन्थ्यो । गोमेज निकै भ्रष्ट थिए । उनको निधन हुँदाको समयमा गोमेजसँग २० करोड अमेरिकी डलर (आजभोलिको मूल्यमा ३ अर्ब ६० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताइन्छ । इक्जोनमोबिल, रोयल डच सेललगायत विदेशी तेल कम्पनीहरूलाई ठूलो मात्रामा छूट दिएर उनी अमेरिकी व्यापारिक केन्द्र वाल स्ट्रिटको प्रिय पात्र बनेका बनेका थिए । उनी बीसौँ शताब्दीको मध्यतिर भेनेजुएलामा दुई कार्यकाल राष्ट्रपति भए । आधुनिक भेनेजुएलाका संस्थापक मानिने रोमुलो बेतानकोर्टले भेनेजुएली अर्थतन्त्रमाथि विदेशी नियन्त्रणका लागि गोमेज एक हतियार थिए । उनी शक्तिशाली बाह्य स्वार्थका सहयोगी र नोकर थिए । त्यस्तै भेनेजुएलामा तानाशाही शासन चलाएका मार्कोस पेरेज जिमेनेजले १९४८ देखि १९५८ सम्म क्रूर शासन चलाएका थिए । अमेरिकाले द मिलिटेरी लिजिअन अफ मेरिटनामक पुरस्कारले सम्मान गरेको थियो । सन् १९५८ मा भेनेजुएलामा प्रजातन्त्र स्थापना भयो । अमेरिकाले लगातार भेनेजुएलामाथि हस्तक्षेप गर्दै आएको थियो । सन् १९९८ मा राष्ट्रपतिको निर्वाचनबाट ह्युगो चाभेज निर्वाचित भए । त्यसपछि भेनेजुएलाको आर्थिक तथा सामाजिक विकासमा कायापलट भयो । चाभेज राष्ट्रपति बनेपछि उनले निजी आर्थिक संस्थानहरूलाई राष्ट्रियकरण गरे । त्यसले शिक्षा, स्वाथ्य, रोजगारीमा उलटपुलट ल्याइदियो । अमेरिकाले उदारीकरण अर्थनीति अपनाएका कारण चाभेज अमेरिकाका लागि आँखाका कसिङ्गर बने । भेनेजुएला आर्थिक रूपमा आत्मनिर्भरतातर्फ अगाडि बढेपछि अमेरिका चिढियो । तत्कालीन अमेरिकी राष्ट्रपति जार्ज डब्लू बुसले सन् २००२ मा इलिअट अब्राहम्स र अट्टो रेइचकोलाई प्रयोग गरेर सैन्य विद्रोह गराउन खोजे तर चाभेजलाई भेनेजुएलाको सेनाले पुनस्र्थापित गरायो । चाभेजले थालेको समृद्धिको अवधिलाई बोलिभियाली क्रान्तिको नामले चिनिन्छ । उनले समाजवादी मोडेलमा लगेर देशको तीव्र विकास गरे । त्यसपछि बुसको कार्यकाल सकियो । ओबामा अमेरिकी सत्तामा आए । उनले पनि प्रशासनकै नीति अपनाए भेनेजुएलाको मामिलामा । सन् २०१३ मा बोलिभियाली क्रान्तिका नायक चाभेजको मृत्यु भयो । त्यसपछि निकोलस मदडरो राष्ट्रपतिमा निर्वाचित भए । अमेरिकी राजनीतिमा ट्रम्प उदाए । ट्रम्पले पछिल्लो समय भेनेजुएलामा सैन्य विद्रोहको असफल प्रयास गरे ।
अमेरिकी हस्तक्षेप किन ?
पहिलो कुरा चाभेजले सुरु गरेको बोलिभियाली क्रान्ति साम्राज्यवादविरुद्धको आन्दोलन हो । चाभेजले भेनेजुएलामा जुन स्वाधीन तथा समाजवादी अर्थतन्त्रको माध्यमबाट देशलाई स्वाधीन बनाए त्यसले साम्राज्यवादमाथि ठाडो प्रहार गरेको छ । साम्राज्यवाद भनेको मक्किएको पुजीँ हो (लेनिन) । लेनिनले साम्राज्यवादका मुख्य तीन र सहायक गरी पाँचवटा लक्षणहरूको व्याख्या गरेका थिए । चाभेजको आन्दोलन साम्राज्यवादी रबैयाका विरुद्ध भएका कारण अमेरिकाको टाउकोदुखाइ बन्यो । दोस्रो नवउदारवाद र समाजवादी अर्थतन्त्रबीचको प्रतिस्पर्धा भएका कारण अमेरिकाले भेनेजुएलामा हस्तक्षेप गरिरहेको छ । तेस्रो वैचारिक कारण हो । अमेरिकाले खुला अर्थतन्त्रको पक्षपोषण गर्छ भने भेनेजुएलामा समाजवादी अर्थतन्त्र लागू गरिएको छ ।
चौथो शक्तिको होडबाजी
अमेरिकाले आफ्नो नाकैमुनि रहेको भेनेजुएलालाई आफ्नो पक्षमा ल्याउन सके अमेरिकाको ठूलो जित हुनेछ । किनभने भेनेजुएलामा अमेरिका, चीनलगायत देशले आफ्नो बलियो कूटनीतिक सम्बन्ध कायम गरेका छन् साथै आर्थिक सम्बन्ध पनि । रुस र चीन अमेरिकाका प्रतिस्पर्धी हुन् । अमेरिकाले भेनेजुएलालाई आफ्नो पकडमा ल्याउन सके क्युबालगायत साम्राज्यवादी नीतिका विरुद्ध लडिरहेका ल्याटिन अमेरिकी देशहरूलाई पनि दबाब सिर्जना गरेर आफ्नो पक्षमा ल्याउन सकिने अमेरिकाको विश्वास छ ।
विभाजित विश्व
अमेरिकाले भेनेजुएलाका विपक्षी नेता गुएडोलाई समर्थन गरेपछि चीन, रुस, टर्की, भारत, दक्षिणअफ्रिका, जनगणतन्त्र कोरिया, भारतलगायत विश्वका दर्जनौँ देशले राष्ट्रपति निकोलस मडुरोलाई समर्थन गरिरहेका छन् । उता अमेरिकाको नेतृत्वमा रहेको नेटोले पनि विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष जुआन गुएडोलाई समर्थन गरेको छ । यसरी सन् १९९० यता विश्वमा राजनीतिक विभाजन भएको सम्भवतः यो पहिलोपटक हो । हुनत योभन्दा पहिला इराकमा अमेरिकाले सन् २००७ सद्दाम हुसेनलाई फाँसी दिएको बेला पनि अमेरिकी नेतृत्वमा एक धुरी र रुस–चीनको अर्को धुरी देखिएको थियो । तर यसपटक भने अमेरिकी नेतृत्वको धुरीको आत्मगत अवस्था निक्कै कमजोर देखिएको छ । नेटो सदस्य देश टर्की अमेरिकाको विपक्षमा उभिएको छ । अर्थिक तथा सैन्य शक्ति पनि त्यो अवस्थाको भन्दा व्यापक फेरबदल भएको छ ।
अहिले चीन आर्थिक रूपमा करिबकरिब अमेरिकाको हाराहारीमा पुगेको छ भने भेनेजुएलाका सेनाको राष्ट्रपति निकोलस मडुरोलाई पूर्ण समर्थन छ । यसरी तत्कालीन सोभियत सङ्घको विघटन भएयता पहिलोपटक विश्वराजनीति दुई कित्तामा विभाजन भएको छ । यसले एकतर्फी रूपमा अमेरिकी साम्राज्यवादी रबैया विश्व राजनीतिमा चल्न नसक्ने प्रस्ट देखाएको छ । अमेरिकाको समर्थन प्राप्त भेनेजुएलाका विपक्षी नेता जुआन गुएडोले आफ्नो कदमलाई समर्थन गर्न चीनलाई आग्रह गरेका छन् । साथै उनले आफू चीनसँग वार्ता गर्न तयार रहेको समेत बताउँदै आएका छन् । गुएडोको आग्रहले पनि त्यसलाई थप पुष्टि गरिदिएको छ ।
निष्कर्ष
शक्तिराष्ट्रहरू विभाजित हुनु भनेको एकल ध्रुवीय विश्वको अन्त्य हुनु पनि हो जसले गर्दा कमजोर राष्ट्रमाथिको साम्राज्यवादी उत्पीडन ( आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक) मा क्रमशः क्षयीकरण अर्थात् कम हुँदै जाने भन्ने देखाउँछ । अमेरिका फस्र्ट भन्ने करिब एक दशकअगाडिको अमेरिकी विदेशनीति अहिलेको विश्वमा असम्भव छ भन्ने अमेरिका र उसका सहयोगी देशहरूले बुझ्न जरुरी छ । कतार, टर्की, उत्तरकोरिया, सिरिया, इरान र भेनेजुएलामा असफल भएका ट्रम्प अझै कति समयसम्म अमेरिका फस्र्ट अगेनको नीतिमा अगाडि बढेर आफ्नो साख गिराउँछन्, हेर्न बाँकी छ । साथै अमेरिकाको सन् १९९२ मा मिखाइल गोर्बाचोभको समयमा (तत्कालीन सोभियत सङ्घको विघटन भएपछि) द इन्ड अफ द हिस्ट्री एन्ड द लास्ट म्यान लेख्ने फ्रान्सिस फुकुयामा भेनेजुएलामा अमेरिकी असफल सत्ता विद्रोहको प्रयासले अब विश्व फेरि विभाजित भैसक्यो भन्ने आँट गर्लान् त भन्ने प्रश्न खडा भएको छ ।

२०७५ माघ २४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!