नेता सुदर्शनद्वारा भुवानीप्रसाद पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली / संस्कार बदल्ने अभियान सुरु गर्न नेकपा नेताहरूको सुझाव


चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलका बुबा भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । भुवानीप्रसाद पौडेलको परिवारजनले चितवनको भरतपुरमा आयोजना गरेको उक्त समारोहमा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ प्रमुख अतिथि थिए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले समाज रूपान्तरणको बाटोमा जीवनभर सङ्घर्ष गर्ने भुवानीप्रसाद पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना दिए । नेता सुदर्शनले समाजमा धर्म र संस्कृतिमा आमूल परिवर्तन आवश्यक भएको भन्दै नेपालका कम्युनिस्टहरू नै सांस्कृतिक प्रतिक्रान्तिमा संलग्न भएको बताए । नेपालका धार्मिक दलालहरूले देशलाई नै बर्बादीको दिशातिर लगेको भन्दै नेता सुदर्शनले नेपालका कम्युनिस्ट नामका प्रचण्ड–ओलीहरूले विदेशीहरूको इसारामा देशमा धार्मिक प्रतिक्रान्ति गरिरहेको बताए । नेपालमा विदेशीहरूले धर्मका नाममा राजनीति गरिरहको बताए । सन्देश पौडेलको परिवारले नयाँ संस्कृतिको सुरुआत गरेको भन्दै उनले पौडेल परिवारको प्रशंसा पनि गरे । त्यसलाई समाजले अनुसरण गर्नुपर्ने नेता सुदर्शनको भनाइ थियो । सामाजिक रूपान्तरण आफ्नो जीवनमा लागू गर्नुपर्ने भन्दै जनताका हकमा धर्म मान्ने विषय स्वतन्त्र भए पनि कार्यकर्ताहरूका हकमा भने त्यो लागू नहुने उनले बताए । कम्युनिस्ट कार्यकर्ताहरू भौतिकवादी हुनैपर्ने कुरामा उनले जोड दिए । नेपालका दलालहरू अहिले विभिन्न खालका काण्डैकाण्डमा फसेको र देशलाई इतिहासकै कमजोर अवस्थामा पुर्याइएको भन्दै नेता सुदर्शनले दलाल सत्ताका मतियारहरूका विरुद्ध नेकपाले सङ्घर्ष गरिरहेको बताए । आफ्नो पार्टी कुनै पनि हालतमा प्रचण्ड–बाबुरामजस्तो विचलित नहुने र वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लड्ने उनको भनाइ थियो । समाज रूपान्तरणका लागि भुवानीप्रसादले देखाएको बाटोमा अविरल अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपाका नेता सुदर्शनले समाज परिवर्तन र नयाँ भौतिकवादी संस्कृति निर्माण गर्ने अभियानमा सबै लाग्नुपर्ने बताए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य अनिल विरहीले परम्परागत संस्कार नगर्दा यो समाज, टोल र छिमेकमा कतै भूकम्प उत्पन्न हुनसक्ने भए पनि समाज बदल्ने अभियान सुरु गर्ने सन्देश पौडेलको परिवारलाई समवेदना व्यक्त गर्दै संस्कार बदल्ने अभियान सुरु गर्ने परिवारको प्रशंसा गरे । पुरानो सामाजिक परम्परा बदल्न आफैँले सुरु गर्नुपर्ने भन्दै उनले नयाँ समाज रूपान्तरणका लागि कसले के भन्छ भन्ने कुराभन्दा पनि पहिले आफँैबाट सुरु गर्नुपर्ने उनको भनाइ थियो । समाज बदल्ने अभियान पहिले थोरै मानिसबाट सुरु गर्नुपर्ने भन्दै उनले राम्रो कुराकोे सुरुआत थोरै मान्छेबाट सुरु हुने बताए । सन्देश पौडेलको परिवारले समाज रूपान्तरणको अभियानमा निर्वाह गरेको भूमिका सराहनीय भएको भन्दै उनले यो समाजमा अरूले पनि सिक्दै जानुपर्ने विषय भएको बताए । समाज परिवर्तन गर्ने अभियानमा पौडेल परिवारले चालेको कदमको उनले प्रशंसा गरे । कम्युनिस्टहरूले मन्दिरमा गएर टाउको ठोक्नु र भैँसीपूजा गर्नु गलत भएको भन्दै नेता विरहीले जनतालाई धार्मिक स्वतन्त्रता दिनुपर्ने र कार्यकर्ताहरूचाहिँ भौतिकवादी हुनुपर्नेमा जोड दिए । नेपालको कम्युनिस्ट आन्दोलनमा श्रमजीवीहरूले गरेको श्रमको प्रतिफल दलालहरूले खाने गरेको भन्दै त्यसका विरुद्धको आन्दोलन आफ्नो पार्टीले अघि बढाइरहेको उनले बताए ।
कार्यक्रममा वामपन्थी बुद्धिजीवी शिक्षक पे्रम रिमालले सामाजिक र राजनैतिक परिवर्तनका लागि चितवनका सामाजिक अभियानका अभियन्ता भुवानी पौडेलले जीवनमा निकै ठूलो काम गरेको बताए । उनले सामाजिक रूपान्तरण पहिले आफँैबाट सुरु गर्नुपर्ने बताए । कम्युनिस्ट पार्टी र झण्डा प्रति आफनो आस्था रहेको भन्दै उनले नेपालका क्रान्तिकारीहरू सामाजिक रूपान्तरणको अभियानबाट विचलित भएको बताए । साथै सामाजिक रूपान्तरणको अभियान पहिले आफैँबाट सुरु गर्नुपर्ने धारणा राखे । समाज बदल्ने अभियानमा आफँै सरिक भएर आफ्नै जीवनकालमा लागू गर्नुपर्ने उनको भनाइ थियो ।


सांस्कृतिक रूपान्तरण मृत्यु संस्कारविषयक अन्तक्र्रियासहितको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका चितवन जिल्ला सेक्रेटरी धुव्रले नेकपाको केन्द्रीय समिति, मध्यकेन्द्रीय कमान्ड, पूर्वी कमान्ड र जिल्ला समिति चितवनको समवेदनापत्र वाचन गरिएको थियो । यस्तै मृतक भुवानीप्रसाद पौडेलका कान्छा छोरा टुकनारायण पौडेलले भुवानीप्रसादले सामाजिक र राजनीतिक क्षेत्रमा गरेका योगदानका बारेमा समेटेर तयार पारिएको सङ्क्षिप्त जीवनी वाचन गरेका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् भुवानीप्रसाद पौडेलका छोरा सन्देश पौडेल, नेकपाका केन्द्रीय सदस्यहरू असल क्षेत्री, निर्मल राई, नेकपाका ब्युरो सदस्यहरू प्रकाशराज, सुदृष्टि, चितवन जिल्ला सेक्रेटरीलगायतको उपस्थिति थियो । श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता भुवानीप्रसादकी जीवनसँगिनी शिवकुमारी पौडेलले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अथिति सुदर्शन, अतिथि अनिल विरहीलगायत नेताहरूले सेतो कपडा लगाउने पुरानो रूढिवादी सामाजिक परम्पराको रूपान्तरणका लागि भुवानीप्रसाद पौडेलकी जीवनसँगिनी शिवकुमारी पौडेललाई रातो कपडा प्रदान गरेका थिए ।
भुवानीप्रसाद पौडेलले आफ्नो जीवनकालमै रूढिवादी परम्पराअनुसार काजकिरिया नगर्न र आफ्नो पार्थिव शरीर आफूले रगतपसिना बगाएको र आन्दोलनमा जीवन व्यतित गरेकै ठाउँमा दाहसंस्कारका लागि परिवारजनलाई आग्रह गरेका थिए । उनको पार्थिव शरीरमा नेकपाका पोलिटब्युरो सदस्य अनिल विरहीले कम्युनिस्ट पार्टीको झन्डा ओडाएका थिए । स्याङ्जाको दरौँ गाउँमा २००५ साल मङ्सिर २७ गते जन्मिएका भुवानी पौडेलको निधन यही माघ १९ गते भएको थियो । उनी केही समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए । भुवानी पौडेलले चितवनमा गरेका सामाजिक काम मृतक भुवानीप्रसाद पौडेलले आफ्नो जीवनमा गरेका सामाजिक कार्यहरूमा चितवनको धोवाहाका थारू  मुदायहरूमथि भएको सामन्ती शोषणविरुद्धको सङ्घर्षको नेतृत्व गरेका थिए । माडीमा भएको भकारी फोर आन्दोलनमा सक्रिय सहभागी, यस्तै पञ्चायतविरोधी सङ्घर्षमा माडीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यस्तै तत्कालीन नेकपाको चौथो महाधिवेशनको निर्णयअनुसार जनपक्षीय उम्मेद्वारका रूपमा उपप्रधानपञ्चको उम्मेदवारी दिएका थिए । तत्कालीन जनमोर्चाका तर्फबाट माडी र पश्चिमचितवनमा भएका सवै सङ्घर्षमा सक्रिय रूपमा सहभागी भएका थिए ।


उनी चितवनको बगौडा गाविसका जनताको विकास निर्माणको काममा सक्रिय थिए । माडी क्याम्पस निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए र त्यसको संस्थापक सदस्य थिए । उनले स्थानीय बन समिति र बफरजोनहरू निर्माण र त्यसमार्फत जनसेवा गरेका थिए । स्थानीय दिवाकर स्मृति विद्यालयको संस्थापक सदस्य थिए । यस्तै पिसल्यान्ड स्कुलको संस्थापक सदस्य थिए । वसन्तपुर बजार ब्यवस्थापन समितिको अध्यक्षलगायतका विभिन्न पदहरूमा रही सक्रिय थिए । रेडक्रस बघौडा शाखामार्फत विशिष्ट सदस्य र मूल समितिमा रही सक्रिय थिए । उनी माडी विद्यालयको ब्यवस्थापन समतिका सदस्य पनि थिए । माडी क्याम्पस भवन निर्माण समितिका अध्यक्ष रहिसकेका पौडेल इलाका प्रहरी कार्यालय वसन्तपुरको भवन निर्माण तथा रेखदेख समितिका अध्यक्ष थिए ।


आफूसँगै सिङ्गो परिवारलाई क्रान्तिकारी आन्दोलन र सामाजिक सुधारमा निरन्तर परिचालन र प्रेरणादायी भूमिका सवै क्षेत्रका अन्याय, अत्याचार, उत्पीडन र विसङ्गतिका विरुद्ध निरन्तर सङ्घर्ष, महिलालाई समान अधिकार प्रदान गर्ने र जातीय विभेदका विरुद्ध जीवन व्यवहारबाटै पहलकदमी लिँदै आफ्नो श्रीमतीलाई सम्पत्तिमा समान अधिकार प्रदान गरेका थिए । सामाजिक विकास निर्माणको क्षेत्रमा रूढिवादी संस्कृतिको विरोध गर्दै ३० वर्षदेखि दलित समुदायलाई आफ्नो घरमा निर्बाध प्रवेश गराएका थिए । रूढिवादी संस्कृतिको कट्टर विरोधी रहेका पौडेल सांस्कृतिक सुधारमा माडी क्षेत्रकै एक अभियन्ता थिए । आफू जीवित छँदै विभिन्न खालका औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा आफूलाई रूढिवादी ढङ्गले काजकिरिया नगर्न र आफैँले रगतपसिना बगाउँदै जीवन व्यतित गरेको ठाउँमा नै दाहसंस्कार गरिदिन आग्रह गरेका थिए ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :