पार्टी अभियान मिक्लाजुङ सप्तमीमा सामनाको जोडदार प्रस्तुति

पाँचथर : नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ २२ औँ दिन मेचीको पाँचथर जिल्लाको मिक्लाजुङ सप्तमी बजारमा सामना सांस्कृतिक परिवारको बेजोड प्रस्तुतिसहितको जनसभा सम्पन्न भएको छ । सामना परिवारका कलाकार आरोह नेपालीको सञ्चालन, पाँचथरका पार्टी जिल्ला इन्चार्ज दर्शनको सभाध्यक्षता र जिल्लासचिव पेम्बा शेर्पाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई अभियान टोली प्रमुख तथा पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेता पुनले बर्दिया र कैलालीमा केपी ओलीको दलाल पुँजीवादी सरकारले सुकुमबासी बस्तीमाथि बर्बर दमन गरी बस्ती उठाएकोमा त्यसको घोर भत्र्सना गरे । अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका नेता पुनले नेपालमा करिब ६० हजार जनता भूमिहीन सुकुमबासी रहेको तर दलाल राज्यले केवल तिनलाई भोट बैङ्कका रूपमा मात्रै प्रयोग गरेको बताए ।

नेता पुनले भने, ‘चुनावको बेला भोट देउ जग्गा दिम्ला भनेर हरेक संसद्वादी पार्टीका उम्मेदवारले भोट माग्छन् तर जितेर गएपछि तिनै पार्टीका दलालहरू डोजर लिएर सुकुमबासी बस्ती भत्काउन आउँछन् । पूर्वी नेपालको झापालगायत जिल्लामा पनि सुकुमबासी समस्या चर्को छ । अहिले त झन् भूमाफिया र जग्गा दलालहरूले सुकुमबासी बस्तीहरू जालझेल गरी उठीबास गराउँदैछन् र त्यसमा दलाल सरकार, त्यसको मालपोत कार्यालय र अदालतहरूले कथित कागजी कानुनका भरमा दलालहरूको पक्षमा काम गरी सुकुमबासी उठीबास गरिरहेका छन् ।’
उनले नेपाल कम्युनिस्ट पार्टी त्यसको डटेर सामना गर्न तयार रहेको र त्यसको बदलामा जनसत्तामार्फत हस्तक्षेप गर्न बाध्य बनेको पनि बताए । दलालहरूले बर्दियामा गरेको गतिविधिको नेपाल कम्युनिस्ट पार्टीले घोर विरोध गरेको र दलाल केपी ओलीको सरकारलाई सुकुमबासीमाथिको दमन र ज्यादती तत्काल नरोके आन्दोलन गर्ने चेतावनी दिएको उनले बताए । ‘कथित कम्युनिस्ट नामको केपी ओलीको दलाल सरकारले सुकुमबासीलगायत देशका सबै उत्पीडित जनतामाथि यस्तै दमनचक्र चलाउँदै गएमा नेपाल कम्युनिस्ट पार्टी त्यसको सशक्त प्रतिकार गर्न बाध्य हुनेछ । यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् दलाल राज्य हुनेछ’, उनले भने । समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको कथित केपी ओलीको सरकारले कङ्गाल नेपाल र दुःखी नेपाली बनाएकाले यसको विकल्प वैज्ञानिक समाजवाद रहेको उनको भनाइ थियो ।
स्थानीय जनता, व्यापारी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी र सुरक्षाकर्मीको उपस्थिति रहेको जनसभामा सामना परिवारले विभिन्न नृत्य र गायन प्रस्तुत गरेको थियोे । कुमार धामी र लक्ष्मण तामाङको अभियान टोलीले बुधबार नै युवा वर्ष माध्यमिक बिद्यालय साराङडाँडामा विवश थापामगरको अध्यक्षतामा १७ सदस्यीय अखिल (क्रान्तिकारी) को विद्यार्थी एकाइ समितिसमेत गठन गरेको छ ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :