अखिल क्रान्तिकारीले दियो चेतावनी


तानसेन (पाल्पा) : अखिल (क्रान्तिकारी) ले चलाएको राष्ट्रियताको आन्दोलनमा सरकारले हस्तक्षेप गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेकपाको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) तानसेनको प्रथम अधिवेशनलाई मङ्गलबार सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य वीरेन्द्र विकले उक्त चेतावनी दिएका हुन् ।


कार्यक्रममा विकले भने, ‘हामी राष्ट्रियता बचाउने अभियानमा छौँ । यसका लागि देशभर आन्दोलन गर्छौं । सीमा क्षेत्रमा काँडेतार लगाइनु त्यसैमध्येको एउटा कार्यक्रम थियो । त्यसमा राज्यले दमन गरे प्रतिकार हुन्छ ।’ शान्तिपूर्ण आन्दोलनलाई प्रहरी प्रशासनने दमन गर्ने र धरपकड गर्ने गरेकाले आन्दोलन झन् चर्काउनु परेको उनको जिकिर छ ।
वर्तमान शिक्षामा विभेद रहेको बताउँदै विकले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी शिक्षा स्थापना गरिनुपर्ने बताए । त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन क्रान्तिकारी पछि नपर्ने र वैज्ञानिक समाजवादी शिक्षाका लागि परिवर्तनका पक्षमा सम्पूर्ण विद्यार्थी सामेल हुनुपर्ने उनको भनाइ छ ।
प्रथम नगर सम्मेलनले जनक शाहीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरेको छ ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :