सल्यानमा विप्लव नेकपाको गर्जन / एकै दिनमा १७ सङ्गठन निर्माण


सल्यान : नेपाल कम्युनिस्ट पार्टी सल्यानले एकीकृत जनक्रान्तिका लागि जनतालाई लामबद्ध बनाउँदै लगेको छ ।
सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सल्यानमा जनताले राम्रो साथ दिएको नेकपा सल्यानले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा सङ्गठन विस्तारका लागि टिम छुट्ट्याएर प्रशिक्षण दिइरहेको जानकारी नेकपा सल्यानका इन्चार्ज विश्वले दिए । सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र प्रशिक्षणका लागि नेकपाका केन्द्रीय सदस्य मिलन, सल्यान जिल्ला इन्चार्ज विश्व, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा सङ्घका केन्द्रीय सदस्य पाटन, अनेमसङ्घ क्रान्तिकारी राप्ती ब्युरो संयोजक हेमन्ता, नेकपाका सल्यान जिल्ला सदस्य टाइगर, मोहनपुरुष, टोपबहादुर केसी लागयतको टिम गाउँगाउँमा खटिएका छन् । उनीहरूले जनतालाई आफ्नो पार्टीले अघि बढाएको एकीकृत जनक्रान्तिलाई साथ दिन आग्रह गरेका छन् ।
अभियान टिमले मङ्गलबार एकै दिन १७ वटा सङ्गठन निर्माण गरेको छ । जिल्लाको बागचौर नगरपालिका ६ दुदिलाबोटमा प्रशिक्षणबाट तिलक ओली सेक्रेटरी रहेको ९ सदस्यीय वडा समिति र जयप्रकाश ओली संयोजक रहेको ९ सदस्यीय युवा सङ्गठन निर्माण भएको छ । वडा नम्बर ४ मा शेरबहादुर ओली सेक्रेटरी रहेको १३ सदस्यीय वडा समिति र खगेन्द्र ओलीको अध्यक्षतामा ९ सदस्यीय युवा सङ्गठन निर्माण गरिएको नेकपा सल्यानले जनाएको छ ।
त्यस्तै छत्रेश्वरी ४ मा गीता केसीको अध्यक्षतामा ९ सदस्यीय महिला वडा समिति बनेको छ । वडा नम्बर ३ मा नारायणी ओलीको अध्यक्षतामा ७ सदस्यीय महिला वडा समिति बनाइएको छ । वडा नम्बर ३ मै कृष्णा पुनको अध्यक्षतामा ५ सदस्यीय ज्यामिरे टोल एकाइ समिति, रूपा पुनको अध्यक्षतामा ५ सदस्यीय बुलबुले टोल एकाइ समिति र हरिकला कुँवरको अध्यक्षतामा ५ सदस्यीय सिंगारीकोट महिला एकाइ समिति निर्माण गरिएको नेकपा छत्रेश्वरी गाउँ समितिले जनाएको छ ।
उता दार्मा गाउँपालिकाको वडा नम्बर १ मा पूर्णबहादुर सुनार सेक्रेटरी रहेको ९ सदस्यीय वडा समिति, झकेन्द्रबहादुर परियारको अध्यक्षतामा ७ सदस्यीय युवा सङ्गठन, निशा रोकायको संयोजकत्वमा ७ सदस्यीय महिला वडा समिति बनाइएको छ । शान्ता कटुवालको संंयोजकत्वमा ९ सदस्यीय दार्माकोट गाउँ एकाइ समिति र चक्रे कामीको संयोजकत्वमा ७ सदस्यीय किसान सङ्गठन निर्माण गरिएको नेकपा दार्मा गाउँ समितिले जनाएको छ ।
यसैबीच सरस्वती मावि बागचौर फेदीखोलामा चन्द्रप्रकाश केसीको अध्यक्षतामा ४५ जना विद्यार्थी सङ्गठन विस्तार गरिएको छ । रागेचौर मावि कुमाख गाउँपालिकामा दीपक रावतको अध्यक्षतामा ११ सदस्यीय विद्यार्थी सङ्गठन बनाइएको छ भने गुँरासे माविमा नविक केसीको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी सङ्गठन विस्तार गरिएको अखिल क्रान्तिकारी सल्यानले जनाएको छ ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :