क्रान्तिकारी किसान महासङ्घ काभ्रेको भेला सम्पन्न / किसानलाई पेन्सन र खाद्य सम्प्रभुता अधिकार सुनिश्चित गर : कार्की


काभ्रेः अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) काभ्रे जिल्लाको प्रथम जिल्ला भेला मङ्गलबार सम्पन्न भएको छ । भेलामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महाङ्घ (क्रान्तिकारी) का संयोजक राजु कार्कीले किसाानलाई पेन्सन र खाद्य सम्प्रभुताको अधिकारको सुनिश्चितताका लागि अबको किसान सङ्घर्ष केन्द्रित गर्नुपर्ने बताए । उनले किसानको उत्पादनमा भइरहेको दलालीकरणलाई निषेध गर्नुपर्ने धारणा पनि राखे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कार्कीले किसानलाई दिइने अनुदानमा भइरहेको भ्रष्टाचारका विरुद्ध सङ्घर्ष र कारबाही गर्न निर्देशन दिएका थिए । कार्यक्रममा विशेष अतिथि तथा नेकपा पार्टीका काभ्रे जिल्ला इन्चार्ज सरद रसाइली ‘सन्देश’ ले क्रान्तिकारी आन्दोलनमा होमिँदा सहिद भएकाहरूले देखाएको बाटोमा आफ्नो पार्टी अगाडि बढिरहेकाले बेपत्ता भएकाहरूको खोजीकार्य पार्टीले गर्ने बताए ।

कार्यक्रममा भूमिहीन सुकुमबासी सङ्घका महासचिव लालबहादुर विक, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का कार्यालय सचवि हरि श्रेष्ठ, सहिद तथा बेपत्ता परिवारका सदस्य कृष्णप्रसाद ढकालले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका थिए । मङ्गलबार भएको भेलाले रमेश बोलखेको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गुणराज तिमल्सिना, सचिव विष्णु थापा, सहसचिव रेवती गौतम र कोषाध्यक्ष भीम अधिकारी रहेका छन् । सदस्यहरूमा केदार दाहाल, सन्तलक्ष्मी श्रेष्ठ, यक्षप्रसाद बोलखे, शर्मिला पहरी, चमेली पहरी, कृष्ण विक, बलराम विक, शालिकराम सिप्खानालगायत १५ जना रहेका छन् ।
रमेश बोलखेको अध्यक्षता र विष्णु थापाको सञ्चालनमा भएको भेलामा स्वागत मन्तव्य गुणराज तिमल्सिनाले राखेका थिए ।

२०७५ माघ २३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :