विजयडाँडाको काख बाफुखोलामा नेकपाको अभियान ! जनयुद्धमा जस्तै साथ दिन नेता पुनको आह्वान


सल्यान : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सल्यानमा घनीभूत तरिकाले अघि बढिरहेको छ । हजारौँ जनता अभियानमा लामबद्ध भएका छन् । सोमबार मात्र रोल्पा र सल्यानको सिमाना विजयडाँडामा जनसभा सम्पन्न भएको छ । सयौँ जनता सहभागी भएको उक्त सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान–रुकुम अभियान टोलीका कमान्डर चिरन पुन ‘मिलन’ ले जनताको आफ्नो व्यवस्था वैज्ञानिक समाजवाद ल्याउने आफ्नो पार्टीले सञ्चालन गरेको अभियानमा साथ दिन विजयडाँडाबासी जनतालाई आह्वान गरेका छन् । प्रचण्ड–बाबुरामले विजयको नजिक पुग्नै लागेको क्रान्तिलाई बीच बाटोमै अलपत्र पारेको भन्दै उनले आफ्नो पार्टीको नेतृत्वमा नेपालको बाँकी क्रान्ति पूरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपाका जिल्ला नेता टाइगरले पनि मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन भीम ओलीले गरेका थिए ।

यसैबीच बागचौर नगरपालिका ११ र १२ नम्बर वडामा पार्टी र जवसका सङ्गठनहरू निर्माण भएका छन् । उक्त स्थानमा टोपबहादुर ओली निशानको नेतृत्वमा १७ सदस्यीय नगर समिति गठन भएको छ ।

यस्तै ११ नम्बर वडा बाफुखोला बागचौरमा विवेक केसीको नेतृत्वमा वडा समिति गठन भएको छ । सोही स्थानमा सीमा ओलीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सङ्गठन गठन भएको छ जसको उपाध्यक्षमा विनिता केसी, सचिवमा सुशीला केसी, कोषाध्यक्षमा विमला केसी र सदस्यहरू रहेका छन् । यस्तै नोखीराम डाँगी सेक्रेटरी रहेको ११ सदस्यीय पार्टी सङ्गठन निर्माण भएको छ भने वेदप्रसाद ओली संयोजक रहेको ९ सदस्यीय समिति गठन गरिएको छ ।

 

यस्तै दीपक विक अध्यक्ष रहेको ११ सदस्यीय युवा सङ्गठन निर्माण भएको छ जसको उपाध्यक्ष वीरेन्द्र ओली र सचिव खुमराज विक रहेका छन् । उता दार्मा गाउँपालिकाको २ नम्बर वडामा विनोद विक सेक्रेटरी रहेको ७ सदस्यीय पार्टीको वडा समिति गठन भएको छ । यस्तै वलदेव विक संयोजक रहेको ७ सदस्यीय युवा सङ्गठन निर्माण भएको छ । यस्तै खले कामी संयोजक रहेको ७ सदस्यीय अखिल नेपाल किसान महासङ्घ गठन भएको छ । सन्जु विकको नेतृत्वमा रहेको ७ सदस्यीय वडा समिति गठन भएको छ ।

विजयडाँडा र दार्मामा चिरन पुन र पाटन नेतृत्वको अभियान टोलीले सङ्गठन निर्माण गरेको थियो । यस्त्रै छत्रेश्वरी गाउँपालिका वडा नं ४ ठूलीखर्कमा खिमलाल सेक्रेटरी रहेको ७ सदस्यीय वडा पार्टी समिति गठन भएको छ भने टीका खड्का अध्यक्ष रहेको ७ सदस्यीय महिला सङ्गठन निर्माण भएको छ । यस्तै मूलखोलामा हर्कबहादुर परियारको नेतृत्वमा ७ सदस्यीय दलित सङ्गठन निर्माण भएको छ । सल्यानमा पहिलो चरणमा व्यापक रूपमा जनसभा र प्रचारात्मक कार्य सम्पन्न भएको छ । अब सङ्गठन निर्माणको प्रक्रिया सुरु भएको जनाइएको छ ।

२०७५ माघ २२ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :