दलाल व्यवस्थाको विरुद्ध अब क्रान्तिले भीषण रूप लिनेछ – नेतृ आस्था

मन्थली : नेपाल कम्युनिस्ट पार्टीले मन्थली नगरपालिका १० चनखुमा गरेको जनसभा भव्यरूपमा सम्पन्न भएको छ । पार्टीले माघ १ गतेदेखि थालेको पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान २को क्रममा जिल्ला पार्टी रामेछापले मनपा १० चनखुमा आइतबार जनसभा गरेको छ । जिल्ला समिति सदस्य बद्री बोहराले सञ्चालन गर्नुभएको सभाको अध्यक्ष्यता पार्टीको रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेल (जमिन)ले गर्नु भएको थियो । अभियानकोलागि रामेछाप जिल्लामा प्रमुख नेतृत्व गरिरहनु भएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी ब्युरो इन्चार्ज सावित्रा दुरा (आस्था) प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि आस्थाले सभालाई सम्बोधन गर्दै देशमा विद्यमान चरम भ्रष्टाचार, कालोबजारी, तस्करी, बलात्कार हत्या अपराध जस्ता घटनाहरू दिनहुँ बढ्नुमा दलाल संसदीय व्यवस्था दोषी रहेको बताउनु भयाे । उहाँले सभामा भने ‘विभिन्न पार्टी भित्र रहेका देशभक्तहरू, सेना प्रहरी भित्रका पनि देशभक्तहरू सबै एकै ठाँउमा आउनु पर्छ, यो समयको आवश्यकता हो ।’

आस्थाले सबैको समस्या दलाल संसदीय व्यवस्था भएकाे बताउदै दलाल व्यवस्थाको विरुद्ध अब क्रान्तिले भीषण रूप लिनेछ र यसका विरुद्ध सम्पूर्ण राष्ट्रवादी, क्रान्तिकारी तथा बौद्धिक वर्गलाई वैज्ञानिक समाजवाद प्राप्तिकालागि एकीकृत जनक्रान्तिको माध्यमबाट नयाँ ढंगले ध्रुवीकृत तथा संगठित हुन आह्वान पनि गर्नुभएको थियो ।

सभामा पुर्वी ताम्सालिङ ब्युरो सदस्य सागर मैनाली, युवा संगठन संयोजक सोम तामाङ, जिल्ला जनसरकार प्रमुख विवेक लामा र स्थानीय तथा पुराना कम्युनिस्ट नेता ठाकुर थापाले आआफ्नो भनाइहरु राख्नु भएको थियो ।

२०७५ माघ २१ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :